कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : राइजिङ शीर्षमा, शंखमूलको जित

लगातार तेस्रो हार बेहोरेपछि झरनाका प्रशिक्षक निर्मल थापा टिमको प्रदर्शनबाट सन्तुष्ट छैनन् 

पोखरा — धरानको राइजिङ युथ क्लबले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा आफ्नो जितयात्रा तेस्रो खेलसम्म कायम राखेको छ । बुधबार राइजिङले झरना स्पोर्टस रूपन्देहीलाई ५–३ गोलले हरायो । प्रभातफेरीलाई ७–४ ले हराएर शंखमूलले पहिलो जित दर्ता गरेको छ । 

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : राइजिङ शीर्षमा, शंखमूलको जित

पोखरा रंगशालास्थित कभर्डहलमा झरनालाई हराउन राइजिङले धेरै संघर्ष गर्नुपरेन । यसअघि दुवै खेलमा जितेर उत्साही राइजिङको सन्तुलित खेलले सबै मोहित भएका छन् । जित पाएर पनि राइजिङका प्रशिक्षक युवेन्द्र गुरुङ चिन्तित देखिए । त्यसको कारण हो, खेलाडीको चोट । दुई खेलमा कोही खेलाडीलाई चोट थिएन । तेस्रो खेलमा गोलरक्षक तथा कप्तान सचिन श्रेष्ठलाई घुँडामा चोट लाग्यो । उनको चोटको स्थितिबारे परीक्षणको थप रिपोर्ट आएपछि थाहा लाग्नेछ ।

‘सचिन मेरो टिमको नेता थियो । उसले नै फिल्डभित्र सबैलाई नियन्त्रण र परिचालन गर्थ्यो । अब ऊ नै नहुँदा बाँकी खेलमा हामीलाई धेरै गाह्रो पर्नेछ,’ प्रशिक्षक गुरुङले भने, ‘उसले खेल्न नसकेपछि हामीलाई दबाब सुरु भइसकेको थियो । खेलमा जित निस्किए पनि बाँकी खेल धेरै नै कठिन हुनेछन् ।’

उनले म्याटको अनुभव नहुनाले खेलाडीहरू चोटग्रस्त भएको सुनाए । तेस्रो चरणका खेलमा चोटग्रस्त हुने खेलाडी राइजिङका मात्र छैनन् । मंगलबारमात्र लुम्बिनी फुटसलका कप्तान अञ्जन थापालाई गोलीगाँठामा चोट लागेको थियो । प्रायः सबै क्लबले म्याटमा बानी नभएकै कारण चोटको सिकार हुनुपरेको गुनासो गरिरहेका छन् ।

‘लगातारको जितले टिममा सकारात्मक उर्जा सञ्चार भएको छ । तर मुख्य खेलाडीलाई चोट लागेपछि सबै निरास छन् । यो फिल्डमा खेल्न गाह्रो त छँदै छ । चोटको सम्भावना पनि ज्यादा हुँदोरहेछ । खेलाडीहरू आफैं संयमित हुनुपर्छ,’ गुरुङले कान्तिपुरसँग भने ।

लगातार तेस्रो हार बेहोरेपछि झरनाका प्रशिक्षक निर्मल थापा टिमको प्रदर्शनबाट सन्तुष्ट छैनन् । उनले आफ्ना खेलाडीले फुटसलको पोजिसन बुझ्न नसकेको बताए । ‘हाम्रो खेल कमजोर थियो । गोलरक्षकले राम्रो प्रदर्शन गर्न सकेनन्,’ उनले थपे, ‘हाम्रा खेलाडी फुटबलबाट आएकाले त्यही शैलीमा खेल्दा गाह्रो भएको हो । खेलाडीहरूले अझैसम्म पनि फुटसलको पोजिसन बुझिरहेका छैनन् ।’

राइजिङका मिलन राईले दुई गोल गरे । मिलन लिम्बु, रेवस मास्के र बिकु तामाङले १–१ गोल गरे । झरनाका कप्तान ओमप्रकाश थापा, मोहनबहादुर थापामगर र विवेक थापाले १–१ गोल गरेका थिए । सुरुका दुई खेल बराबरी खेलेर निकै दबाबमा देखिएको उपाधि दाबेदार शंखमूल फुटसलले पहिलो जित निकाल्दा खेलाडी र प्रशिक्षक दुवै दबाबमुक्त हुने अवसर बन्यो । प्रशिक्षक प्रकाश परियारको भनाइअनुसार आफूहरू सधैं दबाबमा रहिरहने छ । किनभने नामअनुसार आफ्नो टिमले प्रदर्शन गर्न सकिरहेको छैन ।


पहिलो जित पाएपछि शंखमूल फुटसलका खेलाडी (तल) । तस्बिर : केशव थापा/कान्तिपुर

‘शंखमूललाई उपाधि दाबेदार भनिएको छ तर त्यसअनुसार प्रदर्शन गर्न सकिराखेका छैनौं,’ राष्ट्रिय फुटसलको दुई संस्करण च्याम्पियन शंखमूल टोलीका प्रशिक्षक परियारले भने, ‘यहाँ धेरै नियम र यो परिस्थितिले हामीलाई धेरै कुरामा बाँधेको छ । कार्डका कुरा, आराम नपाएका कुरा, नयाँ फिल्ड, नयाँ रेफ्री, सबै कुराहरूले हामी

आफ्नो वास्तविक लयमा आउन सकेका छैनौं । बाँकी खेलमा पनि म केही भन्न सक्दिनँ । हामीले धेरै ठूलो कुरा गरेर हुँदैन, वास्तविकता र अपेक्षामा धेरै अन्तर छ ।’ उनले लगातार खेलबाट आरामको समय नपुगेका कारण सन्तुलित प्लेइङ सेट निर्माणमा कठिनाइ भइरहेको बताए । ‘हाम्रा आज निकै नै दबाबपूर्ण खेल थियो । लगातार बराबरी भइरहेको थियो र जित निकाल्नु टिमको सन्तुलनलाई अत्यावश्यक भइसकेको थियो,’ उनले कान्तिपुरसँग भने, ‘लगातार खेल खेलिरहँदा ‘रिकभरी टाइम’ पुगेको छैन । खेलाडीले कार्ड पाइरहेका छन् । त्यसैले रणनीतिक रूपमा प्लेइङ सेट तयार गर्न कठिन भइरहेको छ । चोटको समस्या धेरै नै छ ।’

प्रभातफेरीका प्रशिक्षक सरोज थापाले भने रेफ्रीको निर्णयप्रति प्रश्न उठाए । यो प्रतियोगितामा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउने उनी एक्ला प्रशिक्षक भने होइनन् । प्रतिस्पर्धात्मक बराबरीको अवस्थामा रेफ्रीले गलत निर्णय दिँदा खेलको नतिजामा असर परेको उनको गुनासो छ ।

‘यो खेलमा भाग्य पनि हाम्रो पक्षमा रहेन । रेफ्रीले सही निर्णय दिएनन् । खेलाडीले शतप्रतिशत प्रदर्शन गरेका थिए । रेफ्रीले आउट र कर्नरमा धेरै खराब निर्णय दिइरहेका छन् । हामी उनीहरूविरुद्ध उजुरी पनि गर्दैछौं,’ उनले थपे, ‘हामी हरेक खेलमा जित्ने प्रयास गर्नेछौं । हामीलाई अझै विश्वास छ कि रेलिगेसनबाट जोगिन्छौं ।’

शंखमूलको जितमा जेनिश प्रजापतीले ह्याट्रिक पूरा गरे । मणि लामाले २ गोल गर्दा सुशान श्रेष्ठ र कप्तानसमेत रहेका गोलरक्षक अनिश श्रेष्ठले समेत गोल गरे । खेलको १६ औं मिनेटमा आफ्नो पोस्टबाट अनिशले क्लियर गरेको बल सोझै प्रभातफेरीको पोस्टभित्र छिर्दा गोलरक्षक आशिष दंगालले मेसो पाएनन् ।

प्रकाशित : आश्विन ७, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?