राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षण इटहरीमा- खेलकुद - कान्तिपुर समाचार

राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षण इटहरीमा

सुम्निमा चाम्लिङ

इटहरी — मलेसियामा हुने आईसीसी महिला विश्वकप २०२२ का लागि एसिया छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षण बिहीबारदेखि इटहरीमा सुरु हुँदैछ ।  

नेपाल क्रिकेट संघ (क्यान) को आयोजना र क्रिकेट एशोसिएसन अफ सुनसरीको व्यवस्थापनमा इटहरीको क्षेत्रीय रंगशालामा प्रशिक्षण हुन लागेको हो । बिहीबारदेखि सुरु हुने प्रशिक्षण एक सातासम्म चल्ने राष्ट्रिय क्रिकेट महिला टिमका प्रशिक्षक जगतबहादुर टमाटाले बताए । क्यानले यस वर्ष तीन फरक स्थानमा नेपाली टिमलाई प्रशिक्षण दिँदैछ । पहिलो प्रशिक्षण महेन्द्रनगरमा असोज २ गते सम्पन्न गरेको थियो ।

प्रशिक्षक टमाटाका अनुसार इटहरीको प्रशिक्षण सकिएलगत्तै काठमाडौंमा अन्तिम प्रशिक्षण हुनेछ ।

प्रशिक्षणमा प्रदेश १ बाट टोलीका क्याप्टेन रुबिना क्षेत्री, संगीता राई, काजल श्रेष्ठ, रोमा थापा, सबनम राई र अप्सरी बेगम रहेका छन् । यस्तै, प्रदेश २ बाट सरस्वती चौधरी,अनुराधा चौधरी र ममता चौधरी सहभागी हुनेछन् ।

कार्यक्रम संयोजक विप्लव घोषले राष्ट्रिय टिमको प्रशिक्षण भएसँगै सुनसरीमा महिला खेलाडी उत्पादनमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको बताए ।

प्रकाशित : आश्विन ६, २०७८ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्

‘अवकाश’ उमेरमा झनै सक्रिय

सुम्निमा चाम्लिङ

इटहरी — सामान्यतः ७ दशक उमेर नाघेपछि कतिपय ज्येष्ठ नागरिक पूजापाठ, भजनकीर्तन अनि आराम गर्छन् । जीवनको उत्तरार्द्धको समय आराम गर्ने हो भनेर परिवारले पनि त्यसैअनुसार व्यवहार गर्छन् । तर सबै वृद्धवृद्धा त्यसरी आराम गरेर बस्ने गर्दैनन् । धरानका ७० वर्षमाथिका कतिपय नागरिक लेखन, पठन, अध्यापन साथै सामाजिक क्षेत्रमा तन्नेरी पुस्ताझैं सक्रिय छन् ।

सेतै फुलेको कपाल र बुढ्यौलीको धर्सा देखिन थालेको अनुहार तर उत्साहमा कुनै कमी छैन । धनकुटा बजारमा विसं. १९९५ असारमा जन्मिएकी सरला कायस्थ सामाजिक क्षेत्रमा अझै सक्रिय छिन् । कोरोना महामारी सुरु हुनु अघिसम्म उनी महिला, ज्येष्ठ नागरिकको सवालमा आवाज उठाउँथिन् । अझै पनि विभिन्न सार्वजनिक मञ्चमा पुग्ने गर्छिन् । न त हातमा लौरो छ न कसैको उनलाई सहारा चाहिन्छ । सक्रियता देख्दा अझै पनि उनलाई बुढ्यौलीपनले छोएको जस्तो लाग्दैन । कार्यक्रममा बोलाएको ठाउँमा नजाँदा नपत्याएको भन्ने लाग्ने डरले सकभर पुगेकै हुन्छिन् ।

२०२८ मा स्थापना भएको नेपाल रेडक्रस सुनसरीको अध्यक्ष बनिन् । त्यसयता २६ वर्षसम्म रेडक्रस सुनसरीको नेतृत्व सम्हालिन् । २०३४ पछि केन्द्रीय उपाध्यक्ष भई ८ वर्ष सेवा गरेको अनुभव छ । उनकै नेतृत्वमा धरानमा रेडक्रस भवन बनेको थियो । राजधानीबाहिर एम्बुलेन्स सञ्चालन गर्ने पहिलो जिल्लासमेत उनको पालामा भयो । ‘रेडक्रस मेरो ठूलो परिवार हो,’ उनी भन्छिन्, ‘रेडक्रसमा काम गर्न पाएकोमा खुसी र गर्व लाग्छ ।’

धरानमा रहेको ज्ञानचक्षु विद्यालयको स्थापनामा समेत उनको योगदान छ । २०३४ मा स्थापना भएको विद्यालयको संस्थापक सचिव भएर काम थालेकी थिइन् । हाल उनी रेडक्रस सुनसरीको सल्लाहकार, नेपाल कुष्ठरोग निवारण संघ केन्द्रीय सदस्य, धरान ज्येष्ठ नागरिक मिलन केन्द्रकी अध्यक्षलगायत एक दर्जन सामाजिक संस्थामा आवद्ध छिन् । ‘रेडक्रस दिदी’ को उपमा पाएकी सरला समाजलाई परिवारको महत्त्वपूर्ण हिस्सा मान्छिन् । जीवन रहेसम्म मानव सेवामा बिताउने उनको आकांक्षा छ ।

कोरोनाका कारण अहिले उनी घरमा सीमित हुनुपर्दा नरमाइलो लागेको बताउँछिन् । पछिल्लो समय ज्येष्ठ नागरिकको अनुभव नयाँ पुस्तालाई कसरी उपयोगी बनाउन सकिन्छ भन्नेमा जोड दिँदै आएकी छन् । स्नातक गरेकी उनी महिलाहरूलाई आरक्षणको भन्दा पनि योग्यता विकासमा जोड दिनुपर्ने धारणा राख्छिन् । ‘डाँडामाथिको जुन भन्ने सोच्नु हुँदैन,’ उनी भन्छिन्, ‘मृत्यु त निश्चित छ । बाँचुन्जेल राम्रो काम गर्न सकौं ।’

***

धरानकी कुन्ता शर्मा नेपाली साहित्य क्षेत्रमा परिचित नाम हो । सिर्जनामार्फत महिलाको विषयलाई बुलन्द रुपमा उठाउँदै आएकी ७६ वर्षीया उनी अझै लेखनमा सक्रिय छिन् । गत जेठ र असारमा मात्र सय वटा कविता फेयर गरिसकेकी छन् । ‘मसँग ऊर्जाचाहिँ प्रशस्त छ,’ उनी भन्छिन्, ‘चुप लागेर बस्नै सक्दिनँ ।’

तीन दशक शिक्षण क्षेत्रमा बिताएकी उनको अवकाशपछि समेत मुहारमा थकान देखिँदैन । उनले २०५२ मा ‘म उभिएको ठाउँ’ कवितासंग्रह प्रकाशित गरेकी थिइन् । जसको ‘पोथी बास्नु हुँदैन’ भन्ने कविता सर्वाधिक रुचाइएको थियो । अझै पनि उनको यो कवितालाई सशक्त मानिन्छ । ‘मेरो मान्छे’ दोस्रो कवितासंग्रह २०७४ मा प्रकाशित गरिन् । तेस्रो कवितासंग्रह ल्याउने तयारीमा छिन् ।

संग्रहको काम सकिनासाथ अधुरो रहेको कथालाई पूरा गर्ने योजना सुनाइन् । उनले आफ्नो जीवनीसमेत लेखिरहेकी छन् । करिब ६० हजार शब्द टाइप सकिएको छ । यतिमा मात्र सीमित छैनन्, जीवनी, कथा, कविता संग्रह प्रकाशनपछि एउटा निबन्ध संग्रह तयार गर्ने उनको लक्ष्य छ । लेखनमा रमाउने उनी सक्रिय साथ जीवन बिताउनुपर्ने सोच राख्छिन् । साहस, इमानदारिता र सत्यको उत्खनन गर्ने प्रयास कविमा हुनुपर्ने उनको धारणा छ । लेखनका लागि साहस र तपस्या हुनपर्ने उनी बताउँछिन् ।

उनी एमालेबाट २०५६ मा सांसदमा समेत निर्वाचित भइन् । खुल्ला आन्दोलन, महिला, शिक्षक, मानवअधिकार, सांस्कृतिक आन्दोलनमा सधैं अग्रपंक्तिमा उभिने साहसी महिलाको रूपमा शर्मालाई चिनिने गरिन्छ । कुनै समय आन्दोलनको क्रममा प्रहरीको डन्डा र हिरासत उनका लागि सामान्यजस्तै थियो । उनमा अझै पनि पार्टीको काम गर्ने जाँगर सेलाएको छैन । २०३० देखि २०६८ सम्म वामपन्थी विचारको संकल्प पत्रिकासमेत उनको नेतृत्वमा प्रकाशित हुने गरेको थियो । उनले नेपालीमा एमए र बीएड पूरा गरेकी छन् ।

***

होचो कद, सेतै फुलेका कपाल, मिजासिला सबैका गुरु भाषविद् टंक न्यौपाने पूर्वका साहित्यिक तथा प्राज्ञिक कार्यक्रमहरूमा अक्सर भेटिन्छन् । २०६० मा आठपहरिया भाषामा विद्यावारिधि गरेका उनलाई भाषा विज्ञान र जनजातीय भाषामा विशेष रुचि छ । धनकुटाको चुङनाममा जन्मेका उनले धरानलाई आफ्नो कर्मथलो बनाए । २०२५ देखि भैरहवा क्याम्पसदेखि त्रिभुवन विश्वविद्यालयमा पढाउन सुरु गरेका थिए । ७३ वर्षीय उनी महेन्द्र क्याम्पस धरानबाट ५ वर्षअघि सेवानिवृत्त भएका थिए ।

अवकाशपछि समेत उनी गत असारसम्म इटहरी र धरानका क्याम्पसमा आमन्त्रित प्राध्यापकका रूपमा पढाउँदै आएका छन् । ‘सेवा निवृत्ति हुनु भनेको आरामका लागि होइन,’ उनी भन्छन्, ‘अतिरिक्त काम र अनुसन्धान गर्नका लागि अवकाश दिएको हो ।’

सार्वजनिक बस चढेर क्याम्पस पढाउन जानु, कार्यक्रमहरूमा सहभागी हुनु, पुस्तक लेखन, पठन उनको दिनचर्या थियो । हिजोआज भने कोरोना कहरका कारण घरमा बसेर अनलाइन कक्षा अध्यापन, पठन, लेखनमा समय कट्ने गरेको छ । अहिले पीएचडी अध्ययननरत ८ जना विद्यार्थीलाई गाइड गरिरहेका छन् । दुङमाली राईको भाषाबारे भर्खरै लेखनको काम सकेका छन् । दसैंतिहारमा पुस्तक छाप्ने तयारी छ । लेखनको काम सकिन नपाउँदै देवान समुदायका लागि पनि पुस्तक तयार गर्नुपर्ने भएकाले अध्ययन गरिरहेका छन् ।

‘मसँगैका अवकाशप्राप्त साथीहरू आनन्दमयी जीवन बिताइरहेका छन् । मलाई भने फुर्सदै छैन,’ उनी भन्छन् । अबको जीवन आफ्नो लागि भन्दा पनि अरूका लागि बढी बाँच्नुपर्ने उनको भनाइ छ । २०३८ देखि उनले प्राज्ञिक लेखन थालेका हुन् । उनले मूलतः प्राज्ञिक र विद्यार्थीलाई उपयोगी रिफरेन्स किताबहरू लेख्ने गरेका छन् । उनले हालसम्म तीन दर्जन पुस्तक प्रकाशित गरिसकेका छन् । पुमा राईको पुस्तक लेखनका लागि आग्रह गरिएको हुँदा लागिपरेको उनी सुनाउँछन् ।

अझै पनि विभिन्न स्थानबाट क्याम्पसहरूले भिजिङ प्रोफेसरका लागि पढाइदिनका लागि अनुरोध गर्ने गरेका छन् । हाल उनी विराटनगरको कृष्णभूषण बल स्मृति प्रतिष्ठानको अध्यक्ष र भयवाद अध्ययन केन्द्रका अध्यक्षसमेत छन् ।

न्यौपानेले शिक्षा, भाषा र साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै २०७३ भदौ १६ मा नागरिक स्तरबाट इटहरी र धरानमा रथयात्रा निकालेर नागरिक अभिनन्दन गरिएको थियो । उनी मूलतः जनजाति समुदायको क्षेत्रमा काम गर्दै आएका छन् । पछि परेको समुदायलाई अघि बढाउनुपर्ने उनको बुझाइ छ ।

प्रकाशित : भाद्र २१, २०७८ १३:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×