२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रशिक्षक ह्वाटमोरलाई जित उपहार

काठमाडौँ — नेपालले आइतबार ओमानमाथि प्राप्त गरेको जित धेरैपछिसम्म पनि सम्झनलायक रहनेछ । नेपालको एकदिवसीय क्रिकेट इतिहास धेरै लामो छैन । तर यो ७ विकेटको यस्तो जित रह्यो, जसलाई अहिलेसम्मकै सबैभन्दा प्रभावशाली मान्न सकिन्छ । 

प्रशिक्षक ह्वाटमोरलाई जित उपहार

नेपालको बल र ब्याट दुवै चल्यो । यो भयो मैदानी खेल । भावनात्मक रूपमा यो नेपाली टिमका प्रशिक्षक डेव ह्वाटमोरका लागि बिदाइको जित उपहार पनि हो । ह्वाटमोरले बीचमै नेपाली टिमको जिम्मेवारी छाडेर बैगुन लगाए, तिनै प्रशिक्षकलाई नेपालले सुखद बिदाइ दियो ।

पहिले नै तय भइसकेको थियो, आईसीसी विश्व क्रिकेट लिग २ को त्रिकोणात्मक शृंखलापछि नेपालीसँग प्रशिक्षक ह्वाटमोर रहने छैनन् । उनले भ्रमणका लागि नेपाली टिम निस्केलगत्तै यो नै अन्तिम शृंखला हुने बताइसकेका थिए । ओमानविरुद्धको यो खेलमा प्राप्त यो जितपछि उनलाई पनि सम्भवतः आफ्नो निर्णयमा पछुतो हुनेछ, नेपालजस्तो उदीयमान टिम छाड्नुपरेकोमा । यी त भए, भावनात्मक कुरा । तर मैदानमा नेपालको प्रदर्शन वास्तवमै यस्तै थियो, धेरै अर्थमा उत्कृष्ट ।

अमेरिकाविरुद्धको पछिल्लो खेलमा बिर्सनलायक हार बेहोरेपछि नेपालले ओमानसँग पनि राम्रो खेल्न नसक्ने अनुमान थियो । तर, ती सबै अड्कल गलत साबित गर्दै नेपालले पहिलो बलदेखि खेल नियन्त्रणमा लिएको थियो ।

खेल जितेपछि क्रिजबाट बाहिरिँदै कप्तान ज्ञानेन्द्र र शरद ।

नेपालले टस जितेर पहिले फिल्डिङको निर्णय गरेको थियो । यो अत्यन्त सही साबित भयो । प्रतियोगिताका सात टिममध्ये मज्जाले शीर्षस्थानमा रहेको ओमानी टिम नेपाली बलिङसामु तासको पत्ताझैं ढलेको थियो । मस्कटस्थित अल एमेरातमा भएको खेलमा नेपालको धारिलो र सुझबुझपूर्ण बलिङअगाडि ओमान ३७.१ ओभरमात्र टिक्न सक्यो । टोलीले जम्माजम्मी १ सय २१ रनमात्र बनाएको थियो ।

नेपालका करण केसीले सुरुआती तीन विकेट लिएपछि ओमान दबाबमा आइसकेको थियो । त्यो दबाबलाई अझ बढाउने काम सन्दीप लामिछानेले गरे । करणले यसअघिको खेलमा शतक बनाएका जतिन्दर सिंहलाई १३ रनमै आउट पारे । लगत्तै सुफयान मेहमुद र आयान खान पनि आउट भए । यस्तोमा ओमानले ३० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । सन्दीपले त्यसपछि मोहम्मद नदिमको विकेट लिए । तिनै सन्दीपले सुरज कुमार र नेस्टर धाम्बाको विकेट पनि लिए । यस्तोमा ओमान ६ विकेट गुमाई ४३ रनको कमजोर स्थितिमा पुगेको थियो ।

शृंखलामा पहिलोपल्ट अवसर पाएका शरद भेषवाकर पनि कम्तीका रहेनन् । उनले सन्दीप गाउड र नसिम खुसीको विकेट लिए । यसरी करण र सन्दीपले समान चार विकेट लिए भने शरदको नाममा दुई विकेट रह्यो । ओमानका कप्तान जिसन मक्सुद एक्लैले ४१ रन बनाए ।

झिनो लक्ष्यअगाडि नेपालले पनि जितसम्म पुग्न हतारो देखायो । १८.२ ओभरमै तीन विकेट गुमाएर १ सय २२ रन बनायो । आसिफ शेखले ४० र कप्तान ज्ञानेन्द्र मल्लले ५२ रन बनाए । ज्ञानेन्द्रले आफ्नो खेलजीवनको चौथो र लगातार दोस्रो अर्धशतक सानका साथ पूरा गरे । उनीहरूले दोस्रो विकेटमा ९५ रनको ठोस साझेदारी गरे । यो नेपालको एकदिवसीय इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो कीर्तिमान साझेदारी हो । आसिफले ४४ बलमा ७ चौका प्रहार गरे ।

ज्ञानेन्द्रले भने ४६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । उनी नटआउट रहे । नेपालले आसिफलाई गुमाउँदा जित लगभग तय भइसककेको थियो । नेपालले ओमानलाई हराएको आठ वर्षयता यो पहिलोपल्ट हो । बर्मुडामा नेपालले ओमानलाई पछिल्लो पटक सन् २०१३ को आईसीसी विश्व क्रिकेट लिग–३ मा हराएको थियो ।

आइतबारको जितपछि नेपाल अंकतालिकाको चौथो स्थानमा पनि उक्लेको छ । नेपालको ८ अंक भएको छ । समान ८ अंकमा रहेको नामिबिया रनरेटका कारण नेपालभन्दा पछाडि परेको हो । ओमान २०अंकसहित शीर्षस्थानमा रहँदा अमेरिका (१४) र स्कटल्यान्ड (९) क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रकाशित : आश्विन ४, २०७८ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?