अफ्रिदीले १० नम्बरै लगाउने

काठमाडौँ — पाकिस्तानी भेट्रान स्टार शाहिद अफ्रिदीले आफ्नो परम्परालाई निरन्तरता दिँदै शनिबार सुरु हुने बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा १० नम्बर जर्सी नै लगाउने भएका छन् ।

अफ्रिदीले १० नम्बरै लगाउने

अफ्रिदीले पाकिस्तानबाट खेल्दा प्रायः १० नम्बर जर्सी नै लगाउने गरेका थिए । ईपीएलमा पनि त्यसलाई निरन्तरता दिने भएका छन् ।

विस्फोटक ब्याटिङ र बलिङका लागि प्रख्यात अफ्रिदीले ईपीएलमा दुई खेलमात्र खेल्नेछन् । पहिलो खेलमा उनको टोली काठमाडौं किंग्स इलेभेनले शनिबार साविक विजेता ललितपुर प्याट्रियट्सविरुद्ध खेल्दै छ । त्यसपछि सोमबार अफ्रिदी विराटनगर वारियर्सविरुद्ध उत्रनेछन् ।


तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

‘इमान्दार भएर भन्दा अन्तिम दुई दिन मैले नेपालमा आएर निकै रमाइलो अनुभूति गरिरहेको छु । मैले दुई खेलमात्र खेल्ने छु, यही क्रममा नेपाल र पाकिस्तानको सम्बन्ध अझ दरिलो बनाउने प्रयास गर्नेछु,’ काठमाडौं किंग्सको टिम सार्वजनिक कार्यक्रममा उनले दुई खेलमात्र खेल्नुको कारणबारे भने, ‘म निकै व्यस्त छु, ५ दिनअघिमात्र अमेरिकामा थिएँ । अर्को सिजन पूरा खेल्ने आशा लिएको छु ।’ उनले काठमाडौं किंग्सका कप्तान सन्दीप लामिछानेलाई बाँकी खेलहरूका लागि शुभकामना पनि दिए । अफ्रिदीले जस्तै सन्दीपले पनि आफ्नो २५ नम्बर जर्सीलाई यथावत् दिनेछन् । काठमाडौं किंग्सका अन्य खेलाडीमा सुवास खकुरेल, अमित श्रेष्ठ, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, सम्साद शेख, दीपेन्द्र राउत, जितेन्द्र मुखिया, आकाश चन्द, अमरसिंह राउटेला र गुलशन झा छन् ।


अफ्रिदीबाहेक टोलीका अन्य विदेशी खेलाडीमा जिम्बावेका रायन ब्रुल, अफगानिस्तानका रहमनुल्लाह गुर्बाज र सिंगापुरका जन प्रकाश छन् । टोली प्रशिक्षकमा कलाम अली र सहायक प्रशिक्षकमा विजय धिताल छन् ।


काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको टोलीलाई जितको शुभकामना दिए । रमेशक्रपको सहायक कम्पनी टेली होल्डिङ्सको पूर्ण स्मामित्वमा रहेको छ काठमाडौं किंग्स । टेली होल्डिङ्सका निर्देशक रोहित गुप्ता र काठमाडौं किंग्सका सहमालिक सञ्जय अग्रवालले टोलीबाट नतिजाको हिसाबमा ठूलो अपेक्षा राखिएको जनाए ।

प्रकाशित : आश्विन ९, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?