कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘युवासँग प्रशिक्षण गर्दा आत्मविश्वास बढ्दो रहेछ’

काठमाडौँ — ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगका सबैभन्दा पाका खेलाडी हुन्, विजय गुरुङ । पहिलो खेलमा उनले स्पोर्ट्स क्यासलबाट गोल पनि गरे । अला (मिडफिल्डर) पोजिसनका यी भेट्रान खेलाडी सन् २०१७ मा एएफसी कप छनोटलाई तयार गरिएको नेपालको पहिलो राष्ट्रिय फुटसल टिमका सदस्य हुन् । एन्फा एकेडेमीको पहिलो ब्याचका विजय नेपाली फुटसलमा लेफ्ट विंग्स पोजिसनमा खेल्ने सम्भवतः अहिलेसम्मकै उत्कृष्ट खेलाडी हुन् ।

‘युवासँग प्रशिक्षण गर्दा आत्मविश्वास बढ्दो रहेछ’

२०६० सालमा फ्रेन्ड्स क्लबबाट सहिद स्मारक लिगमा डेब्यु गरेका उनकै उत्कृष्ट प्रदर्शनले २०६१ सालमा थ्रीस्टारले लिग जितेको थियो । लामो समय थ्रीस्टारबाट खेलेका विजयले गत वर्ष ए डिभिजन लिग ब्रिगेड ब्वाइजबाट खेले । सन् २००५ मा पाकिस्तानको कराँचीमा भएको साफ च्याम्पियनसिपबाट डेब्यु गरेका विजयले राष्ट्रिय टिमबाट ३७ क्याप जितेका छन् । सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपअघि राष्ट्रिय टोलीमा नपरेपछि उनले संन्यास घोषणा गरेका थिए । विजय खेलाडीकै रुपमा सक्रिय रहने एन्फा एकेडेमीको पहिलो पुस्ताका एकमात्र खेलाडी हुन् । यी भेट्रान खेलाडीसँग उनकै गृहमैदानमा पोखरामा आयोजित राष्ट्रिय फुटसलबारे कान्तिपुरका लागि कुशल तिमल्सिनाले गरेको कुराकानी:

पहिलो दिनको खेल कस्तो भयो ?

खेल एकदमै राम्रो भयो । प्रशिक्षण गरेअनुसार केटाहरूले यहाँ धेरै कुरा प्रयोग गरे । मुख्य कुरा भनेको हामीले धेरै गोल गर्‍यौंभन्दा पनि एउटै गोल खाएनौं । सोचेजस्तै खेल भयो ।

सुरुदेखि स्पोर्ट्स क्यासल नै आक्रामक भयो । घरेलु दर्शकको साथ राम्रो थियो । यो जितले बाँकी खेलमा यस्तै खेल्न कत्तिको दबाब पर्ला ?

आजको खेलबाट हाम्रा विपक्षी टिमहरूले पनि हामी कति बलियो छौं भनेर बुझेका छन् । हामी योभन्दा अझै बलियो र राम्रो भएर आउनेछौं । त्यसले दबाब त खासै छैन । हामीले टर्फमै धेरै खेलेका कारण पहिलोपल्ट यो खेल खेल्दा गाह्रो भएको थियो । हाम्रो उत्कृष्ट खेल त आउन बाँकी नै छ ।

नेपालको पहिलो फुटसल टोलीमा हुनुहुन्थ्यो । त्यतिबेला पनि यस्तै म्याटमा खेल्नुभएको थियो । पाँच वर्षपछि उस्तै फिल्डमा खेल्दा कस्तो महसुस भयो त ?

मलाई उस्तै महसुस भयो । तर लामो समयपछि खेलेका हुनाले गाह्रोचाहिँ भयो । धेरै समयपछि खेल्दा त्यसमा बानी पार्न अझै धेरै खेल खेल्नुपर्छ । हामीले पछिल्लो समय म्याटमा प्रशिक्षण गरिरहेको हुनाले फाइदा नै भयो ।

हाम्रो देशमा वास्तविक फुटसल मैदान एउटै छैन । पूर्वाधार आवश्यक भइसकेको होइन र ?

हाम्रो देशमा फुटसल आएको धेरै वर्ष भए पनि वास्तविक फुटसलका कुरा त भर्खरै सुरु भएका छन् । पहिला कृत्रिम घाँसे मैदान थियो भने अहिले काठको पार्केटिङ वा म्याट हुन्छ । वास्तविक फुटसल सुरु भएको छ । विस्तारै यो खेल माथि आउनेछ । अव भविष्यमा राम्रै होला भन्ने आस गरेको छु ।

फुटबलमा आफ्नो समयको स्टार खेलाडी हुनुहुन्थ्यो । फुटसलमा पनि लामो समय बिताइसक्नुभयो । पोखरामा बसेर स्तरीय फुटसल खेलाडी उत्पादन गर्न के गरिरहनुभएको छ ?

मचाहिँ टिमका युवा खेलाडी भाइलाई सहयोग गर्ने र प्रेरणा दिने काम गरिरहेको छु । आफूले जानेका कुराहरू सिकाइरहेको छु । आफूले सिकाएका कुरा प्रयोग गरेर नै यो खेल हामीले जित्न सकेका हौं ।

यस प्रतियोगिताले पोखरा क्षेत्रमा फुटसलको प्रसार र विकासमा कस्तो सहयोग पुग्ला ?

फुटसलमा अहिले प्रतियोगितामात्र सुरु भएको छ । फुटसलको वास्तविक विकास गर्न खेलाडीको व्यावसायिकता र ग्रासरुट कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्नुपर्छ । अहिले आफ्नै लगावका कारण फुटसल खेलिरहेको देख्छु । यो उनीहरूको मुख्य काममा पर्दैन । खेलाडीहरूले अरू काम गर्न छाडेर फुटसलमात्र खेल्न उनीहरूलाई आर्थिक रूपमा सम्पन्न पार्ने कार्यक्रम चाहिन्छ । व्यावसायिकतामा हामीले ध्यान दिनुपर्छ ।

३६ वर्षको उमेरमा पनि प्रतिस्पर्धात्मक खेल खेल्दा तपाईंले फिटनेसलाई कसरी मेन्टेन गर्नुभएको छ ?

खेलाडीका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै फिटनेस हो । मैले यसलाई कायम राख्न सकेको छु । नियमित खेलिरहेको छु । युवासँग प्रशिक्षण गर्दा आत्मविश्वास पनि आउँदो रहेछ । आफूले सक्छु भन्ने जोस अझै उस्तै छ । खेल्न उमेर बाधक हुँदैन भनेर मैले आफैलाई प्रमाणित गरेको छु ।

फुटबल र फुटसलको फरक के छ ?

हामीलाई सुन्दा उस्तै लागे पनि धेरै फरक छ । फुटसलमा धेरै दौडिनुपर्ने हुनाले स्टामिना धेरै चाहिन्छ भने फुटसलमा तीव्र गति र माइन्ड गेम आवश्यक पर्छ । ११ जनाको फुटबल खेल्नेले फुटसल खेल्न कठिन हुन्छ । फुटसल खेल्नेहरू पनि फुटबलमा जाँदा त्यस्तै हुन्छ । नियमहरू पनि धेरै फरक हुन्छ । कमै खेलाडीले मात्र फुटसल र फुटबल दुवै खेल्न सक्छ ।

प्रकाशित : आश्विन ३, २०७८ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?