अझै छ यिनमा जोस

आखिरमा प्रशिक्षक कुमार कटुवालले नेपाली महिला फुटबलको एउटा पुस्ता हुर्काएका छन्
हिमेश

काठमाडौँ — नेपाली फुटबलका लागि श्याम थापा त्यस्ता नाम हुन्, जोसँग जोडिँदा धेरैलाई खुसी अनि गर्व लाग्छ । अझ सँगै खेलेको थियो भने त कुरै बेग्लै । यस्तै एक भाग्यमानी पुराना खेलाडी हुन्, कुमार कटुवाल । २०४० सालको बर्थडे कप । यसलाई खास किन सम्झनुपर्छ भने यसको विजेता थियो ब्वाइज युनियन । त्यतिबेला भारतीय फुटबलमा तहल्का मच्चाइरहेका थापा काठमाडौं झर्दा ब्वाइज युनियनबाट खेल्थे । 

अझै छ यिनमा जोस

ब्वाइज युनियनले सेमिफाइनलमा थ्रीस्टार क्लबलाई ४–२ ले हराएको थियो । त्यसमा ह्याट्रिक गरेका थिए यिनै कटुवालले । खेलको १० औं मिनेटमा पहिलो गोल भएको थियो । उनले गरेको त्यो गोलमा पास मिलाएका थिए थापाले । ती दिन सम्झना ५८ वर्षीय कटुवालको अनुहारभरि खुसी देख्न पाइन्छ । नहोस् पनि किन र ? त्यो बर्थडे कप, श्याम थापा अनि उपाधि । यो त्रिकोणात्मक मेलका एक खास पात्र थिए कटुवाल ।

त्यसको दुई वर्षअगाडि भर्खरका खेलाडी थाइल्यान्डमा भएको प्रिन्सेस कप खेल्न बैंकक पुगेका थिए । त्यसका कप्तान थिए मणि शाह । त्यो टिममा प्रमुख खेलाडीहरू पछि नेपाली फुटबलकै कहलिएका नाम भए । यहाँनिर कटुवाल भने भाग्यमानी रहेनन् । यी फरवार्डको भूमिकामा खेल्ने खेलाडीको खेलजीवन भने धेरै लामो रहेन । न त धेरै सफल । उनका अधिकांश साथीले राष्ट्रिय टोलीबाट खेले । तर, उनले खेल्न पाएनन् ।

सायद एक मौका भए नि पाउनुपर्थ्यो ? उनलाई नजिकबाट चिनेकाहरू भन्छन्, कटुवाल सोझा छन् । भाग्यले उनलाई धेरै मोडमा साथ दिएको छैन । तर, उनको कुनै गुनासो छैन । भन्छन्, ‘अहिले जे जस्तो छु, फुटबलकै कारणले छु ।’ खेलाडी जीवन सकिएपछि उनी प्रशिक्षक बने । अहिले उनको चर्चा किनभन्दा महिला फुटबलले नेपाली खेल माहौल तातिरहेको छ । उनको प्रसंग उल्लेख गर्न आवश्यक छ नै ।

नेपालले बंगलादेशविरुद्ध हालै दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्दा उनी दशरथ रंगशालासम्म भने पुगेनन् । किनभने उनले निम्तो पाएनन् । बागडोलको हालै बनाउन सकिएको घरमै हेरे र रमे । नेपालले उज्वेकिस्तानमा खेलिरहँदा पनि उनले के कस्तो भइरहेको छ भने छिनछिनमा खोजीनीति गरिरहे । ठ्याक्कै भन्दा अरू सबै एक ठाउँमा हुँदा नेपाली महिला फुटबल भनेपछि उनी एक ठाउँमा हुन्छन् । आखिरमा उनले नेपाली महिला फुटबलको एक पुस्ता हुर्काएका छन् ।

यसका लागि उनले एक दशकजति समय महिला फुटबललाई दिएका छन् । नेपाली फुटबलको चौथो पुस्ता उनकै प्रशिक्षणमा हुर्किएको थियो भन्दा हुन्छ । यसमध्ये अधिकांश खेलाडी अझै पनि सक्रिय छन् । राष्ट्रिय टिमकै लागि खेलिरहेका छन् । यत्तिकै उल्लेखनीय एउटा अर्को पक्ष छ, जसका लागि नेपाली महिला फुटबलले सधैं गर्व गर्नसक्छ । यससँग जोडिने अरू कोही होइनन्, यिनै कटुवाल हुन् । कुरा सन् २०१४ को हो ।

श्रीलंकाले त्यतिबेला यू–१४ रिजनल फुटबलको आयोजना गरेको थियो । सहभागी टिम एकसेएक थिए । तर, विजेता रह्यो नेपाल । कटुवालको नेतृत्वमा रहेको टिमले उपाधि मात्र जितेन । सबै खेलमा जित निकाल्यो । यो टिमले सबै खेलमा जितमात्र पनि निकालेको थिएन, विपक्षी टिमबाट एक गोल खाएन । त्यतिमात्र कहाँ हो र ? नेपालले ५ खेलमा २० गोल गरेको थियो । अझ सबैभन्दा मिठो जित त भारतविरुद्ध थियो, ४–० को ।

नेपालले त्यस प्रतियोगितामा भुटानलाई ९–०, श्रीलंकालाई १–०, इरानलाई २–० र ताजकिस्तानलाई ४–० ले हराएको थियो । ती दिन सम्झेर उनी भन्छन्, ‘नेपाली महिला फुटबलले यस्तो फुटबल न अगाडि खेलेको थियो न त पछाडि खेल्नेछ ।’ हुन पनि खेलका नतिजाले आफै बोल्छ । प्रतियोगितामा बरू श्रीलंकालाई हराउन गाह्रो भएको थियो, भारतलाई मज्जाले पराजित गरेको थियो । भारतलाई कुनै पनि आधिकारिक प्रतियोगितामा हराएको यो नै पहिलोपल्ट हो ।

सन् १९८६ देखि १९९९ नेपाली फुटबलको सुरुआती दिन थियो । यसबीच दुई पुस्ताका खेलाडी हुर्के, बढे र हराए । त्यसपछि नेपाली महिला फुटबल एक दशक जति शून्यकै स्थितिमा रह्यो । तेस्रो पुस्ताका खेलाडी उत्पादन गर्ने काम अर्का प्रशिक्षक ध्रुव केसीले गरे । कटुवाल त्यही बेलादेखि केसीका सहायक थिए । सन् २०१३ मा नेपाल कुवेतमा अन्तर्राष्ट्रियपूर्ण खेल खेल्न निस्केको थियो । त्यही बेला हो उनी पहिलोपल्ट महिला टिमको प्रमुख प्रशिक्षक भएको ।

लगत्तै सन् २०१४ मा नेपालले पाकिस्तानको इस्लामाबादमा भएको वुमेन्स साफ च्याम्पियनसिप खेल्यो । प्रशिक्षक उनी नै थिए । पहिलो खेल थियो भुटानविरुद्ध । सजिलो ८–० को जित निस्किहाल्यो । यो खेल किन विशेष छ भन्दा यसमै हो सावित्रा भण्डारीले पहिलोपल्ट खेल्ने मौका पाएको । उनले गोल पनि गरिन् । यस्तोमा कटुवाल ‘साम्बा’ लाई डेब्युको अवसर दिने प्रशिक्षक हुन् । उनी मान्छन्, ‘साम्बा त दक्षिण एसियाको मात्र होइन, एसियाकै एक राम्रा खेलाडी हुन् ।’

कटुवालका लागि सावित्रा विशेष लाग्छ । त्यसैले सावित्राले के कस्तो गर्दैछिन्, त्यसबारे सोधखोज गरिरहन्छन् । प्रार्थना गर्न गर्छन्, साम्बा चाँडै चोटमुक्त होऊन् र फेरि पुरानै खेलाडी जस्तो बनुन । उनका लागि इस्लामाबादको बसाइ धेरै सुखद भने रहेन । नेपाल फाइनलमा भारतको हातबाट ६–० ले पराजित रह्यो । यो प्रशिक्षक कटुवालका लागि निकै स्तब्धपूर्ण नतिजा थियो । अहिलेसम्म विश्वास नलाग्ने । यो हार कति धेरै नमीठो रह्यो भने त्यो खेलको रात उनी बिरामी नै परे ।

काठमाडौं फर्केयता पनि उनी लामै समय बिरामी परे । यो एक हारकै कारण थियो । अहिले पनि उनी त्यो खेल सम्झँदा आफूलाई गाह्रो परेको अनुभव सुनाउँछन् । उनी भन्छन्, ‘यो हारले मलाई अझै पिरोल्ने गरेको छ ।’ तर एउटा के तथ्यमा निश्चित छन् भने नेपालले महिला फुटबलमा राम्रो लगानी गर्ने हो र लामै योजना बनाउने हो भने सम्भावना धेरै छन् । उनी यस्तै मान्छन् । नेपाल एसियाली स्तरसम्म पुग्नसक्छ । उनमा अझै जोस छ । सेलाएका छैनन् प्रशिक्षक कुटवाल । भन्छन्, ‘अझै धेरै गर्न सक्छु । इच्छा पनि छ ।’

प्रकाशित : आश्विन ७, २०७८ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?