कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

आजदेखि ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग

पोखरा — एक दशकअघि नेपालमा फुटसल भित्रिँदा यसलाई स्वस्थ रहन खेलिन्थ्यो । प्रायजसो बैंकर, भेट्रान्सको टोली बिदाका दिन र बिहान बेलुका मैत्रीपूर्ण रुपमा फुटसल खेल्ने गर्थे । देशभर फुटसल विस्तार भएपछि भने यसले व्यावसायिक रुप मात्रै लिएन खेलमै विकास भयो । अखिल नेपाल फुटबल संघ (एन्फा) मा फुटसलको प्रवेशपछि स्थापित हुने मौका पायो । 

आजदेखि ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग

एन्फाको आयोजना र टर्नपाइक इभेन्टको व्यवस्थापनमा पहिलोपल्ट ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग शनिबार पोखरा सुरु हुँदै छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा असोज २२ सम्म हुने लिगको सम्पूर्ण तयारी पूरा भएको छ ।

पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा लिगमा सहभागी १० टिमका प्रशिक्षक एवं कप्तानले उपाधि जित्न मिहिनेत गर्ने बताएका छन् । प्रतिस्पर्धा एउटा पाटो भए पनि समग्र फुटसललाई नै स्थापित गराउने उद्देश्य रहेकामा सबै एकमत छन् । अन्तर्राष्ट्रिय मापदण्डको फुटसल कोर्टमा सबै टिमको पहिलो अनुभव हुने भएकाले सबै टिम उत्तिकै दाबेदार रहेको उनीहरूको भनाइ छ ।

एन्फाका फुटसल समिति संयोजक रत्नकुमार श्रेष्ठले खेल पर्यटनको हब भएको र अन्तर्राष्ट्रिय मापदण्डको फुटसल कोर्ट पनि यहीं भएकाले पोखरामा प्रतियोगिता आयोजना गरेको बताए । फुटसललाई लोकप्रिय खेल बनाउन लिगले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । ‘एएफसी र फिफा मापदण्डको कभर्डहल पोखरामा मात्रै छ,’ उनले भने, ‘एन्फाले पनि आफ्नै पूर्वाधार बनाउने तयारी गरेको छ ।’ उनका अनुसार छनोट चरणदेखि प्रतियोगिता सम्पन्न गर्दासम्मका लागि एन्फाले १ करोड १८ रुपैयाँ बजेट छुट्याएको छ ।

एन्फाकै फुटसल समिति प्रमुख विनोद गुरुङले गत चैतदेखि जेठसम्म प्रदेशस्तरीय छनोट खेलमा सहभागी ५१ टिममध्ये १० टिमले ‘ए’ डिभिजनको मान्यता पाएको बताए । कोभिडका कारण दुईपल्टसम्म सरे पनि यसपल्ट फुटसल लिग सफल हुने उनले जनाए । टर्नपाइक इभेन्टका निर्देशक निशान्त केडियाले कोरोनाको जोखिम मध्यनजर गर्दै सुरक्षा मापदण्ड अपनाएर लिग सञ्चालन गर्ने बताए । उनले ३ हजार दर्शक क्षमताको कभर्डहलमा १ हजार २ सयलाई मात्रै प्रवेश मिल्ने गरी टिकट बिक्री गरिने उल्लेख गरे ।

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा क्षेत्रीय छनोटबाट आएका १० टोलीले राउन्ड रोबिन प्रणालीका आधारमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोलीबीच क्वालिफायर र इलिमिनेटरका आधारमा फाइनल खेलिने छ । लिग अवधिभर कुल ४९ म्याच हुनेछन् ।

एक दिनमा बढीमा तीन खेलसम्म हुनेछ । सबै खेल ४० मिनेटको हुनेछ । खेलमा बास्केटबलकै जस्तो स्टपवाच प्रणाली हुनेछ । नेपालमा लोकप्रिय रहेको फुटसलको आधिकारिक राष्ट्रिय प्रतियोगिता पहिलोपल्ट हुन लागेको भए पनि दुई वर्षअघि नै राष्ट्रिय टिम बनाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता भइसकेको छ ।

लिगमा अन्तिम दुईमा पर्ने टिम रेलिगेसनमा परेर ‘बी’ डिभिजनमा झर्नेछन् । प्रतियोगिताका सम्पूर्ण खेल कान्तिपुर टेलिभिजन र ईकान्तिपुर डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

प्रकाशित : आश्विन २, २०७८ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?