शनिबारदेखि पोखरामा ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शनिबारदेखि पोखरामा ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग

दीपक परियार

पोखरा — अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र टर्नपाइक इभेन्टको व्यवस्थापनमा पहिलोपल्ट ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग शनिबारदेखि पोखरा सुरु हुँदै छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा असोज २२ सम्म हुने लिगको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा लिगमा सहभागी १० टिमका प्रशिक्षक एवं कप्तानले उपाधि जित्न मिहिनेत गर्ने बताएका छन् । एन्फाका फुटसल समिति संयोजक रत्नकुमार श्रेष्ठले खेल पर्यटनको हब भएको र अन्तर्राष्ट्रिय मापदण्डको फुटसल कोर्ट पनि यहीं भएकोले पोखरामा प्रतियोगिता आयोजना गरेको बताए । फुटसललाई लोकप्रिय बनाउन लिगले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

एन्फाकै फुटसल समिति प्रमुख विनोद गुरुङले गतवर्षको चैतदेखि यस वर्षको जेठसम्म प्रदेशस्तरीय छनोट खेलमा सहभागी ५१ टिममध्ये १० टिमले ‘ए’ डिभिजनको मान्यता पाएको बताए । कोभिडका कारण दुईपल्टसम्म सरे पनि यसपल्ट फुटसल लिग सफल हुने उनले जनाए । टर्नपाइक इभेन्टका निर्देशक निशान्त केडियाले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड अपनाएर लिग सञ्चालन गर्ने बताए । उनले ३ हजार दर्शक क्षमताको कभर्डहलमा १ हजार २ सयलाई मात्रै प्रवेश मिल्ने गरी टिकट बिक्री गरिने उल्लेख गरे ।

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा क्षेत्रीय छनोटबाट आएका १० टोलीले राउन्ड रोबिन प्रणालीका आधारमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोलीबीच क्वालिफायर र इलिमिनेटरका आधारमा फाइनल खेलिनेछ । लिग अवधिभर कुल ४९ म्याच हुनेछन् । लिगमा प्रदेश १ बाट धरानको फुटसल फाइभ र द राइजिङ क्लब, वाग्मतीका ढुकु फुटसल हब, शंखमूल फुटसल, स्काइ गोल्स र प्रभातफेरी स्पोर्ट्स क्लब, गण्डकी प्रदेशका स्पोर्ट्स क्यासल र सविन मेमोरियल फुटसल क्लब, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट लुम्बिनी फुटसल र झरना स्पोर्ट्स क्लब सहभागी छन् ।

लिग विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, फिक्सो (डिफेन्डर), पिभोट (स्ट्राइकर), प्रशिक्षक र इमर्जिङ खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताका सम्पूर्ण खेल कान्तिपुर टेलिभिजन र ईकान्तिपुर डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

प्रकाशित : आश्विन १, २०७८ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसमा शनिबारसम्म क्रियाशील सदस्यको टुंगो लगाउने सहमति

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेताहरुबीच शनिबारसम्म क्रियाशील सदस्यताको टुंगो लगाएर वडा अधिवेशन अघि बढाउने सहमति भएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग छलफल गरी क्रियाशील सदस्यताको टुंगो लगाएर समयमै महाधिवेशनको प्रक्रिया अघि बढाउने विषयमा छलफल गरेका हुन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा क्रियाशील सदस्यताको टुंगो लाग्न बाँकी रहेका १३ जिल्लाको विषयमा नेताहरुबीच छलफल भएको थियो ।

बैठकमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का तथा सिटौला नेतृत्वको कार्यदलका सदस्यहरु मिनेन्द्र रिजाल र रमेश लेखक पनि सहभागी थिए ।

‘कार्यदलले पहिले जुटाएको सहमति बमोजिम हालसम्मको कार्यान्वयनको अवस्थाबारे बिफ्रिङ भयो । त्यसपछि अब त्यसको कसरी समाधान खोज्ने ? भन्ने विषयमा छलफल भएको हो,’ देउवाका स्वकीय सचिव भानु देउवाले इकान्तिपुरसँग भने, ‘भोलि दिउँसोसम्म सदस्यताको टुंगो लगाउने सहमति भएको छ ।’

कांग्रेसले अब बाँकी रहेका जिल्लाहरुमा ५ असोजमा वडा तहको अधिवेशन गर्ने मिति तोकेको छ । तर शुक्रबारसम्म १३ जिल्लाको सदस्यताको टुंगो लागेको छैन । श्रोतका अनुसार शीर्ष नेताहरुले सकेसम्म सहमतिबाटै सदस्यताको टुंगो लगाउने र नभए बहुमतबाट भएपनि टुंगोमा पुग्न निर्देशन दिएका छन् ।

प्रकाशित : आश्विन १, २०७८ १८:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×