२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

‘ए’ डिभिजन राष्ट्रिय लिग फुटसल : शंखमूल तेस्रो स्थानमा

पोखरा — शीर्षस्थानको राइजिङ युथ क्लब धरानलाई ५–२ गोलले पराजित गरी काठमाडौंको शंखमूल फुटसल क्लब ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको तेस्रो स्थानमा उक्लिएको छ । खेलाडीको चोटले प्रताडित राइजिङले चौथो खेलमा पहिलो हार बेहोरेको हो । 

‘ए’ डिभिजन राष्ट्रिय लिग फुटसल : शंखमूल तेस्रो स्थानमा

धरानका स्थानीय खेलाडीहरू समेटेर तयार पारिएको राइजिङले सुरुआती तीनै खेल जितेर सनसनी कायम गरेको थियो । मुख्य खेलाडीहरू घाइते हुनु र अर्का एक खेलाडीले दोहोरो पहेँलो कार्डका कारण खेल गुमाउँदा शंखमूलले हाबी हुने अवसर पायो ।

एकपक्षीय खेलमा शंखमूलका कृजल खड्काले २ गोल गरे । उनैले ११ औं मिनेटमा गोल गरी पहिलो हाफमा १–० को अग्रता बनायो । शंखमूलका अरुज सिंह, मणि लामा र सुसान श्रेष्ठले १–१ गोल गरे ।

जितपछि शंखमूलका प्रशिक्षक प्रकाश परियारले महत्त्वपूर्ण जितले बाँकी खेलका लागि उत्साह थपेको बताए । ‘हाम्रो टिममा सन्तुलन मिल्दैछ । नयाँ फिल्डमा बानी पर्दै गएको छ । पास एक्युरेसी पनि राम्रो भइरहेको छ । समग्रमा भन्नुपर्दा खेलाडीहरू लयमा आउन थालेका छन्,’ प्रशिक्षक परियारले भने, ‘शीर्षस्थानमा रहेको टिममाथिको जितले हामीलाई आगामी खेलहरूमा मनोबल बढ्ने छ । यो जित हाम्रो टिमलाई महत्त्वपूर्ण थियो ।’

राइजिङका प्रशिक्षक युवेन्द्र गुरुङ चाहिँ रेफ्रीप्रति निकै नै आक्रोशित थिए । रेफ्रीले अर्को खेलमा प्रतिबन्ध लगाउन जानाजान पहेँलो कार्ड दिएको उनको आरोप थियो । आफूहरूले लगातार खेल जित्दै जान थालेपछि सबैको नजर पर्न थालेको उनले बताए ।

‘हामीलाई इन्ज्युरीको समस्या त छँदै छ । हाम्रा खेलाडीलाई छानीछानी पहेँलो कार्ड दिइएको छ । यस्तो गर्नुभन्दा बरू सिधै तिमीहरू घर जाऔ भने हुन्छ हामी खुरुखुरु जान तयार छौं,’ प्रशिक्षक गुरुङले कान्तिपुरसँग भने, ‘हामीले शीर्षस्तरको प्रदर्शन दिइरहेका थियौं । सबैको तारो बनेको जस्तो महसुस हुँदै छ । योभन्दा अगाडिको खेलमा गोलरक्षक घाइते भएकै थिए, अर्को मुख्य खेलाडीलाई पहेँलो कार्ड दिएर खेल्न नपाउने बनाइयो । यो खेलमा पनि हाम्रो एकजना फिक्सोलाई सामान्य ह्यान्डमा कार्ड देखाएर अर्को खेल खेल्न नपाउने बनाइयो । यो हामीलाई नियोजित हो कि भन्ने शंका लागेको छ ।’

सविनको तेस्रो जित

दिनको दोस्रो खेलमा घरेलु टोली सविन मेमोरियलले प्रतियोगिताको सबैभन्दा कमजोर टोली रूपन्देहीको झरना स्पोर्टसलाई ७–१ ले पराजित गर्‍यो । यो जितले सविनलाई अंकतालिकाको दोस्रो स्थानमा पुर्‍याएको छ । चार खेलबाट ९ अंक जोडेको सविनले एउटा खेलमा हार बेहोरेको थियो ।

पोखरा रंगशालास्थित कभर्डहलमा घरेलु समर्थकको साथ पाएको सविन मेमोरियलका लागि यो खेल कठिन रहेन । त्यसैले प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीहरूलाई आराम दिएर खेलाइरहेका थिए । ‘यो खेल सहज भएकाले अर्को खेलमा जोगाउन केही खेलाडीलाई आराम दिएको हुँ । फ्याट्ट कार्ड पाइहाल्यो भने त अर्को खेलमा बित्याँस पर्छ नि,’ जितपछि निकै खुसी देखिएका प्रशिक्षक तामाङले भने ।


सविन मेमोरियलका अविनाश तामाङले चार मिनेटभित्र ह्याट्रिक पूरा गरेपछि पहिलो हाफमै टोलीले ३–१ को अग्रता बनाएको थियो । उनले चौथो, छैटौं र आठौं मिनेटमा गोल गरेका थिए । झरनाका जितेश गुरुङले छैटौं मिनेटमा एक गोल फर्काए । दोस्रो हाफ भने एकपक्षीय रहृयो । सविन मेमोरियलले चार गोल थप्दा मनीष सेढाईंले २ गोल गरे भने मनोज गुरुङ र सुनील बिकले १–१ गोल गरे ।

‘खेल सोचेजस्तै भयो । उनीहरूको कमजोर पक्ष धेरै थियो । अनुभव पनि हामीभन्दा कम थियो । हामीले त्यसको फाइदा लियौं,’ प्रशिक्षक तामाङले भने, ‘हामीले विपक्षीलाई कमजोर लिएर खेलेका त थिएनौं । हामीले स्वाभाविक खेल खेलेका हौं ।’

लगातार चौथो खेल हारेको झरनाका प्रशिक्षक निर्मल थापा आफ्नो टिमको नतिजाबाट निराश थिए । तर उनले खेलाडीहरूलाई दोष दिएनन् । ‘हामी दबाबमै छौं । खेलाडीहरूले राम्रो खेल्न सकेनन् । स्टामिना पनि कमजोर हुँदै गयो । खेलाडीबीच पनि तालमेल मिलेन । गोलरक्षकसहित तीन खेलाडी चोटग्रस्त छन्,’ निराश मुद्रामा प्रशिक्षक थापाले सुनाए, ‘हामीलाई गाह्रै छ ।’

ढुकुको अर्को निराशा

दिनको तेस्रो खेलमा ढुकु फुटसल हब टिम प्रभातफेरी स्पोर्टस क्लबसँग ४–४ गोलको बराबरीमा रोकियो । पहिलो हाफमा ढुकुले २–१ को अग्रता बनाएको थियो । उपाधि दाबेदार टोली मानिएको ढुकुले लिगमा लगातार खराब प्रदर्शन गरिरहेको छ । टोलीले चार खेलमा १ जित, २ हार र १ बराबरी नतिजा निकालेको छ ।

ढुकुका लागि विक्रान्त नरसिंह राणाले २, अभय राणा र ंसुमन तामाङले १–१ गोल गरे । प्रभातफेरीका लागि धिरज जोही, सृजेश पुरी, सन्तलाल गुरुङ र धिरज श्रेष्ठले १–१ गोल गरे । यो खेलमा पनि रेफ्रीको निर्णय विवादरहित हुन सकेन ।

३७ औं मिनेटमा ढुकुका विक्रान्तको प्रहार पोलमा लागेर फर्किंदा सुमनको हातमा लागेको थियो । उनले त्यही बल गोलमा परिणत गरेका हुन् । भिडियो फुटेजमा पनि उनले ह्यान्ड गरेको देखिन्छ । तर नजिकै रहेका मुख्य रेफ्री राजकुमार श्रेष्ठले देखेनन् ।

ढुकुका प्रशिक्षक राज महर्जनले आफ्नो टोलीको प्रदर्शनबाट निराशा व्यक्त गरे । ‘मेरा खेलाडीले खेल्नै सकेनन् । अरू टिमलाई थाहा भएन हामीलाई चाहिँ यो म्याटमा धेरै गाह्रो भयो । खेलाडीको चोट समस्या पनि धेरै भयो,’ महर्जनले भने, ‘२ खेल हारेको भएर हामीलाई यो खेल जित्नैपर्ने थियो । विपक्षी टोलीले हामीभन्दा धेरै राम्रो खेल्यो । एक अंक भने पनि ल्याउन सक्यौं । चित्त बुझाएका छौं ।’

प्रभातफेरीका प्रशिक्षक सरोज थापाले रेफ्रीकै कारण खेल गुमाउनुपरेको गुनासो गरे । ‘मैले पहिलेदेखि नै भन्दै आएको थिएँ । हामीले यो जितिसकेको खेल हो, रेफ्रीको निर्णयका कारण बराबरीमा रोकिनुपर्‍यो,’ प्रशिक्षक थापाले भने, ‘हामीले सधैं एकैखाले खेल खेल्छौं । तर आजको खेलमा अंक पनि हासिल गर्न सक्यौं । जितेको खेल हो खासमा । रेफ्रीप्रति हाम्रो सधैं नै गुनासो हो ।’

प्रकाशित : आश्विन ८, २०७८ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?