शंखमूलको बराबरी, ढुकुको हार

मंगलबार एउटै खेलमा नौ पहेँलो कार्ड प्रयोग

पोखरा — पोखरा रंगशालास्थित कभर्डहलमा जारी ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा शंखमूलले लगातार दोस्रो बराबरी खेलेको छ । फुटसल फाइभसँग बराबरीमा रोकिएको शंखमूलले मंगलबार घरेलु टोली स्पोर्ट्स क्यासलविरुद्ध पनि २–२ को बराबरी खेल्यो । 

शंखमूलको बराबरी, ढुकुको हार

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा घरेलु समर्थकको उल्लेख्य साथ पाएको स्पोर्ट्स क्यासलले दुईपल्ट पछि परेको स्थितिबाट पुनरागमन गरी बराबरी गरेको हो । तनावपूर्ण खेलमा ९ पहेँलो कार्ड प्रयोग भएको थियो । तीमध्ये ७ कार्ड शंखमूलका खेलाडीलाई थियो । यो लिगमा दुईवटा पहेँलो कार्ड पाउनेले तेस्रो खेल गुमाउने छन् ।क्यासलका किशोर गुरुङको आत्मघाती गोलबाट शंखमूलले अग्रता बनायो । शंखमूलका विवेक पण्डितले अर्को गोल गरे । क्यासलबाट भीषण गुरुङ र अञ्जन देवकोटाले गोल गरेका थिए ।

शंखमूलका प्रशिक्षक प्रकाश परियारले लगातारको बराबरीले टिमलाई जितको दबाब बढेको स्वीकारे । ‘खेल राम्रै भयो । हाम्रो खेल सुधारिएको छ तर विपक्षी पनि धेरै नै बलियो थियो । खेल हो बराबरी भयो । अंक जोगाउन पाएकोमा हामी खुसी छौं,’ परियारले भने, ‘जित ननिस्केको हुनाले दबाब चाहिँ भइरहेको छ । जित निकाल्न सकियो भने टिम अझै बलियो हुन्छ भन्ने लाग्छ ।’ पहिलो खेलमा टिममा नरहेका पिभोटमणि लामा यो खेलदेखि उपस्थित थिए । उनको उपस्थितिले शंखमूल टिम अझै सन्तुलित बनेको थियो ।

स्पोर्ट्स क्यासलका सहायक प्रशिक्षक अर्बिन गुरुङले पनि अंक गुमाउन नपरेकामा खुसी व्यक्त गरे । क्यासलले पहिलो खेलमा प्रभातफेरीलाई ७–० ले हराएको थियो । ‘नतिजाबाट एकदमै सन्तुष्ट छु । खेलाडीहरूले हाइइन्टेन्सिटी खेल खेलेको छ । समग्रमा हामीले अहिले खेलिरहेको फुटसल वास्तविक हो भनेर हामी सबैले बुझ्न पाएका छौं । यहाँ पोजिसनभन्दा पनि तीव्र गतिमा कसले आक्रमण गर्न सक्छ र को कति रक्षात्मक बन्नसक्छ भन्नेमै केन्द्रित हुनेछ । हामीले पोजिसन राखेर खेलेनौं र सफल भयौं । यो नतिजाबाट धेरै खुसी छु,’ दर्शकको साथबारे उनले थपे, ‘हामी यत्तिको खेल्न सकेको नै घरेलु दर्शकको कारणले हो । उहाँहरूको मायाले हामीलाई अझै उत्साही बनाएको छ ।’

प्रतिस्पर्धात्मक दोस्रो खेलमा पोखराकै सविन मेमोरियलले रूपन्देहीको लुम्बिनी फुटसललाई ३–२ ले पराजित गर्‍यो । सविनका सरोज गुरुङले ३५ औं मिनेटमा निर्णायक गोल गरे । सविनले पाँचौं मिनेटमै अविनाश तामाङको गोलमा अग्रता लिएको थियो । तर १५ औं मिनेटमा लुम्बिनीका हेमन्त गुरुङले बराबरी गोल फर्काए । दोस्रो हाफमा २९ औं मिनेटमा हेमन्तले नै गोल गरी लुम्बिनीलाई अग्रता दिलाए पनि अन्तिम ५ मिनेट सम्हालिन नसक्दा पराजित भयो ।

अनुभवी र बलियो विपक्षीमाथि जित हासिल गर्दै ३ अंक जोड्न पाएकामा सविन मेमोरियलका प्रशिक्षक राजेन्द्र तामाङ खुसी थिए । ‘विपक्षी टिम बलियो थियो । उनीहरूले सन्तुलित खेल खेलिरहेका थिए । लामो समयदेखि फुटसल खेलिरहेका खेलाडी उनीहरूसँग थिए । हाम्रा खेलाडीहरू सेभेन ‘ए’ साइड खेल्ने खेलाडीहरू छन् । फुटसलमा क्लबले भर्खरै लगानी गरेको हुनाले त्यति धेरै अनुभव छैन । तर मेरा खेलाडीले उत्कृष्ट टिमवर्क देखाए,’ उनले थपे, ‘यो जितले हामीलाई निरन्तर उत्साह थपेको छ । यो रेलिगेसनको प्रतियोगिता भएकाले पनि सबै टोलीलाई जित्नैपर्ने दबाब हुन्छ । सबैले जितको प्रयास गरेका हुन्छन् । जित निस्केपछि त धेरै आनन्द हुन्छ ।’

लुम्बिनीका प्रशिक्षक प्रज्वल श्रेष्ठचाहिँ राम्रो प्रदर्शन गरेर पनि पराजित हुनुपरेकामा चिन्तित थिए । ‘विपक्षी रक्षात्मक खेलिरहेका थिए । हामी आक्रामक थियौं । हामीले अवसर पनि सिर्जना गरेका थियौं, त्यसमा चुक्यौं । हामीले पूरा खेलभरि बल पोजिसन हासिल गरेर पनि हार्नुपर्‍यो,’ उनले थपे, ‘अघिल्लो खेल जितेर त्यसलाई निरन्तरता दिने अवसर थियो । कम्तीमा एक अंकले पनि हामीलाई सजिलो हुन्थ्यो । यो ठूलो हार हो ।’ खेलमा कप्तान अञ्जन थापा चोटग्रस्त भए । स्ट्रेचरमा राखेर मैदानबाहिर ल्याइएका उनलाई अस्पताल भर्ना गरिएको छ । उनको गोलीगाँठामा समस्या देखिएको छ । झरना स्पोर्टसलाई पराजित गरेको पहिलो खेलमा पनि लुम्बिनीका गेली शेर्पा चोटग्रस्त भए । उनी कम्तीमा एक साता मैदानबाहिर रहनेछन् ।

दिनको अन्तिम खेलमा उपाधि दाबेदार ढुकु फुटसलले फुटसल फाइभसँग ५–३ को हार बेहोर्‍यो । लिगको पहिलो खेलमा टोलीले सविन मेमोरियललाई ८–६ ले हराएको थियो । हारका बाबजुद ढुकुका प्रशिक्षक राज महर्जन आफ्नो टोलीको प्रदर्शनबाट सन्तुष्ट देखिए । उनले विपक्षी गोलरक्षक सन्जीव तामाङको प्रदर्शनको खुलेर तारिफ गरे । ‘हाम्रो टोलीभन्दा विपक्षी गोलरक्षकले धेरै उत्कृष्ट प्रदर्शन गरे । आजको खेलको सम्पूर्ण श्रेय उनैलाई जान्छ,’ उनले थपे, ‘समर्थकले ढुकुलाई उपाधि दाबेदार बनाएको छ । तर यो प्रतियोगितामा सबै टोली उत्तिकै क्षमताका छन् । सबैले सबैलाई हराउन सक्छन् । ७ खेल बाँकी छ । हामी आफ्नो उत्कृष्ट दिने प्रयास गर्नेछौं ।’

धराने क्लब फुटसल फाइभका प्रशिक्षक विश्वास लामाले पनि आफ्ना गोलरक्षकको प्रदर्शन अहिलेसम्म पनि आफूलाई विश्वास नै नलागेको बताए । पहिलो खेलमा शंखमूलसँग बराबरी खेलेको फुटसल फाइभले २ खेलबाट ४ अंक बनाएको छ । यस्तै प्रदर्शनलाई निरन्तरता दिएर उपाधिमा दाबेदारिता दिने प्रशिक्षक लामाको भनाइ छ । फाइभका लागि प्रवेश जोशीले २ गोल गरे । कप्तान सन्दीप कार्की, सरोज तामा र रञ्जित गुरुङले १–१ गोल गरे । ढुकुका अमित लामा, अभय राणा र विक्रान्त नरसिंह राणाले १–१ गोल गरे ।

प्रकाशित : आश्विन ६, २०७८ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?