कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : बुटवल डर्बीमा लुम्बिनी विजयी

काठमाडौँ — पोखरामा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिगको दोस्रो दिन आइतबार रुपन्देहीका दुई क्लबबीचको प्रतिस्पर्धामा लुम्बिनी फुटसल विजयी भएको छ ।

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : बुटवल डर्बीमा लुम्बिनी विजयी

पोखरा रंगशालास्थित कभर्डहलमा भएको दिनको पहिलो खेलमा लुम्बिनीले झरना स्पोर्ट्सलाई ६–२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको सुरुआतदेखि नै प्रभाव कायम गरेको लुम्बिनीले पाँचौं मिनेटमा कप्तान फिक्सो अन्जन थापाको गोलमार्फत अग्रता बनाएको थियो । त्यसको अर्को मिनेटमै फिक्सो रफी महर्जनले गोल गरी पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा लुम्बिनीले ४ गोल थप्यो । दोस्रो हाफको पहिलो मिनेटमै अला रुपेन बराइलीले गोल गरी ३–० को अग्रता बनाए ।

२७ औं मिनेटमा झरनाका पिभोट मोहनबहादुर थापामगरले टिमका लागि पहिलो गोल गरे । तर ३१ औं मिनेटमा गेली शेर्पाले गोल गरेपछि लुम्बिनीले ४–१ को अग्रता लियो ।

३४औं मिनेटमा लुम्बिनीका अला रोजल दाहाल र ३६ औं मिनेटमा झरनाका पिभोट अमित गुरुङले गोल गरेपछि खेल ५–२ को स्थितिमा पुग्यो । रुपेनले व्यक्तिगत दोस्रो गोलका रुपमा ३८ औं मिनेटमा निर्णायक गोल गरे ।

आजै अन्य खेलहरुमा धरानको फुटसल फाइभ र काठमाडौंको शंखमूलबीच प्रतिस्पर्धा भइरहेको छ भने अन्तिम खेलमा काठमाडौंको ढुकु फुटसल र पोखराको सवीन मेमोरियलबीच खेल हुनेछ । आजको खेलसँगै लिगको पहिलो चरणका खेलहरु समाप्त हुनेछन् ।

प्रकाशित : आश्विन ३, २०७८ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?