कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

इंग्ल्यान्ड पनि पाकिस्तान नजाने

एएफपी

लन्डन — इंग्ल्यान्डले सोमबार पुरुष र महिला क्रिकेट टिमले अक्टोबरमा गर्न लागेको पाकिस्तान भ्रमण रद्द गरेको छ । इंग्ल्यान्डको पुरुष टिमले सन् २००५ यता पहिलोपल्ट पाकिस्तानी भूमिमा खेल्न लागेको थियो ।

इंग्ल्यान्ड पनि पाकिस्तान नजाने

इंग्लिस महिला टिमले अहिलेसम्म पाकिस्तानमा खेलेको छैन । पछिल्लो शुक्रबार मात्र न्युजिल्यान्डको पुरुष क्रिकेट टिमले पाकिस्तान भ्रमण रद्द गरेको थियो ।

त्यतिबेला न्युजिल्यान्डको सुरक्षालाई लिएर धम्की प्राप्त भएको जनाएको थियो । इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले भनेको छ, ‘त्यस क्षेत्रमा भ्रमण गर्नु अहिले निकै चिन्ताको विषय रहेको छ । अहिले पाकिस्तानमा खेल्न जानु भनेको खेलाडीमाथि थप दबाब सिर्जना गर्नु हो । यी खेलाडी कोभिड–१९ को प्रभावले यसअघि नै दबाबमा छन् ।’

ट्वान्टी–२० विश्वकपको तयारीस्वरूप इंग्ल्यान्डको पुरुष टिमले रावलपिन्डीमा दुई खेल खेल्न थालेको थियो । महिला टिमले तीन एकदिवसीय खेल्ने कार्यक्रम थियो । सन् २००९ मा पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टिममाथि सांघातिक हमला भएपछि ६ वर्षसम्म कुनै अन्तर्राष्ट्रिय क्रिकेट भएको थिएन् ।

पाकिस्तानले आफ्नो घरेलु मैदानका रूपमा यूएईलाई प्रयोग गरेको थियो । न्युजिल्यान्डले खेल सुरु हुन केही घण्टाअगाडि मात्र खेल रद्द गरेपछि पाकिस्तानलाई ठूलो धक्का लागेको थियो । अब इंग्ल्यान्डको टिम पनि पाकिस्तान नजाने भएपछि यो अझ ठूलो धक्का बनेको छ । पछिल्लो केही समययता मात्र विदेशी टिमले पाकिस्तानको भ्रमण गर्न थालेको थियो ।


प्रकाशित : आश्विन ५, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?