‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : दबाबमा ढुकु, शंखमूललाई झट्का
पोखरा — पोखरा कभर्डहलमा घरेलु टोली सविन मेमोरियलको खेल हेर्न सयौं संख्यामा समर्थक उपस्थित थिए । इन्डोर हलमा सयौं व्यक्ति एकैपल्ट कराउँदा दबाबमा परको ढुकु फुटसलले सुरुमै गोल खान पुग्यो । राष्ट्रिय फुटसल लिगको उपाधि दाबेदार टोलीले आफूलाई सम्हाल्दै खेलमा फर्कियो ।
ढुकुले खेल ८–६ गोलले जित्दै आफ्नो सुरुआत स्मरणीय बनायो । ढुकुका अभय राणा, विक्रान्त नरसिंह राणा र उर्केन शेर्पाले २–२ गोल गरे । पेम्बा नोर्बु लामा र अमित लामाले १–१ गोल गरे ।
ढुकुका प्रशिक्षक राज महर्जनले आफ्नो टोली खेल सुरु भएदेखि अन्तिमसम्म दबाबमा रहेको स्वीकारे । ‘फुटसलमा गोल खानु र गर्नु ठूलो कुरा रहेन । तर, हामीलाई धैरै दबाब भयो । पोखराको घरेलु टोली र समर्थकसामु हामीले सुरुदेखि अन्तिमसम्म दबाबमै खेल्यौं । सुरुमै गोल खानुपर्यो । अग्रता लिएपछि पनि हामी दबाबमै खेल्यौं,’ उनले थपे, ‘हामीले अहिलेसम्म यो टिमसँग खेलेका थिएनौं । यो टोली मैले सोचेभन्दा धेरै अब्बल र राम्रो रहेछ ।’
आठौं मिनेटमै गोल गरी अग्रता बनाएपछि सविन मेमोरियलका खेलाडी सुनील बिकले ढुकुको प्लेयर बक्समा पुगेर खुसीयाली मनाइदिए । त्यहाँदेखि माहोल बिग्रियो । १८ औं मिनेटमा बराबरी गोल फर्काएका उर्केन शेर्पाले विपक्षी प्लेयर बक्समा गएर खुसी मनाइदिए । त्यसपछि खेलको माहोल गर्माएको थियो । घरेलु समर्थकले बोतल हान्न थाले । तर, खेल नै स्थगित गर्नुपर्ने अवस्था भने आएन ।
ढुकुका प्रशिक्षक महर्जनले यस्ता कुरा दोहोरिन नहुने बताए । सविन मेमोरियलका प्रशिक्षक राजेन्द्र तामाङले चाहिँ आफ्नो खेलाडीको गल्ती स्वीकार गरे । ‘खासमा ढुकुको प्लेयर बक्सपछाडि बसेर सविन मेमोरियलको व्यवस्थापन टिम खेल हेरिरहेको थियो । मेरो खेलाडी उनीहरूसँग खुसी मनाउन त्यहाँ पुगेका थिए । विपक्षी बक्सनजिक जानु हुँदैन भन्ने कुरा मेरो खेलाडीले पनि बुझेन । विपक्षी खेलाडी पनि गोल फर्काएपछि हाम्रो बक्स नजिकै आइदियो । त्यसपछि घरेलु दर्शक केही रुष्ट बनेका हुन्,’ उनले भने । सुनीलसहित सविन मेमोरियलका लागि अविनाश तामाङ र मनिष क्षेत्रीले २–२ गोल गरे । सरोज तामाङले १ गोल गरे ।
बराबरीमा रोकियो शंखमूल
प्रतियोगितामा उपाधि दावेदार शंखमूल फुटसलले बराबरी नतिजाबाट प्रतियोगिता सुरु गरेको छ । आइतबार २–० को अग्रता बनाएर पनि जोगाउन नसक्दा शंखमूलका खेलाडी निरास देखिन्थे । तर, पूर्वको छनोट प्रतियोगिता जितेर आएको भए पनि काठमाडौंकै खेलाडीहरू समेटिएको टोली फुटसल फाइभ भने बलियो टोलीसँग अंक खोस्न पाएकोमा दंग थियो । प्रतियोगिताको पहिलो रातो कार्ड फुटसल फाइभका गोलरक्षक धिरज तामाङले पाए । ३२ औं मिनेटमा बक्सबाहिर हातले बल छोएपछि उनलाई रातो कार्ड दिइएको हो ।
शंखमूल र फुटसल फाइभबीचको खेल केही तनावपूर्ण रह्यो । यो खेलमा दुवै टिमका ५ खेलाडीले पहेँलो कार्ड पाए । प्रतियोगितामा दुई खेलमा पहेँलो कार्ड पाउनेले अर्को खेल गुमाउने नियम छ । शंखमूलका प्रशिक्षक प्रकाश परियारले फुटसल फाइभजस्तो टोलीसँग अंक जोगाउन पाउनु आफूहरूका लागि फाइदा भएको टिप्पणी गरे । ‘फुटसल फाइभ धेरै नै बलियो टोली हो । उनीहरूसँग अंक जोगाउनु हाम्रा लागि फाइदाजनक छ । जित भएको भए त धेरै नै राम्रो हुन्थ्यो,’ उनले थपे, ‘सबै टोलीले पहिलो खेल खेलेका छन् । अब अरूको खेल हेरेर हामीले रणनीति बनाउने हो । फुटसल फाइभको खेल हेर्न पाएका थिएनौं । अरू टिमको खेल हेरेका छौं । बाँकी खेल त्यहीअनुसार खेल्नेछौं ।’
फुटसल फाइभका प्रशिक्षक विश्वास लामाले आफ्नो टिमको प्रशंसा गरे । रातो कार्ड पाउनु, सुरुमै गोल खाएर पछि पर्दा पनि खेलाडीले बहादुरीपूर्ण प्रदर्शन गरी खेलमा पुनरागमन गरेकाले उनी सन्तुष्ट देखिए । ‘गोल खाएर पछि परिसकेपछि फर्कनु धेरै कठिन हुन्छ । सुरुमा केही समयमै खेलाडी थाके । पछि आराम दिँदै, सब्स्टिच्युट गर्दै लयमा ल्याउन सक्यौं । खेलाडीले शतप्रतिशत प्रदर्शन गरे । उनीहरूको यो प्रदर्शनबाट धेरै खुसी छु । हामी लामो समयदेखि एउटै टोलीबाट खेलिरहेको भएर सन्तुलित टोली छ,’ उनले भने । शंखमूलका सुशान श्रेष्ठ, कृजल खड्का र लक्ष्मण थापामगरले गोल गरे भने फुटसल फाइभबाट विजय श्रेष्ठ, सरोज तामाङ र प्रवेश जोशीले गोल गरे ।
बुटवल डर्बीमा लुम्बिनी सफल
आइतबार पहिलो खेलमा बुटवलका दुई क्लब आमनेसामने हुँदा लुम्बिनी फुटसलले झरना स्पोर्टसलाई ६–२ गोलले पराजित गरेको छ । लुम्बिनीका रुपेन बराइलीले दुई तथा कप्तान अञ्जन थापा, रफी महर्जन, गेली शेर्पा र रोजल दाहालले १–१ गोल गरे । झरनाका अमित गुरुङ र मोहनबहादुर थापामगरले गोल गरे ।
लुम्बिनीका प्रशिक्षक प्रज्वल श्रेष्ठले जितपछि बाँकी खेलहरूमा राम्रो प्रदर्शनका लागि दबाब बढेको बताए । ‘झरनासँग यसअघि नै खेलिसकेको हुनाले हामी आत्मविश्वासी थियौं । तर म्याटमा पहिलोपल्ट खेलेका हुनाले केही डर थियो । खेलाडीहरूले सन्तुलित प्रदर्शन गरे । हामीले आज रणनीतिअनुसार नै खेल्न सक्यौं,’ उनले थपे, ‘हामीले अर्को खेल पोखराकै टोलीसँग खेल्नुपर्नेछ । कमजोरीहरू भएका छन्, सुधार गर्नुपर्नेछ । यो जितले टिममा एउटा सकारात्मक सन्देश गएको छ । विपक्षीलाई दबाब दिनेगरी खेल्नेछौं ।’
झरनाका प्रशिक्षक निर्मल थापाले भने आफ्नो टिमको तयारी कम रहेको र बुटवलमा टर्फमा प्रशिक्षण गरेर यहाँ म्याटमा खेल्नुपर्दा कठिन भएको बताए । उनी आफ्ना खेलाडीको प्रदर्शनबाट भने सन्तुष्ट थिए । प्रदेश २ को छनोटमा कुनै पनि टोली सहभागी नभएपछि झरनाले अन्तिम समयमा अवसर पाएको हो ।
‘खेलमा हारजित हुन्छ । प्रतियोगितामा सहभागी हुनु भनेर हामीले ढिलामात्र खबर पायौं । टिम तयार गर्न समय लाग्यो,’ प्रशिक्षक थापाले भने, ‘हाम्रा सबै खेलाडी फुटबल पृष्ठभूमिका छन् । फुटबल र फुटसल खेल्न गाह्रो नै हुन्छ । यो म्याट त हामीले यहीं आएर छोएको हो ।’ उनले अर्को खेलदेखि कमजोरी सुधार गरी अगाडि बढनुपर्ने बताए ।
प्रकाशित : आश्विन ४, २०७८ ०६:४२