१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रेफ्रीविरुद्ध सामूहिक ज्ञापनपत्र

पोखरा — ‘ए’ डिभिजन राष्ट्रिय लिग फुटसल सञ्चालन गर्ने रेफ्रीको गलत निर्णय र अपरिपक्वताको सिकार भएको भन्दै सहभागी १० वटै टोलीका प्रशिक्षकले एन्फासमक्ष ७ बुँदे ज्ञापनपत्र पेस गरेका छन् । शुक्रबार क्लबहरूको तर्फबाट ढुकु फुटसल हबका प्रशिक्षक राज महर्जनले एन्फाका फुटसल हेड विनोद गुरुङसमक्ष ज्ञापनपत्र बुझाए ।

रेफ्रीविरुद्ध सामूहिक ज्ञापनपत्र

राष्ट्रिय टोली छनोट गर्ने भनिएको यस प्रतियोगितामा रेफ्रीको गल्तीले टिम संरचनामा ठूलो असर परेको क्लबहरूको गुनासो छ । पहिलोपल्ट ‘ए’ डिभिजन फुटसल आयोजना हुनुको उत्साह र लगानीलाई रेफ्रीको कमजोर र पक्षपातपूर्ण निर्णयले निराशामा परिणत गरेको भन्दै क्लबले एन्फा अध्यक्षलाई सम्बोधन गरी ज्ञापनपत्र पेस गरेका छन् ।

क्लबहरूले पेस गरेको पत्रमा रेफ्रीको निर्णय क्षमता कमजोर भएको, घरेलु टिम र दर्शकको दबाब खेप्न नसकेको, खेलका क्रममा लिएको निर्णयबाट आफैं पूर्ण रूपमा विश्वस्त नरहेको, फुटबलकै केही नियमहरू फुटसलमा रहने र त्यसमा पनि सही निर्णय लिन नसकेको, रेफ्रीले आफ्नै निर्णयमा आफैले जवाफ दिन नसकेको, पक्षपातको भाव आउने असंगत निर्णयहरू गरेको आरोप लगाइएको छ ।

रेफ्रीको कमजोर निर्णयले क्लबहरू र समग्र प्रतियोगितामै नकारात्मक असर पर्न जाने भएकाले छिटोभन्दा छिटो कमजोरी सुधार गर्न एन्फासँग माग गरिएको छ । अन्यथा प्रतियोगिताबाटै बाहिरिन बाध्य हुने चेतावनी क्लबहरूले दिएका छन् । ज्ञापनपत्रमा प्रतियोगितामा सहभागी सबै टोलीका प्रशिक्षक तथा प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

एन्फालाई ज्ञापनपत्र बुझाएपछि ढुकु फुटसलका प्रशिक्षक तथा सञ्चालक महर्जनले छनोट प्रतियोगितामै रेफ्रीको क्षमतामा प्रश्न उठेकाले फाइनल चरणमा रेफ्रीको विकासमा ध्यान दिन एन्फा नेतृत्वको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको बताए । ‘छनोटमा रेफ्रीको गुनासो धेरै आएपछि हामीले फाइनल प्रतियोगिताअघि सबै टोलीका प्रशिक्षक र म्यानेजरसँग रेफ्रीको छलफल कार्यक्रम गरौं भनेका थियौं । त्यो पनि भएन,’ नेपाल राष्ट्रिय फुटसल व्यवसायी संघका अध्यक्ष रहेका महर्जनले भने ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले केही दिनअघि कान्तिपुरसँगको कुराकानीले यो प्रतियोगिताले रेफ्री उत्पादन गर्ने बताएका थिए । एन्फाले तीन महिनाअघि एसियाली फुटबल महासंघबाट प्रशिक्षक ल्याएर ३२ जनालाई रेफ्री प्रशिक्षण दिएको थियो । तीमध्ये उत्कृष्ट १२ जनालाई तीनदिने रिफ्रेसमेन्ट कोर्स गराएर एन्फाले ‘ए’ डिभिजन फुटसलका लागि पोखरा पठाएको हो । लिगमा तीन चरणको खेल सकिँदासम्म सबै क्लबहरू रेफ्रीको निर्णयबाट रुष्ट हुनुले एन्फा दबाबमा परेको छ । ज्ञापनपत्र बुझ्दै एन्फा फुटसल प्रमुख गुरुङले क्लबहरूको मागबारे एन्फा नेतृत्वसँग छलफल गरेर उचित सुझावहरू कार्यान्वयन गरिने प्रतिबद्धता जनाए ।

प्रकाशित : आश्विन ९, २०७८ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?