रिङबाहिरका ‘राजा’- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रिङबाहिरका ‘राजा’

बक्सिङको दुर्दशा या आफ्नै स्वास्थ्य अवस्थाले मदन गुरूङको अनुहार अझै खुलेको छैन । बर्मा छोडेर नेपाल आएपछि उनी २–३ पटक मात्र उता फर्किएका छन् ।
विनोद पाण्डे

काठमाडौँ — सातदोबाटोस्थित सुटिङ रेन्जको छेउमा अवस्थित बक्सिङ हल छरपस्ट थियो । पानी चुहिएको थियो, मर्मतसम्भार केही थिएन । पञ्चिङ ब्यागहरू निकै पुराना देखिन्थे । डोरी चुँडिएर भूँइमा झर्लाजस्तो देखिन्थ्यो । धेरैपछि त्यहाँ पुगेका मदनकुमार गुरुङ बक्सिङको त्यस्तो अवस्था देखेर एकाएक भावुक हुन पुगे ।

उनमा यो स्तरको निराशा छाउनु स्वाभाविक नै थियो । आफ्नो बुबाको जन्मभूमिका लागि केही गर्छु भनेर उनी बर्मा छाडेर नेपाल फर्किएका थिए । तर, उनले प्रशासकीय र व्यवस्थापन हिसाबमा बक्सिङको परिवर्तन महसुस गर्न सकेका छैनन् । सातदोबाटोस्थित बक्सिङ रिङको अवस्थाले उनलाई झन भक्कानिने बनायो ।

पोखराबाट बसमा ४५ मिनेट जतिको यात्रा गरेपछि बरेल डाँडा गाउँ आउँछ । यो ठाउँबाट मनिलाल गुरुङ ब्रिटिस आर्मीमा भर्ती हुन छनोट भएका थिए । दोस्रो विश्वयुद्धमा जापानसँग लड्न बर्माको जंगल पुगेका थिए । ६ महिना युद्धमै बित्यो । त्यसपछि जापानले पक्रेर थुनेर उनलाई ६ महिना सुंगुरको खोरमा राखिदियो । ‘प्रिज्नर अफ वार’ अन्तर्गत जापानले सजायस्वरुप उनलाई थुनेर राखेको थियो ।

बर्माको यही लडाइँलाई आधार मानेर ब्रिटिसह्ले जापानीसँग कसरी लडेका थिए भनेर ‘ब्रिज ओभर द रिभर क्वाई’ फिल्म बनाएका थिए । दास्रो विश्वयुद्धका क्रममा जापानी युद्ध कैदीद्वारा सन् १९४० देखि १९४४ सम्म निर्माण गरेको त्यो ऐतिहासिक पुल निर्माण गर्दा झन्डै ९० हजार मान्छे मरेका थिए । मर्नेहरूमा दक्षिणपूर्वी एसियाका मानिस र १२ हजार जापानी युद्धकैदी थिए । धेरैलाई श्रमशोषण गरिएको थियो ।

जापानी सेनालाई त्यो पुलबाट भारततर्फ छिर्न नदिन आफ्नो पिताले साहसपूर्वक लडेको भनेर मदन र उनका छोरा समिर गर्वसाथ सुनाइरहेका थिए । विश्वयुद्धमा मनिलालको बहादुरीबाट आङ साङ निकै प्रभावित थिए । आधुनिक म्यानमारमा ‘फादर अफ नेसन्स’ मानिएका साङले नै ‘तपाईं वीर गोर्खालीहरू यता बस्नुपर्छ भनेर जग्गा जमिन दिएर’ राखेपछि मनिलाल बर्मामै अडिए ।

तीन छोरामध्ये कान्छो मदन उतै जन्मिए । तीन दिदीबहिनी मदनको परिवारमा छन् । आफ्ना पिताजस्तै मदनमा पनि लडाकुपन देखियो । शत्रुलाई ढाल्न मदन पनि पछाडि परेनन् । बक्सिङको रिङमा उनले कसैलाई बाँकी राखेनन् । अर्थात मदनले बिना हतियारको युद्ध रोजे । बक्सिङ खेल्न थाइल्यान्ड पुगिरहन्थे उनी । कम्ब्याट स्पोटर््समा थाइल्यान्ड विश्वमै परिचत थियो । ओलम्पिक स्वर्ण पदक विजेता खेलाडीहरू निकाल्ने सगरा वान र सगारा टुसँग थाइल्यान्डमा सिक्ने अवसर पाएपछि उनी मुवाँथाईमा ७५ केजीमा स्टार खेलाडी भइसकेका थिए । उनले एकपल्ट किंग्स कपको तेस्रो चरणमा ओलम्पिक पदकधारीलाई नकआउट हानेका थिए ।

थाइल्यान्डका राजाको छोरासँग बसेर तत्कालीन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव शरदचन्द्र शाहले उनको खेल हेरिरहेका थिए । जब मदनकुमार गुरुङ विजेता भनेर घोषित भयो शाह अचम्मित नै भए । गुरुङ त नेपाली हुनुपर्ने कसरी अर्को देशबाट खेले भनेर शाह सिधै गुरुङलाई भेट्न चेन्जिङ रूममा पुगे । ‘शुद्ध गोर्खाली, ब्रिटिस गोर्खाली बाउको छोरा हुँ म,’ शाहले तिमी गोर्खाली हो भनेर सोध्ने नपाउँदै उत्तर फर्काएको मदन सम्झन्छन् । शाहले नेपालमै आएर सिकाउन अनुरोध गरेपछि बर्मालाई बिट मार्दै उनी नेपाल आएका थिए । मदनको नेपाल आउन लालयित हुनुमा यहाँ आएर फुपु भेट्न पाउनु पनि थियो ।

नेपालमा पनि बक्सिङ छ र ? शाहलाई मदनले सोधेका थिए । नेपाल आएर नागरिकता बनाउँदै त्यसको दुई वर्षपछि २०४० सालमा राखेपमा प्रशिक्षकको रूपमा छिरेका उनले गत वर्ष वरिष्ठ अधिकृत भएर अवकास लिए । २०३१ सालमा भैरहवामा बक्सिङको पहिलो राष्ट्रिय प्रतियोगिता भएको थियो । त्यसको ९ वर्षपछि मदन नेपाल आउँदा बक्सिङ खेल त खेलिन्थ्यो तर एकदमै सीमित मात्रामा । शाहले भने जस्तै नेपालमा बक्सिङ त थियो, तर मदनले सोचेजस्तो नाम मात्रको । उनी सबैलाई केही न केही उपनाम राखिदिन्थे । शाहलाई उनी ‘नेप्टे राजा’ भन्थे, सायद होचो कद भएर होला । प्रकाश थापालाई उनी मोटे भनेर बोलाउँछन् ।

अवकास जीवनको मन बहलाउन मदन तीन साताअगाडि सातदोबाटो बक्सिङ रिङमा पुग्दा खेलाडी र प्रशिक्षक तयारीमा व्यस्त थिए । त्यही तयारीले नारिका राई, स्वस्तिका तिवारी र छिरिङ वाङदी शेर्पालाई दुबई एएसबीसी च्याम्पियनसिपमा कांस्य पदक दिलाएको थियो । मदन उनीहरूलाई चिन्दैनन् । खेलाडीहरूले पनि उनलाई चिन्दैन । उनी कहिल्यै बक्सिङका मुख्य प्रशिक्षक भएनन् । तर, आफूले प्रशिक्षण गराएर अन्तर्राष्ट्रिय खेलाडी बनाएको १ सय ३१ जनाको सूची उनीसँग छ ।

दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदकधारीहरू स्व. दलबहादुर रानामगर, चित्रबहादुर गुरुङ, स्व. पुष्करध्वज शाही, प्रकाश थापामगर, बक्सिङ संघका वर्तमान अध्यक्ष राम अवाले सबै मदनसँग सिक्दै हुर्केका हुन् । दोहोरो स्वर्ण पदक विजेता दलबहादुर भर्खर पुलिसमा आएका थिए । बक्सिङमा आधारभूत मात्र ज्ञान बोकेका उनी प्रहरीमा सिपाही थिए । मदनले पुलिसमा २० वर्ष प्रशिक्षण गराउँदा दलबहादुरले राम्रो निखारिनै मौका पाए । प्रकाशको बुबासँग उनको राम्रो चिनजान थियो । उनले छोराहरूलाई बक्सिङ प्रशिक्षणमा पठाइदेऊ भनेर भनेपछि प्रकाश र उनका भाइ रामचन्द्र थापाले बक्सिङ खेल्न सुरु गर्दै सन् १९९९ को आठौं सागमा स्वर्ण जितेका थिए ।

केशव स्थापित राखेप सदस्यसचिव हुँदा २०५२ मा मदनलाई मुख्य प्रशिक्षकको प्रस्ताव गरिएको थियो । उनले आफूभन्दा वरिष्ठ सुरेशसिंह आलेमगर भएकाले उनकै नाम मुख्य प्रशिक्षकका लागि सुझाएपछि त्यो जिम्मेवारी आलेले पाएको मदन सुनाउँछन् । युवराज लामा सदस्यसचिव हुँदा उनलाई फेरि मुख्य प्रशिक्षक बन्ने प्रस्ताव आयो । उनले मानेनन् । बरू आफू बुढो भएको भन्दै केशवकुमार विष्टको पालामा आफ्नै चेला प्रकाश थापामगरलाई मुख्य प्रशिक्षक बनाउन उनले नै नाम दिएछन् ।

नेपाल आएपछि उनले मेचीदेखि महाकालीसम्म गएर बक्सिङ प्रशिक्षण दिए । विष्णुबहादुर सिंह र डम्बरदत्त भट्टलाई उनले कञ्चनपुरमै भेटेका थिए । विष्णुबहादुरले ओलम्पिकमा एक फाइट जितेपछि यो खबर दरबारसम्म पुगेको थियो । मदनले छोटो समय त्रिभुवन आर्मी क्लबका खेलाडीलाई पनि प्रशिक्षण दिए । उनी प्रहरीमा हुँदा प्रहरी र आर्मीमा हुँदा आर्मी नै च्याम्पियन बन्थ्यो । उनकै प्रशिक्षणमा प्रकाश र ओम मास्केले स्वर्ण जितेपछि नेपाल अल इन्डिया च्याम्पियनसिपमा पहिलो भएको थियो ।

त्यसबाहेक उनी दक्ष जज पनि हुन् । उनले थाइल्यान्डको किंग्स कपमा निरन्तर जज भूमिकामा रहे । अन्तर्राष्ट्रिय बक्सिङ संघ (एमेच्योर) मा एसियाली क्षेत्रमा उनी नम्बर एकजस्तै रहेको प्रकाश सुनाउँछन् । ‘मैले किंग्स कपमा आफैंले खेल्दा देखेर आएको थिएँ, पहिलो बाउट तत्कालीन राजाको सामुन्ने हुँदा सबैभन्दा राम्रो रेफ्री भनेर मदन गुरुलाई नै राखिने गरिएको थियो,’ प्रकाशले भने, ‘नेपालीले पनि यस्तो गराउन सक्छन् भन्ने शंका धेरैमा थियो त्यहाँ, उहाँले ढुक्कका साथ खेलाउनुहुन्थ्यो ।’ मदन जिस्किन्छन्, ‘थाइल्यान्डमा खेल्दा पनि जज बन्दा पनि मै राजा थिएँ ।’

सन् १९९७ मा उनलाई ब्रेन ह्यामरेज भएको थियो । त्यसयता उनले विगत धेरै बिर्सिएका छन् । २००२ मा उनले नेपाल बक्सिङ एकेडेमी भनेर खोले । तर रोगले च्यापेपछि उनले स्मरण शक्ति गुमाउँदै जाँदा एकेडेमी अगाडि बढ्न सकेन । सन् २०११ मा उनलाई नर्थ अमेरिकन बक्सिङ संघले अमेरिकामा प्रशिक्षण गर्ने निम्तो दिएको थियो । मदनले छोरा समिरलाई पनि बक्सिङ खेलाए । उनले धेरै खेलेनन् । अहिले उनी बुबाकै हेरचार गरेर बसेका छन् । मदनलाई गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको थियो । बक्सिङको दुर्दशा या आफ्नै स्वास्थ्य अवस्थाले उनको अनुहार अझै खुलेको छैन । बर्मा छोडेर नेपाल आएपछि उनी २–३ पटक उता फर्किएका छन् । एकपल्ट बर्मा पुगेर नेपाल आउन पाएँ भने आफू अझै ‘फ्रेस’ हुने उनलाई लागिरहेको छ । तर, स्वास्थ्य अवस्थाले गाह्रो छ ।

तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

प्रकाशित : आश्विन ५, २०७८ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्

दुई महिनाभित्र होङ्सी सिमेन्टलाई विद्युत् दिइने

नारायण शर्मा

नवलपरासी पूर्व — पूर्वी नवलपरासीको सर्दीमा चिनियाँ लगानीमा सञ्चालित होङ्सी सिमेन्टलाई दुई महिनाभित्रमा विद्युत् दिइने भएको छ । उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गर्न लागिएको विद्युत् प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वैकल्पिक व्यवस्था गरेर भए पनि दुई महिनाभित्र विद्युत् आपूर्तिको प्रबन्ध मिलाइने बताएका छन् ।

भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको बीच खण्डबाट ‘ट्यापिङ’ गरी होङ्सी सिमेन्टलाई विद्युत आपूर्ति दिन लागिएको हो । दैनिक ६ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको यो सिमेन्ट कारखानाले उत्पादन क्षमता बढाएर १२ हजार मेट्रिक टन बनाउने गरी काम सुरु गरेको छ । दैनिक १२ हजार मेट्रिक टन ( सिमेन्ट र क्लिंकर) उत्पादन गर्न ८० मेगावाट बिजुली चाहिने कम्पनीले जनाएको छ । कारखाना पूर्ण क्षमतामा सञ्चालन हुँदा विद्युत् प्राधिकरणलाई कम्तीमा मासिक ४५ करोड महसुल कारखानाले तिर्छ ।

कार्यकारी निर्देशक घिसिङले सिमेन्ट कारखाना उद्योगका पदाधिकारीसँग छलफल गरेर महिनाभित्र विद्युत् आपूर्ति दिन सकिने भएकाले कारखानाले पनि त्यसैअनुसार आवश्यक तयारी गर्न आग्रह गरेको बर्दघाट–सर्दी प्रसारण लाइन आयोजनाका प्रमुख हरि पाण्डेले बताए । पाण्डेका अनुसार भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइन निर्माण कार्य अन्तिम चरणमा रहेको छ । ‘कात्तिकभित्र उद्योगलाई लाइन दिइसक्छौँ,’ पाण्डेले भने ‘विद्युत् अभावमा कारखानाको उत्पादन क्षमतालाई असर गर्दैन ।’

३६ अर्ब रुपैयाँ लगानीको होङ्सी सिमेन्ट कारखाना नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना हो । दुम्कीवासबाट १० किलोमिटर उत्तरमा होङ्सी सिमेन्टको कारखाना रहेको छ ।

प्रकाशित : आश्विन ५, २०७८ १०:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×