कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

एएफसी वुमेन्स एसियाकप छनोट : नेपालले आज फिलिपिन्सको सामना गर्दै

काठमाडौँ — नेपालले शनिबार एएफसी वुमेन्स एसियाकप छनोटमा फिलिपिन्सको सामना गर्दैछ । उज्बेकिस्तानको तास्केन्टमा हुने खेल नेपाली समयअनुसार दिउँसो तीन बजेर ४५ मिनेटमा सुरु हुनेछ । एएफसी वुमेन्स एसियाकप छनोटको समूह ‘एफ’ मा नेपाल र फिलिपिन्ससँगै हङकङ रहेका छन् । शनिबारको खेल छनोटको पहिलो प्रतिस्पर्धा हुनेछ ।

एएफसी वुमेन्स एसियाकप छनोट : नेपालले आज फिलिपिन्सको सामना गर्दै

छनोटका तीन खेलपछि अंक तालिकाको शीर्ष स्थानमा रहेको टिमले एएफसी वुमेन्स एसियाकपमा प्रवेश पाउनेछ । बंगलादेशविरुद्धका दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलपछि यसै साता नेपाली टिम उज्वेकिस्तान पुगेको हो । छनोटका प्रतिस्पर्धालाई नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले क्षमता देखाउने अवसर रहेको बताएका छन्

उनले प्रि–म्याच कन्फ्रेन्समा बोल्दै भनेका छन्, ‘नेपाली महिला फुटबलका लागि यो ठूलो अवसर हो । यसक्रम नेपाली खेलाडीले आफ्नो खेल र क्षमता देखाउन सक्छन् ।’ उनी नयाँ खेलाडीको आगमनले टिममा उत्साह बढेको मान्छन् । उनी नेपाली टिमका नवआगन्तुक खेलाडीले उर्जा बढाएको मान्छन्

बंगलादेशविरुद्धको दुई खेलपछि भने प्रशिक्षक फिलिप्सले नेपाली टिममा अझै सुधार आवश्यक भएको मानेका थिए । उनले बंगलादेशविरुद्ध देखिएको कमजोरी उज्बेकिस्तानमा हुने खेलमा सच्चिने पनि बनाएका थिए । बंगलादेशविरुको प्रदर्शनमा उनी पूर्णत: सन्तुष्ट भने थिएनन् । कप्तानको भूमिकामा रहेका रेणुका नगरकोटीले पनि प्रशिक्षकले निर्देशनअनुसार टिमले खेल्न नसकिरहेको स्विकारेका छन् ।

रेणुकाले भनेकी छिन्, ‘टिममा अहिले धेरै नयाँ खेलाडी छन् । अधिकांश पुराना खेलाडी अहिले टिममा छैनन् । त्यसैले पनि प्रशिक्षकले भने जस्तै खेल्न सजिलो भइरहेको छैन् । विश्वास गरौं, एएफसी वुमेन्स एसियाकप छनोटमा सुधारिएको हुनेछ ।’ फिलिपिन्सको टिम पनि अहिले परिवर्तनबाट गुज्रिरहेका छ ।

टिमका प्रशिक्षक मार्लोन मारोले भनेका छन्, ‘कोभिड संक्रमणको महामारीका कारण हामीलाई टिम निर्माणमा धेरै समस्या भएको थियो । हाम्रा अधिकांश खेलाडी व्यावसायिक फुटबल खेल्ने क्रममा विदेशमा छन् र अहिले उपलब्ध हुन सकेका छैनन् । टिममा अहिले युवा खेलाडीको बाहुल्य छ र हामी राम्रो प्रदर्शनको आश गरिरहेका छौं ।’

दोस्रो खेल मंगलबार हुनेछ र त्यसमा नेपालले हङकङको सामना गर्नेछ । नेपालले फिलिपिन्सको चुनौती सामना गर्न लागेको यो दोस्रो पल्ट मात्र हो । यसअघि सन् १९९९ मा नेपाल एएफसी वुमेन्स च्याम्पियनसिपमा फिलिफिन्ससँग ५–० ले पराजित भएको थियो । छनोटको अन्तिम खेल फिलिपिन्स र हङकङबीच अर्को शुक्रबार हुनेछ ।

प्रकाशित : आश्विन २, २०७८ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?