म्याटको पहिलो अनुभव

कुशल तिमल्सिना

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पोखरा रंगशालास्थित कभर्डहलमा जारी ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको पहिलो चरणका खेल सकिएका छन् । पहिलो चरणका खेल सहभागी १० टोलीका लागि नयाँ अनुभव थियो । वास्तविक फुटसल मैदानदेखि नियमहरूमा बाँधिएर खेल्नुपर्दा खेलाडीहरू अन्यौलमा परेका थिए । प्रशिक्षक, रेफ्री, स्वयं आयोजकलाई पनि यो नयाँ अभ्यास थियो । 

म्याटको पहिलो अनुभव

एन्फाले पहिलोपल्ट अन्तर्राष्ट्रिय नियमको अधिनमा रहेर प्रतियोगिता गरेको हो । ४२ गुण २५ मिटरको आधिकारिक म्याट फिल्डमा पहिलोपल्ट आधिकारिक प्रतियोगिता भइरहेको छ । फाउल, ब्याकपास, पहेँलो कार्ड, रातो कार्डलगायतका नियमबारे खेलाडी नै अनभिज्ञ थिए । एन्फाले चैत १ देखि वैशाख ५ सम्म गरेको प्रादेशिक छनोट प्रतियोगिता पनि आर्टिफिसियल टर्फ (कृत्रिम घाँसे मैदान) मा गरेको थियो ।

पहिलो चरणका पाँच खेल सकिँदा सबै टोलीका प्रशिक्षकले नयाँ अनुभवका कारण वास्तविक खेल देखाउन नपाएको प्रस्टीकरण दिए । दुईपल्ट मिति तोकेर पनि कोरोना महामारीका कारण सारिएको प्रतियोगिताका लागि टोलीहरूले सकेसम्म सुहाउँदो मैदानमा प्रशिक्षण गरिरहेका थिए । तर, वास्तविक फुटसललाई आवश्यक आकारको मैदान नेपालमै थिएन । प्रशिक्षकहरूको साझा मत के छ भने, ‘सानो मैदानमा प्रशिक्षण गरेर ठूलो फिल्डमा खेल्नुपर्दा हाम्रा खेलाडीहरू चाँडै थकित भए ।’

शंखमूल र ढुकु क्लब घरेलु फुटसलका महारथी क्लब हुन् । काठमाडौं केन्द्रित नेपाली फुटसलमा यसअघि भएका राष्ट्रियस्तरका प्रतियोगितामा यी दुईमध्ये एक टोली फाइनल पुगेकै छ । उपाधि जितेकै छ । आइतबार यी क्लबहरूलाई समेत यो म्याट फिल्डमा खेल्न कठिन भइरहेको थियो । जबकि ती क्लबमा राष्ट्रिय टोलीमा रहेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी पनि छन् । नेपाल फुटसल व्यवसायी संघका अध्यक्ष तथा ढुकु फुटसलका प्रशिक्षक राज महर्जन ती सबै प्रशिक्षकमध्येका एक हुन्, जसले म्याटका कारण आफ्ना खेलाडीले शतप्रतिशत प्रदर्शन गर्न नसकेको स्वीकारे । उनले म्याटबारे गुनासो गरेनन् ।

‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेलाइएको यो म्याट ठिक छ । पहिलोपल्ट खेलेपछि जसलाई पनि गाह्रो त भइहाल्छ । हाम्रा १–२ खेलाडीहरू म्याटमा खेल्नै नसकेको पनि पाएँ,’ उनले कान्तिपुरसँग भने, ‘आजको खेलले हामीलाई धेरै सिकाएको छ । सायद आगामी खेल सहज हुनेछन् ।’

ढुकुसँग ८–६ गोल अन्तरले पराजित घरेलु टोली सविन मेमोरियलका प्रशिक्षक राजेन्द्र तामाङले यसअघि कहिल्यै म्याटमा नखेलेको हुनाले यसको प्रकृतिअनुसार आफूलाई रूपान्तरित गर्नु अनिवार्य हुने बताए । उनले आफ्ना खेलाडीहरू फुटसलको वास्तविक नियमबारे जानकार नहुँदा पहिलो खेलमा अनावश्यक झन्झट बेहोर्नुपरेको बताए । ढुकुसँगको खेलमा सविन मेमोरियलले एक हाफमा ५ भन्दा बढी फाउल गरेका कारण तीनपल्ट पेनाल्टी बेहोर्नुपरेको थियो ।

‘समस्या के भने हाम्रा खेलाडीमा अनुभवको कमी भयो र फिल्डभित्र नेतृत्व लिने खेलाडीको अभाव देखियो,’ एन्फा कास्कीका ग्रासरुट फुटबल प्रशिक्षक रहेका तामाङले भने, ‘हाम्रा खेलाडीलाई फुटसल नियमबारे पनि राम्रोसँग जानकारी भएन । हामी सबै अहिलेमात्र बुझ्दै छौं । पाँच फाउल भइसकेपछि हामीले आफूलाई सम्हाल्न सक्नुपर्थ्यो । खेलाडीहरू उही मानसिकतामा खेलेपछि तीन पेनाल्टी बेहोर्नुपर्‍यो ।’

यसअघिका दुई राष्ट्रिय प्रतियोगिताको उपाधि विजेता शंखमूल फुटसल क्लब आइतबार फुटसल फाइभसँग २–० को अग्रता लिएर ३–३ को बराबरीमा रोकियो । टोलीका प्रशिक्षक प्रकाश परियारले ठूलो फिल्डमा खेल्दा खेलाडीबीच तालमेल नमिलेको र चाँडै थाकेको स्वीकारे ।

‘फुटबल इन्टेन्सिटी खेल हो । कुन बेला के हुन्छ भन्न सकिन्न । कसको कहाँनेर मिस्टेक हुन्छ त्यहीं खेल्ने हो । ठूलो मैदान र म्याटमा पहिलोपल्ट खेल्दैछौं । हरेक कुरा मिल्न बाँकी छ,’ परियारले थपे, ‘हामीले म्याटमा तयारी गरे पनि त्यो वास्तविक फुटसल थिएन । मैदान सानो थियो । इन्डोर हलभित्रको वातावरणले पनि खेलमा फरक पार्छ । खेलाडीहरू चाँडै थाके ।’

पोखरा आएपछि मात्रै म्याट देख्न पाएको धराने क्लब राइजिङ युथले शनिबार काठमाडौंको स्काइ गोल्सलाई ५–४ ले हराएर सनसनी मच्चाएको थियो । वास्तविक म्याटमा प्रशिक्षण गर्न नपाएको राइजिङ र झरना क्लबमात्र थिए । तर पोखरामा दुई दिन चार घण्टा म्याटमा प्रशिक्षण गरेको राइजिङका खेलाडीको टिमवर्क लोभलाग्दो थियो । प्रशिक्षक युवेन्द्र गुरुङ टोलीले विपक्षीलाई दबाबमा राख्दै खेल जितेकामा उत्साही थिए ।

प्रकाशित : आश्विन ४, २०७८ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?