पूरै नेपाल घुम्ने इच्छा छ : अफ्रिदी

काठमाडौं किंग्स इलेभेनबाट एभरेस्ट प्रिमियर लिग खेल्ने
हिमेश

काठमाडौँ — नेपाली खेलकुद इतिहासमै अबको शनिबार विशेष हुनेछ, किनभने यही दिन सुरु हुने क्रिकेटको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा अन्तर्राष्ट्रिय एक नामुद खेलाडी उत्रनेछन् । खेलकुदको घरेलु प्रतियोगितामा यत्तिको विश्वस्तरीय र अब्बल दर्जाका खेलाडीले नेपालमा यसअघि कहिल्यै खेलेका थिएनन् ।

पूरै नेपाल घुम्ने इच्छा छ : अफ्रिदी

नेपाली खेलकुदको यो इतिहाससँग जोडिन लागेका खेलाडी हुन्, पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी । आधुनिक क्रिकेटले पछिल्ला केही दशक कसरी परिवर्तन भएको छ, त्यसको बेजोड उदाहरण हुन् उनी ।

त्यतिमात्र होइन, विश्व क्रिकेटमै सर्वकालीन र सर्वाधिक लोकप्रिय खेलाडीमा पर्छन् अफ्रिदी । यसका खास कारण छन् । जस्तो, उनी त्यस्ता अलराउन्डर हुन्, जसको लेग स्पिन आक्रमणसामु धेरैको पसिना छुट्ने गर्छ । जतिबेला उनी ब्याटिङका लागि ओर्लिने गर्छन्, विपक्षी बलरको विश्वास डग्मगाउने गर्छ । यति धेरै आक्रामक हुने गर्छन् उनी ।

उनी त्यस्ता ब्याट्सम्यान हुन्, जसले एक समय ३७ बलमा एकदिवसीय शतक पूरा गरेका थिए । एकदिवसीय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान पनि हुन् । एकदिवसीय क्रिकेटका विशेषज्ञ बलरमा पनि उनी पर्छन् । उनको नाममा ३ सय ९५ विकेट छ । यिनै अफ्रिदी बिहीबार काठमाडौं आइपुगे । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा उनी काठमाडौं किंग्स इलेभेनबाट खेल्नेछन्, ललितपुर प्याट्रियट्सविरुद्ध । के त्यो खेलमा उनका तिनै विशेषताले भरिएको खेलशैलीको झल्को पाइने छ त ? स्वयं उनी पनि उक्त खेलका लागि उत्साही छन् ।

‘सबैभन्दा पहिले म नेपाल आउन पाएकोमा निकै खुसी छु । लामो समयदेखि मैले योजना बुनिरहेको थिएँ, नेपाल जाने । यसको कारण हो, नेपाल निकै सुन्दर छ । नेपाली निकै भलाद्मी छन् । मैले नेपाल आएर निकै मीठो स्वागत र आतिथ्यता पाएको छु’ बिहीबार साँझ सोल्टी होटलमा अति व्यस्तताबीच कान्तिपुरका लागि समय निकाल्दै उनले भने, ‘आगामी कुनै पनि समय परिवारसँगै नेपाल आउने छु । पूरा नेपाल घुम्ने इच्छा छ । यहाँको चारै मौसम निकै मनोरम छ ।’

सन् २००९ को ट्वान्टी–२० विश्वकप पाकिस्तानले जितेको थियो । त्यसका एक प्रमुख खेलाडी अफ्रिदी नै थिए । फाइनलमा पाकिस्तानले श्रीलंकालाई लर्ड्समा पराजित गरेको थियो । त्यसमा म्यान अफ द म्याच उनी नै थिए । सन् २०११ को एकदिवसीय विश्वकप क्रिकेटमा उनले नै पाकिस्तानको नेतृत्व गरेका थिए । टिमले सेमिफाइनलसम्म पुगेको थियो । उनको भित्री मनको इच्छा हो– नेपाली क्रिकेटले पनि धेरैभन्दा धेरै विकास गरोस् ।

नेपाली क्रिकेटका लागि उनको सुझाव छ, ‘क्रिकेट विकासका लागि सरकारी सहयोग जरुरी छ । किनभने त्यसले मात्र यो खेलको विकास र विस्तार सम्भव हुन्छ । देशमा खेलको विकासबाट नै नयाँ र युवा खेलाडीले यसमा भविष्य देख्नेछन् ।’ उनले पाकिस्तानका लागि २७ टेस्ट खेलेका छन् । तर उनको नाम स्थापित भएको एकदिवसीय क्रिकेटमै हो । पछि ट्वान्टी–२० क्रिकेटमा पनि उनी उत्तिकै उपयोगी खेलाडी साबित भए । उनी पाकिस्तानका सफलतम खेलाडीमा पर्छन् । ्

अफ्रिदीले पाकिस्तानका लागि ३ सय ९८ एकदिवसीय खेलेका छन् । यसमा उनको रनआँकडा ८ हजार ६४ छ । ६ शतक र ३९ अर्धशतक बनाएका छन् । यिनै एकदिवसीयमा उनले ३ सय ९५ विकेट लिएका हुन्, जुन आफैंमा उत्कृष्ट प्रदर्शनको मापन हो । उनले ट्वान्टी–२० मा ठ्याक्कै ९९ खेल खेले । यसमा उनले १ हजार ४ सय १६ रन बनाएका छन् । यसमा उनले लिएको विकेट संख्या ९८ रहेको छ । यी सबै तथ्यांकले देखाउँछ, उनी वास्तवमै कति उम्दा खेलाडी हुन् ।

पछिल्लो समय उनी आफ्नै नाममा स्थापित फाउन्डेसनमा व्यस्त छन् । उनी चाहन्छन्, सबैलाई सहयोग गर्न सकियोस् । उनी विशेषतः पाकिस्तानको स्वास्थ्य क्षेत्रलाई सुधार गर्न चाहन्छन् । पछिल्लो एकाध वर्ष उनका लागि व्यस्त रहने अझ ठोस कारण प्राप्त भएको थियो । पूरा विश्वलाई कोभिड–१९ भाइरस संक्रमणको महामारीले छोपिरहँदा उनी पाकिस्तानमा यसको रोकथाम र उपचारमा सक्रिय रहे । उनी यी सबै कामलाई आफ्नो खेलजीवनको दोस्रो इनिङ्स मान्छन् ।

अफ्रिदीले भने, ‘मेरो लागि यो फाउन्डेनस वास्तवमै दोस्रो इनिङ्स हो । पहिलो इनिङ्समा त म आउने हुने गर्थे, तर यो दोस्रो इनिङ्समा आउट हुनेछैन । यसको कारण हो, धेरैभन्दा धेरैको मलाई समर्थन र सहयोग प्राप्त छ । म पाकिस्तानको त्यस्तो क्षेत्रसम्म पुग्न चाहन्छु, जहाँ गैरसरकारी संस्था पनि पुग्ने गर्दैनन् । त्यसैले मेरो जीवनका लागि यो निकै महत्त्वपूर्ण छ ।’

आफ्नो खेलजीवनबाट अफ्रिदीले धेरै नाम कमाए, सँगै दाम पनि । उनी मान्छन्, ‘जतिबेला कोही कसैले यति धेरै माया र इज्जत प्रदान गर्छ, यस्तोमा एक समय त्यस्तो पनि आउने गर्छ, जतिबेला त्यसको जवाफमा केही गर्नुपर्छ । म अहिले त्यही गरिरहेको छु । म तिनीहरू सबैका लागि केही न केही गर्न चाहन्छु, जसले मलाई माया र समर्थन गरेका छन् ।’ यति भनिरहँदा उनको मुहारमा खुसी झल्किरहेको थियो । अब पालो तिनै अफ्रिदीले क्रिकेट खेलेको हेर्ने– त्यो पनि नेपाली क्रिकेट मैदानमा ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

प्रकाशित : आश्विन ८, २०७८ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?