‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : प्रभातफेरी र झरना रेलिगेसन टार्न केन्द्रित

पोखरा — ‘ए’ डिभिजन राष्ट्रिय फुटसलमा काठमाडौंको प्रभातफेरी र रूपन्देहीको झरना स्पोर्ट्स क्लबले लगातार दोस्रो हार बेहोरेका छन् । पोखरा रंगशालास्थित कभर्डहलमा सोमबार प्रभातफेरीले धरानको राइजिङ युथ र झरनाले काठमाडौंको स्काइ गोल्ससँग फराकिलो अन्तरमा पराजय भोगे । 

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : प्रभातफेरी र झरना रेलिगेसन टार्न केन्द्रित

प्रभातफेरी टोली राइजिङसँग ११–६ गोलले पराजित भयो । प्रतियोगितामा यो अहिलेसम्म सबैभन्दा धेरै गोल भएको खेल हो । पहिलो खेलमा टोलीले पोखरेली टोली स्पोर्ट्स क्यासलसँग ७–० को हार बेहोरेको थियो ।

यस्तै नियति झरनाको पनि रह्यो । पहिलो खेलमा बुटवल डर्बीमा लुम्बिनीसँग ६–२ ले हारेको झरना सोमबार स्काइ गोल्ससँग ८–० ले पराजित रह्यो । दुवै टोलीका प्रशिक्षकले आफ्नो टिमले अबको रणनीति रेलिगेसन टार्नमै बनाउने बताएका छन् । पहिलोपल्ट वास्तविक फुटसल मैदानमा खेल्नुपर्दा खेलाडीबीच तालमेल मिलाउन नसकेको, ठूला टिमसँग मनोवैज्ञानिक रूपमा कमजोर भएको, म्याटमा खेल्दा खेलाडीहरू चाँडै थाकेको र अनुभव नहुनुका कारण हार्नुपरेको कुरामा पराजित टोलीका प्रशिक्षकहरू एकमत देखिए ।

प्रभातफेरीका प्रशिक्षक सुदीप पन्तले स्थानीय खेलाडीमा अनुभव नभएकाले लगातार पराजित हुनुपरेको सुनाए । ‘यो टिमलाई जित्न भनेर आएका थियौं । खेलमा सम्हालिन नपाउँदै दुई गोल खाएपछि हामी दबाबमा देखियौं । फुटसलमा स–साना गल्तीले नतिजामा फरक पार्छ,’ उनले भने, ‘हामीसँग अनुभवी खेलाडी छैनन् । लामो समयदेखि सँगै खेलेको भए पनि १६–२१ वर्षसम्मका खेलाडीले मैदानभित्र सन्तुलन मिलाउन सकेनन् । उनीहरूमा जोस छ तर फुटसलमा दिमागी खेल पनि चाहिन्छ ।’

प्रशिक्षक पन्तले आफूहरू यो प्रतियोगितामा अनुभव हासिल गरेर अर्को संस्करणमा सशक्त प्रदर्शन गर्ने योजनासहित पोखरा आएको बताए । आगामी खेलमा सुधारिएको प्रदर्शन गरी ठूला टिमविरुद्ध सरप्राइज प्रदर्शन गर्नेमा उनी आशावादी छन् ।

‘अर्को संस्करणमा राम्रो खेल्न यो प्रतियोगिताको अनुभवले काम गर्नेछ । त्यसैले हामी रेलिगेसन टार्नमा केन्द्रित हुनेछौं,’ वाग्मती प्रदेश छनोटको सेमिफाइनल पुगेको प्रभातफेरीका प्रशिक्षक पन्तले थपे, ‘हामी अझै विश्वस्त छौं कि रेलिगेसनबाट जोगिन्छौं । मेरा खेलाडीमा पूरा क्षमता छ । हामी ठूला टोलीलाई हराउन सक्छौं ।’ स्काइसँग फराकिलो अन्तरमा पराजित झरना स्पोर्ट्सले पनि रेलिगेसनबाट जोगिन सुधारिएको प्रदर्शन गर्ने लक्ष्य राखेको छ । सुरुआती दुई खेलको प्रदर्शन हेर्दा मोफसलको यो टोली सबैभन्दा कमजोर देखिन्छ । २ खेलमा १४ गोल खाएको झरनाले २ गोल फर्काएको छ । प्रदेश २ छनोटमा एउटै पनि टोली नआएपछि अन्तिम समयमा झरनालाई समावेश गरिएको हो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम छनोटको फाइनलमा झरना टिम छिमेकी लुम्बिनी फुटसलसँग पराजित भएको थियो ।

लगातार दोस्रो हारबाट बुटवलका प्रशिक्षक निर्मल थापा निराश देखिन्थे । फुटबल खेल्ने खेलाडीहरू समेटेर टिम बनाएका उनले वास्तविक फुटसल मैदानमा फुटबलर खेल्न नसक्ने रहेछन् भनेर बल्ल बुझेका छन् । ‘हामी फुटबल क्लब हो । फुटबल खेल्नेहरू फुटसल खेल्न नसक्ने रहेछन् । त्यसमा पनि बुटवलको सानो मैदानमा अभ्यास गरेको यो ठूलो मैदानमा उनीहरूले कभर गर्नै भ्याएनन् । सानो र ठूलो मैदानले धेरै फरक पार्दोरहेछ,’ प्रशिक्षक थापाले कान्तिपुरसँग भने, ‘काठमाडौंका खेलाडीहरू लामो समयदेखि फुटसल खेलेका छन् । उनीहरूलाई देख्नेबित्तिकै हाम्रा खेलाडी आत्तिए ।’ प्रशिक्षक थापाले रेलिगेसन टार्न प्रयास गर्ने बताए ।

दुई चरणको खेल हेर्दा काठमाडौं टोखाआसपासका खेलाडीहरू समेटेर तयार भएको प्रभातफेरी र रूपन्देहीको झरनाको प्रदर्शन कमजोर देखिएको छ । उपाधि दाबेदार मानिएका टोलीसँग उनीहरूले खेल्न बाँकी नै छ ।

राइजिङ निरन्तर, लयमा स्काई

धरानको राइजिङ क्लबले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा लगातार दोस्रो जित निकाल्यो । उद्घाटन खेलमा स्काइ गोल्समाथि जित रचेको राइजिङले सोमबार प्रभातफेरीलाई सहजै हरायो । पहिलो हाफ राइजिङले एकपक्षीय खेल प्रदर्शन गर्‍यो । रेवस मास्केले एक मिनेटभित्र दुई गोल गरेपछि तेस्रो मिनेटमा अग्रता बनाएको राइजिङले पहिलो हाफमा ५–१ को अगाडि रह्यो । दोस्रो हाफमा प्रभातफेरीले सुधारिएको प्रदर्शन गर्दा राइजिङ भने केही ढुक्क देखियो । प्रभातफेरीले ५ गोल थप्दा राइजिङले पनि ६ गोल थप्यो । प्रतियोगितामा धेरै गोल भएको खेल यही हो । खेलमा १७ गोल सम्भव भयो ।

राइजिङका रेवस र बिकु तामाङले ह्याट्रिक पूरा गरे । मिलन राईले २ गोल गरे । मिलन लिम्बु, दोर्जे तामाङ र सुदीप गुरुङले १–१ गोल गरे । प्रभातफेरीका धिरज श्रेष्ठले २ गोल गरे । धिरज जोशी, राज पौडेल, सिजन गुरुङ र सृजेश पुरीले १–१ गोल गरे ।

राइजिङका प्रशिक्षक युवेन्द्र गुरुङले आफ्ना युवा खेलाडीको प्रदर्शनबाट सन्तुष्ट हुँदै निरन्तरताको अपेक्षा गरे । ‘हामी कति उत्साही छौं भनेर शब्दमा व्यक्त गर्न सकिरहेको छैन । यो जितले खेलाडीमा जोस अझै बढेको छ । मैले भन्दै आएको छु हामी एउटा राइजिङ टिम हो । म्याटको अनुभव नभएका युवा खेलाडीको एउटा टिम छ,’ उनले थपे, ‘यही जोस कायम राखेर हामी अघि बढ्नेछौं भन्ने लागेको छ ।’

पहिलो खेलमा स्काइ गोल्सलाई भन्दा प्रभातफेरीलाई हराउन सहज भएको गुरुङको अनुभव रह्यो । ‘हरेक खेलमा विपक्षी टिम हामीभन्दा बलियो छ भन्ने सोचेर नै फिल्डमा जाने हो । हामीले अहिलेसम्म शतप्रतिशत खेल्न सकेका छौं । त्यसलाई कायम राख्ने प्रयास गर्नेछौं । किनभने अझै बलिया टोलीसँग खेल्न बाँकी छ,’ उनले थपे, ‘विपक्षीको खेलशैली र फिल्डमा उनीहरूको रणनीति बुझ्न सक्यो भने मेरा खेलाडीले सबैलाई टक्कर दिन सक्छन् भन्ने विश्वास पलाएको छ ।’

दोस्रो खेलमा झरनामाथि ८–० को जित निकाल्दै स्काइ गोल्स लयमा फर्किएको हो । वाग्मती प्रदेश छनोटमा सेमिफाइनलसम्म पुगेको स्काइले आफूलाई शीर्ष चारभित्र पार्ने लक्ष्य राखेको थियो । पहिलो खेलमै पराजित हुनु टोलीका दुर्भाग्य रह्यो । सुधारिएको प्रदर्शन गरी स्काइले झरनामाथि एकपक्षीय खेल प्रदर्शन गर्न सक्यो ।

प्रशिक्षक रमेश सिन्केमान चाहिँ जितका बाबजुद आफ्नो टोलीको प्रदर्शनबाट सन्तुष्ट छैनन् । ‘हामीलाई ३ अंक एकदमै महत्त्वपूर्ण थियो र त्यो पायौं । अझै हाम्रो टिममा खेलाडीबीच तालमेल र एकअर्कालाई बुझ्ने शैलीमा एकरुपता आएको छैन । सबैको गोल गर्ने ध्यान देखेको छु, त्यसैले उनीहरू स्वार्थी भएका छन्,’ उनले भने, ‘हामीलाई दुई दिन आराम छ । यो समयमा कमजोरी सुधारको प्रयास हुनेछ ।’

स्काइका कप्तान निर्मल गुरुङ र प्रकाश महताराले २–२ गोल गरे । स्काइले पहिलो हाफमै ६–० को अग्रता लिएको थियो । अनिल खड्का, आशिष सुनाम, सन्जोग चाम्लिङ र रोशन अधिकारीले १–१ गोल गरेका थिए ।

प्रकाशित : आश्विन ५, २०७८ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?