१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

३२ वर्षपछि हङकङसँग खेल्दै महिला फुटबल टोली

राजु घिसिङ

काठमाडौँ — नेपाली राष्ट्रिय महिला फुटबल टिमले सन् १९८६ मा हङकङमा भएको एफसी वुमेन्स च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । पहिलो खेल थियो हङकङविरुद्ध । जहाँ नेपाली टिम १–० ले हारेको थियो । सन् १९८९ को च्याम्पियनसिपमा हङकङले नेपाललाई ३–० ले हरायो । यी दुई टिम ३२ वर्षपछि मंगलबार उज्वेकिस्तानको तास्केन्दस्थित जेएआर रंगशालामा प्रतिस्पर्धा गर्दैछन् ।

३२ वर्षपछि हङकङसँग खेल्दै महिला फुटबल टोली

नेपाली महिला टिमले तीनपल्ट (सन् १९८६, १९८९ र १९९९) एसियन च्याम्पियनसिप खेलेको थियो । त्यसबेला छनोट खेल्नुपर्ने व्यवस्था थिएन, सिधै च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान थियो । पछिल्लोपल्ट एसियन च्याम्पियनसिप खेलेको ११ वर्षपछि नेपाली टिम अन्तर्राष्ट्रिय फुटबलमा फर्कियो ११ औं दक्षिण एसियाली खेलकुद (साग २०१०) बाट । एसियन कपमा छनोट खेल्ने व्यवस्था ल्याइएपछि यसपालि नेपाल महादेशीय च्याम्पियनसिपमा फर्कियो । यसै अवसरमा नेपालले हङकङविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

उज्वेकिस्तान जानुअघि नेपाली टिमले अस्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्सको नेतृत्वमा २२ वर्षपछि महिला फुटबलमा एसियाकै सर्वोच्च प्रतियोगिता ‘एएफसी वुमेन्स एसियन कप’ खेल्ने लक्ष्य राखेको थियो । तर, पहिलो खेलमै शनिबार फिलिपिन्ससँग हारेपछि लक्ष्यमा पुग्न नेपाललाई कठिन भएको छ । विमला चौधरीको गोलमा दसौं मिनेटमै अग्रता लिएर पनि नेपाली टिम अन्त्यतिर सम्हालिन नसक्दा २–१ ले हारेको थियो । फिफा वरीयतामा ३३ स्थानमाथिको प्रतिस्पर्धीले ९० र इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरेको थियो । त्यसैले नेपाली टिम जापानको पहिलो श्रेणीको महिला लिगमा आवद्ध दुई फिलिपिनो खेलाडी अनुपस्थितिको फाइदा लिँदै अंक जोड्न चुक्यो ।

गोलकर्ता विमलाले पहिलो हाफ र डिफेन्डर पूजा रानाले दोस्रो हाफमा चोटका कारण मैदान छाड्न बाध्य भएपछि नेपाली टिम समस्यामा परेको थियो । दोस्रो हाफमा नेपाली खेलाडीहरू थाकेजस्तो देखिए । त्यसैले एसियन कप २०१८ मा छैटौं स्थानमा रहेको फिलिपिन्सको पुनरागमन जित सम्भव बनाइदियो । फिलिपिन्सको लक्ष्य आउने जनवरी–फेब्रुअरीमा हुने एसियन कप खेल्नेमात्रै होइन, सन् २०२३ को विश्वकपमै छनोट हुने हो । त्यसैले फिलिपिन्सविरुद्ध नेपाललाई गाह्रो हुने अनुमान गरिएकै थियो ।

चोटकै कारण गुमाएकी ‘गोल मेसिन’ सावित्रा भण्डारीको अभाव छनोटको पहिलो खेलमा देखिएको थियो । उनको अनुपस्थितिमा दशरथ रंगशालामा अघिल्लो साता भएका दुई मैत्रीपूर्ण खेलमा नेपालको अग्रपंक्ति निकै फितलो साबित भएको थिया । बंगलादेशविरुद्ध अपराजित यात्रा कायमै राखे पनि नेपालले पहिलो खेलमा २–१ को संघर्षपूर्ण जित हात पारेको थियो भने दोस्रो खेल गोलरहित टुंग्याएको थियो । तैपनि नेपाली टिमले फिलिपिन्सविरुद्ध गरेको प्रदर्शनको आधारमा मंगलबार हङकङविरुद्ध राम्रो नतिजा अपेक्षा गर्नसक्ने ठाउँ दिएको छ । तीन देश समावेश छनोटको समूह ‘एफ’ मा हङकङ पहिलोपल्ट मैदानमा उत्रन लागेको हो । त्यसैले नेपाली टिमलाई फिलिपिन्सविरुद्ध त्यही मैदानमा खेलेको अनुभवको पनि फाइदा हुनसक्छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्राविधिक निर्देशकसमेत रहेका प्रशिक्षक फिलिप्सले भने, ‘फिलिपिन्ससँगको रिजल्टले खेलाडीहरू निरास छन् । तर, त्यसले अर्को खेलका लागि कन्फिडेन्स भने बढाएको छ ।’ नेपाली महिला टिमका पहिलो विदेशी प्रशिक्षकले थपे, ‘फिलिपिन्ससँगको कठिन खेलपछि हङकङविरुद्ध खेल्दैछौं । यसमा दबाब हङकङलाई हुनेछ । हामी पहिलो खेलबाट रिकोभर भएर हङकङविरुद्ध खेल्न तयार छौं । हामीसँग साम्बा (सावित्रा) को स्तरका खेलाडी छैन । केही खेलाडीलाई चोटले सताएको छ । तर, हामीले राम्रो नतिजा अपेक्षा गरेका छौं ।’

राइटब्याक पूजा हङकङसँग खेल्न नसक्ने उनले बताए । फिलिपिन्सविरुद्ध उनलाई चोट लागेपछि दोस्रो हाफमा विमला बिकलाई अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गराइएको थियो । त्यसैले हङकङविरुद्ध पूजाको स्थान विमलाले लिन सक्छन् । अहिलेको नेपाली टिमको सबैभन्दा बलियो पक्ष नै अनुभवी डिफेन्सलाइन हो । यसमा पूजाको अनुपस्थितिले समस्या हुनसक्छ । फरवार्ड विमला चौधरी भने चोटमुक्त भएर मैदानमा फर्किने उनले बताए । त्यसैले हङकङविरुद्ध पहिलो रोजाइमा फिलिपिन्ससँग खेलेकै खेलाडीको बाहुल्य हुने निश्चित छ । फिलिप्सले फिलिपिन्सविरुद्धकै ट्याक्टिसलाई निरन्तरता दिने पनि बताए ।

चौधपल्ट एसियन कप खेलिसकेको हङकङ फिफा वरीयताको ७६ औं स्थानमा छ भने नेपाल १०१ औंमा । हङकङले पछिल्लोपल्ट २००३ (थाइल्यान्ड) मा एसियन कपको फाइनल चरणमा प्रतिस्पर्धा गरेको थियो । हङकङ एसियाली खेलकुदमा सन् २०१४ (इन्चोन) र २०१८ (जाकर्ता–पालेम्बाङ) मा क्वाटरफाइनल पुगेको थियो । यसबाट हङकङको महिला टिमले फेरि बलियो रूप लिइरहेको देखाउँछ । त्यसैले हङकङविरुद्ध तास्केन्दमा ३ अंक जोड्न नेपाललाई सजिलो हुने छैन । फिफा वरीयताले टिमको स्तरको सही मापन पनि गर्दैन । त्यसैले प्रशिक्षक फिलिप्सले भनेजस्तै फुटबलमा जे पनि हुनसक्छ ।

फिलिपिन्सविरुद्ध पराजित भएकाले हङकङविरुद्धको जितले मात्रै एसियन कप खेल्ने नेपालको सम्भावना कायम राख्नेछ । यस्तो परिस्थितिमा समूहका तीनै टिमले बराबरी अंक बनाएको अवस्थामा नेपाल शीर्षस्थानमा रहन सक्छ । बराबरी वा हारको नतिजाले नेपालको यात्रा छनोटमै अन्त्य गर्नेछ । हङकङको भने सबै नतिजामा एसियन कप खेल्ने सम्भावना खुला हुनेछ । किनभने टोलीले अन्तिम खेलमा ३ अंक जोडिसकेको फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टिम एसियन कप २०२२ मा छनोट हुनेछ ।

आजको खेल : हङकङविरुद्ध नेपाल, १५:४५ बजे, जेएआर रंगशाला, (तास्केन्द)

प्रकाशित : आश्विन ५, २०७८ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?