२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : रेफ्रीप्रति चर्को गुनासो

पोखरा — पोखरामा जारी ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग नेपाली फुटसल इतिहासमा धेरै पक्षहरूका लागि कोसेढुंगा बनिरहेको छ । खेलाडी, प्रशिक्षक, टिम र आयोजकमात्र होइन, रेफ्रीका लागि पनि यो प्रतियोगिता एक हिसाबले परीक्षण नै हो । 

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : रेफ्रीप्रति चर्को गुनासो

देशको सबैभन्दा ठूलो यो फुटसल लिगले भविष्यमा राष्ट्रिय टोली छनोट गर्ने भनिएको छ । महत्त्वपूर्ण खेलमा रेफ्रीको निर्णय गलत भइदिँदा त्यसले निम्त्याउने दीर्घकालीन असरबारे सहभागी अधिकांश टोली चिन्तित बनेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले केही दिनअघि कान्तिपुरसँगको कुराकानीमा यो प्रतियोगिताले खेलाडीमात्र नभई रेफ्री उत्पादन गर्ने बताएका थिए । यसको अर्थ ‘ए’ डिभिजन लिगमा रेफ्रीको परीक्षा भइरहेको छ । एन्फाका फुटसल प्रमुख विनोद गुरुङका अनुसार गत जुन महिनामा एसियाली फुटबल महासंघ (एएफसी) बाट आएका प्रशिक्षकले पाँच दिनसम्म गरेको सैद्धान्तिक प्रशिक्षणबाट उत्कृष्ट भएका १२ जनालाई यो प्रतियोगितामा निर्णायकको भूमिका दिइएको छ । फुटसलको एक खेलमा ४ रेफ्री रहन्छन् । १२ जनालाई प्रतियोगिता हुनु केही दिनअघि फेरि ३ दिनको रिफ्रेसमेन्ट प्रशिक्षण दिइएको थियो । यी सबै रेफ्रीका लागि यो प्रतियोगिता डेब्यु हो । त्यसैले हरेक खेलपछि उनीहरूले अनिवार्य रूपमा खेलको समीक्षा रिपोर्ट प्रस्तुत गर्नुपर्नेछ ।

पहिलोपल्ट वास्तविक फुटसल प्रतियोगिता भइरहेको हुनाले स्वयं क्लबहरूलाई पनि रेफ्रीको निर्णयमा प्रश्न गर्ने अधिकार नैतिक रूपमा छैन । खेलाडी, प्रशिक्षक पनि फुटसलको वास्तविक नियमबारे पूर्ण जानकार छैनन् । कतिपय टोलीले त यही प्रतियोगिताअघिको प्राविधिक समितिको बैठकबाट नियमबारे जानकारी पाएका हुन् ।

नियमबारे सबै कुरा कसैलाई थाहा छैन भन्दैमा रेफ्रीले आफ्नो जिम्मेवारी पूरा गर्न चुक्न नहुने बताउँछन् शंखमूल फुटसलका प्रशिक्षक प्रकाश परियार । ‘यो प्रतियोगितामा सहभागी सबैका लागि नयाँ अनुभव भइरहेको छ । खेलाडीमा केही अनुभव भए पनि टिम मालिक, आयोजक र रेफ्रीका लागि पनि यो नयाँ अनुभव हो । रेफ्रीहरूको त पहिलो प्रतियोगितामा हो,’ परियारले कान्तिपुरसँग भने, ‘उहाँहरूले खेलमा सुरुमा चेतावनी दिने, नियमबारे खेलाडीलाई बुझाउने गर्नुपर्छ जस्तो लाग्छ । खेललाई स्वस्थ रूपमा अगाडि बढाउनुपर्छ । त्यो रेफ्रीको दायित्व हो । रेफ्री आक्रामक हुने । व्यक्तिगत गालीगलौजमा उत्रिने गर्दा खेलको माहौल फरक हुन्छ ।’

मंगलबारको खेलमा मध्यान्तरमा निर्णयमाथि अपिल गर्न लाग्दा आफ्ना गोलरक्षक तथा कप्तान अनिश श्रेष्ठमाथि रेफ्रीले नै अपशब्द प्रयोग गरी कार्ड देखाएको शंखमूलको आरोप छ । कार्डको प्रयोग तथा फिल्डको लाइनमा रेफ्रीले केही ‘एडभान्टेज’ दिनसक्ने प्रशिक्षक परियारको तर्क छ । ‘खेल सुरु हुनेबित्तिकै कार्डको प्रयोग भएको छ । फाउलको प्रकृतिअनुसार उहाँहरूले निर्णय लिइदिनुभएको भए राम्रो हुन्थ्यो । सबैजनाले फुटसल सिक्दैछन् भने रेफ्रीले पनि त्यहीअनुसार व्यवहार गरिदिनुपर्‍यो,’ उनले थपे, ‘उहाँहरूको परीक्षणमा हाम्रो सबैभन्दा महत्त्वपूर्ण खेल भइरहेको हुन्छ । उहाँहरूले एउटा गल्तीले हामीलाई अप्ठ्यारो पार्छ ।’

शंखमूलसँग ३–३ गोलको बराबरी खेलेको घरेलु टोली स्पोर्ट्स क्यासलका सहायक प्रशिक्षक अर्बिन गुरुङ पनि रेफ्रीले आफ्ना गल्तीहरू सुधार गर्दै अगाडि बढ्नुपर्ने बताउँछन् । ‘हामीले हरेक खेलपछि टिममा समीक्षा गर्छौं । गल्ती कमजोरी के–के भएका छन् छलफल गर्छौं । ठिक त्यसैगरी रेफ्रीहरूले पनि आफ्नो निर्णयबारे समीक्षा गरून् र त्यसलाई नदोहोर्‍याउन,’ उनले भने, ‘फुटसल विकासमा उहाँहरूको पनि योगदान महत्त्वपूर्ण हुन्छ । टिम र खेलाडीले यो प्रतियोगिता वा खेललाई जति तयारी गर्छन् रेफ्रीले पनि उत्तिकै तयारी गर्नुपर्छ ।’

नेपाल फुटसल व्यवसायी संघका अध्यक्ष तथा ढुकु फुटसलका सञ्चालक/प्रशिक्षक राज महर्जनले पनि रेफ्रीको केही निर्णयहरूमा कमजोरी रहेको बताए । ‘सबैकुरा यहाँ पहिलोपल्ट भइरहेको छ । प्रतियोगिता आयोजना गर्नुपूर्व वास्तविक फुटसल प्रशिक्षक र रेफ्री उत्पादनमा ध्यान दिन हामीले एन्फालाई धेरै अगाडिदेखि भनिरहेका हौं, फुटसल फाइवसँग पराजित भएपछि महर्जनले कान्तिपुरसँग भने, ‘रेफ्रीको कमजोर निर्णयले गाह्रो चाहिँ सबैलाई परेको छ । यहाँबाट राष्ट्रिय टोली छनोट हुने भनिएको छ । रेफ्रीको खराब निर्णयले त अप्ठेरो पार्छ नि ।’ प्रशिक्षक महर्जनले दिनदिनै हरेक क्लबका खेलाडीहरू चोटग्रस्त भएकाबारे एन्फालाई गम्भीर बन्न आग्रह गरे ।

सविन मेमोरियलका प्रशिक्षक राजेन्द्र तामाङचाहिँ रेफ्रीको निर्णयप्रति असन्तुष्ट छैनन् । ‘रेफ्रीको गुनासो गर्न त आफू पनि परिपक्व हुनुपर्‍यो । हामीलाई यहाँ आफ्नै नयाँ जिम्मेवारी र चुनौती भइरहेको छ । आफू पूर्ण जानकार भएपछि मात्र अन्यतिर हेर्ने हो । त्यसैले रेफ्रीलाई मात्र दोष दिने कुरा भएन । विचरा, उनीहरू पनि भर्खरै सिकिरहेका छन् । पाँच दिनको क्लास लिएर आएको रे । खेल चलिरहँदा कुनै गुनासो भए पनि खेल सकिएपछि सकियो । म रेफ्रीमाथि गुनासो गर्दिनँ ।’

मंगलबार प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली सविन मेमोरियलसँग ३–२ ले पराजित भएपछि लुम्बिनी फुटसलका प्रशिक्षक प्रज्वल श्रेष्ठ पनि रेफ्रीसँग आक्रोशित थिए । खेलाडीमाथि अनावश्यक कार्ड प्रयोग गरेकोमा भन्दै उनले आउट भइसकेको बल लिएर गोल गर्दा पनि रेफ्रीले फाउल नदिएकाले हार्नुपरेको आरोप लगाए ।

प्रकाशित : आश्विन ७, २०७८ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?