‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : राइजिङ र क्यासलको सनसनी

पोखरा — ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा शनिबार धरानको राइजिङ क्लब र घरेलु टोली स्पोर्ट्स क्यासलले विजयी सुरुआत गरेका छन् । पहिलोपल्ट अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी आयोजित प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङले गरेका थिए । 

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : राइजिङ र क्यासलको सनसनी

सामान्यतः काठमाडौंकेन्द्रित फुटसल गतिविधि हुने नेपालमा पूर्वाञ्चलबाट उदाएको राइजिङ युथ क्लबले पोखरामा शनिबार सनसनी मच्चायो । पछि परेको स्थितिबाट पुनरागमन गरी राइजिङले काठमाडौंको स्काइ गोल्सलाई ५–४ गोलले हरायो ।

राइजिङका प्रशिक्षक युवेन्द्र गुरुङ आफ्ना खेलाडीले राइजिङ टिमको हैसियतमा प्रदर्शन गरेकामा सन्तुष्ट देखिए । उनले खेलपछि कान्तिपुरसँग भने, ‘पूर्वाञ्चलमै यो स्तरको फिल्ड हामीसँग थिएन । मैले नै खेलाडीको मनोबल बढाउँदै यहाँसम्म ल्याएको थिएँ । पोखरा आएपछि हामीले दुई दिन गरेर चार घण्टा म्याटमा प्रशिक्षण गर्न पाएका थियौं । मेरा खेलाडीले जस्तो जोस देखाए, त्यसबाट म पूर्ण सन्तुष्ट छु ।’ उनले खेलबाट विपक्षी टोलीलाई राइजिङसँग खेल्न दबाब पर्ने भएकाले सहज हुने अपेक्षा गरे । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको प्रतियोगितामा खेलस्थल सबै टोलीका लागि नयाँ थियो । उद्घाटन खेलको पहिलो हाफमा राइजिङ र स्काइ गोल्स दुवैका खेलाडीलाई सन्तुलन मिलाउन हम्मेहम्मे परेको थियो । पहिलो हाफमा अला (मिडफिल्डर) श्रीकृष्ण श्रेष्ठको गोलमार्फत चक्रपथ भाटभटेनीको स्काइ गोल्सले अग्रता बनायो ।

आक्रामक रणनीतिसहित दोस्रो हाफमा फर्किएको राइजिङ सुरुआती दुई मिनेटभित्रै तीन गोल गरी खेलमा आफ्नो पकड जमाउन सफल रहयो । त्यसपछि टोलीले कहिल्यै पछाडि फर्कनुपरेन । २१ औं मिनेटमा फिक्सो (डिफेन्डर) दोर्जे तामाङले गोल गर्दा २२ औं मिनेटमा अला मिलन लिम्बु र सुदीप गुरुङले गोल गरे । २५ औं मिनेटमा पिभोट रेवश मास्केले राइजिङबाट चौथो गोल गरे । एक मिनेटपछि नै आशिष सुनामको गोलमार्फत स्काइ गोल्सले अन्तर कम गरेको थियो । ३० औं मिनेटमा स्काइका श्रीकृष्णले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ४–३ को स्थितिमा आयो । ३२ औं मिनेटमा रेवशले व्यक्तिगत दोस्रो गोल गर्दा राइजिङले अग्रता फराकिलो बनायो । त्यसको तीन मिनेटपछि श्रीकृष्णले व्यक्तिगत ह्याट्रिक पूरा गरे । त्यसपछि गोल हुन नसक्दा उनले टिमलाई जित वा बराबरीमा लैजान सकेनन् ।


गोलपछि राइजिङ क्लब धरानका खेलाडी (दायाँ) तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

स्काइ गोल्सका फिक्सो तथा स्टार फुटबलर अमित तामाङले टिमबीच सन्तुलन नमिल्दा हार बेहोर्नुपरेको स्वीकारे । ‘धेरैपछि रियल टर्फमा खेल्न पाउँदा अलि अप्ठेरो भएको थियो । हामीबीच पनि सन्तुलन भएन,’ दोस्रो हाफमा लगातार गोल खानुपरेकोबारे अमितले भने, ‘सुरुमा हामीले आफ्नै गल्तीले गोल खान पुग्यौं । त्यसपछि हामी काउन्टरमा जान थाल्यौं । अनि हाम्रो तालमेल मिलेन ।’

स्काइका प्रशिक्षक रमेश सिन्केमानले पनि आफ्ना खेलाडीबीच तालमेल नमिल्दा हार बेहोर्नुपरेको बताए । ‘टिममा खेलाडीले आफ्नो जिम्मेबारी बुझेनन् । टर्फमा हाम्रा लागि नयाँ अनुभव थियो,’ उनले भने, ‘यो लिगमा सबै टिम उत्तिकै स्तरका छन् । सबैले सबैलाई हराउन सक्छन् । आगामी खेलमा हामी आक्रामक रणनीति बनाउनेछौं ।’

क्यासलको एकपक्षीय खेल

स्पोर्ट्स क्यासल पोखराले गत चैतमा सम्पन्न छनोट प्रतियोगितामा गण्डकी प्रदेश च्याम्पियन हुँदै आफ्नो प्रभाव प्रदर्शन गरिसकेको थियो । पहिलो खेलमै क्यासलले काठमाडौंको प्रभातफेरीमाथि ७–० को एकपक्षीय जित निकाल्यो । घरेलु दर्शकको साथ पाएको क्यासलले सुरुदेखि नै आक्रामक फुटसल खेलेको थियो । सातौं मिनेटभित्रै क्यासलले ३ गोलको अग्रता बनाएको थियो । अला सुमित श्रेष्ठले तेस्रो, पिभोट खिमराज गुरुङले छैटौं र अला विजय गुरुङले सातौं मिनेटमा गोल गरेका हुन् ।

दोस्रो हाफमा क्यासलले ४ गोल थप्यो । पिभोट खिमराजले पहिलो मिनेटमै व्यक्तिगत दोस्रो गोल गरे । २४ औं मिनेटमा अला सुमितले पनि व्यक्तिगत दोस्रो गोल गर्दा त्यसको एक मिनेटपछि फिक्सो दिपेश घलेले गोल गरे । पिभोट किशोर गुरुङले ३४ औं मिनेटमा सातौं गोल गरेका थिए । पिभोट खिमराजलाई खेलमा ह्याट्रिक गर्ने अवसर थियो । तर उनी पेनाल्टी प्रहारमा चुके । फुटसलको नियमअनुसार एक टोलीले ६ वटा फाउल गरेपछि विपक्षी टोलीलाई १० मिटरबाट पेनाल्टीको अवसर हुन्छ । प्रभातफेरीले ६ फाउल गरेपछि पाएको पेनाल्टीमा खिमको प्रहार गोलरक्षक आशिष दंगालले रोकेका थिए ।

फुटसलको नियमबारे जानकार नहुँदा खेलाडीहरू केही अन्यौलमा परेको देखिए । पहिलो हाफमा क्यासलका उज्वल शाहीले गोलरक्षक विश्वास पौडेललाई ब्याकपास दिँदा रेफ्रीले फाउल लिएर विपक्षीलाई इनडाइरेक्ट फ्रिकिकको अवसर दिएका थिए ।

क्यासलका सहायक प्रशिक्षक अर्विन गुरुङले आफ्ना खेलाडीहरूले शतप्रतिशत प्रदर्शन गरेकोमा खुसी व्यक्त गरे । ‘खेलाडीको मिहिनेतबाट नै यो सम्भव भएको हो । उनीहरूले शतप्रतिशत खेले । प्रशिक्षणमा जे सिकेका थिए । त्यही नै प्रदर्शन गर्दा हामीलाई सहज भएको हो,’ उनले थपे, ‘हामीले पोखरामै म्याट विछ्याइएको मैदानमा प्रशिक्षण गर्न पाएका थियौं । सानो फिल्ड थियो तर त्यसले हामीलाई धेरै नै फाइदा दिलायो ।’ प्रतियोगिताका लागि स्पोर्टस क्यासलले ३ महिनादेखि प्रशिक्षण गरिरहेको थियो ।

प्रभातफेरीका प्रशिक्षक सरोज थापाले भने आफ्नै खेलाडीको गल्तीका कारण हार बेहोर्नुपरेको स्वीकारे । तर टिमको क्षमता र सन्तुलनमा कमी नआएको दाबी गर्दै उनले आगामी खेलमा नयाँ रणनीतिसाथ अगाडि बढ्ने बताए । ‘हामीले कहिल्यै पनि यस्तो म्याटमा प्रशिक्षण गरेका थिएनौं । काठमाडौंमा सानो मैदानमा प्रशिक्षण गरेका थियौं । यहाँ ठूलो मैदान थियो । त्यसमाथि घरेलु दर्शकसामु उनीहरू धेरै नै आक्रामक देखिए,’ प्रशिक्षक थापाले भने, ‘शारीरिक रूपमा पनि हाम्रा खेलाडीहरू कमजोर देखिएको हो । हामीले आक्रामक नै राणनीति बनाएका थियौं । तर सबै पोजिसनमा राम्रो खेल भएन । पहिलो हाफको तीनवटै गोल आफ्नै गल्तीले खाएका थियौं । त्यसयता पछि परिरह्यौं । यो पहिलो खेलबाट हामीले धेरै कुरा सिकेका छौं । खेलको हिसाबमा मलाई यो नजिताले धेरै दुःख छैन । अर्को खेलमा हामी राम्रो प्रदर्शन गर्नेछौं ।’

प्रकाशित : आश्विन ३, २०७८ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?