कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

एन्फालाई वाग्मती प्रदेशबाट एक करोड

मकवानपुर — वाग्मती प्रदेश सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई चालु आर्थिक वर्ष २०७८/०७९ मा दुई प्रतियोगिताका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले एन्फालाई सहिद स्मारक ‘ए’ डिभिजन लिग र प्रदेश लिग आयोजनाका लागि १ करोड उपलब्ध गराउने भएको हो । 

एन्फालाई वाग्मती प्रदेशबाट एक करोड

‘ए’ डिभिजन लिग कात्तिक २९ देखि काठमाडौंमा हुँदै छ । प्रदेश लिगको मिति भने तोकिएको छैन । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीको उपस्थितिमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एन्फालाई पहिलो चरणमा ५० लाख रुपैयाँ उपलब्ध गराइने छ । उक्त रकम ‘ए’ लिगको हरेक खेलमा जित हासिल गर्ने टिमलाई ‘म्याच मनी’ स्वरूप ५० हजार रुपैयाँका दरले प्रदान गरिनेछ । खेल बराबरी भए उक्त रकम आधा बाँडिने सम्झौतामा उल्लेख छ ।

प्रदेशले लिगमा ९१ खेलका लागि ४५ लाख ५० हजार, उदीयमान खेलाडी (राइजिङ प्लेयर) का लागि १ लाख र प्रतियोगितामा अफिसियल खर्चका लागि ३ लाख ५० हजार रुपैयाँ प्रदान गरिने परिषद्का सदस्यसचिव भण्डारीले जानकारी दिए । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस योजना समावेश गरेको थियो । सदस्यसचिव भण्डारीले म्याच मनीका कारण लिगको दौरानमा हुनसक्ने म्याच फिक्सिङ घटना घट्ने दाबी गरे । ‘खेल जित्ने क्लबलाई पहिलोपल्ट खेलैपिच्छे नगद व्यवस्था गरेका छौं । जसले गर्दा खेल भावनाअनुसार खेलाडी र क्लबहरूलाई अगाडि बढ्न पक्कै सहयोग पुग्नेछ,’ उनले भने ।

एन्फा अध्यक्ष शेर्पाले यस सम्झौताले क्लबहरूलाई खेलप्रति अझै लगाव बढ्ने दाबी गरे । ‘प्रत्येक खेलमा पुरस्कार भएपछि प्रतियोगिता झनै प्रतिस्पर्धात्मक हुनेछ । क्लबले पनि खेल जित्नका सोहीअनुसार तयारी र रणनीति गर्नेछ,’ उनले थपे । एन्फासँग सहकार्यमा प्रत्येक वर्ष प्रदेश लिग सञ्चालन गरिनेसमेत सदस्यसचिव भण्डारीले बताए । ‘ए’ डिभिजन लिग र मोफसलको प्रतियोगिता हेरेर हामी प्रदेश लिग मिति तय गर्नेछौं । त्यसका लागि हामीले खेलको ढाँचा र सहभागी टोली कसरी टुंगो लागाउने विषयमा आन्तरिक तयारी गरिरहेका छौं,’ उनले भने । उनले प्रदेश लिगका लागि एन्फाले सम्पूर्ण प्राविधिक सहयोग उपलब्ध गराउने गरी सम्झौता भएको जानकारी दिए ।(


प्रकाशित : आश्विन ३, २०७८ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?