ए डिभिजन राष्ट्रिय फुटसल लिग : प्रभातफेरीको शीर्ष चारको लक्ष्य

एकसाथ खेलेको भएर खेलाडीले एकअर्काको कमी कमजोरी बुझेका छन्
कुशल तिमल्सिना

काठमाडौँ — आफ्नै फुटसल मैदान नभई छनोट प्रतियोगिता पार गरेको प्रभातफेरी क्लबले आसन्न ‘ए’ डिभिजन राष्ट्रिय लिग फुटबलका लागि आफ्नो तयारी लगभग अन्तिम चरणमा पुर्‍याएको छ । प्रतियोगिताको पहिलो दिन नै प्रभातफेरीले पोखरेली टोली स्पोर्ट्स क्यासलविरुद्ध खेल्दैछ । 

ए डिभिजन राष्ट्रिय फुटसल लिग : प्रभातफेरीको शीर्ष चारको लक्ष्य

प्रभातफेरी क्लब स्थापना भएपछि पहिलोपल्ट छनोट प्रतियोगितामा सहभागी जनाउँदा सेमिफाइनलसम्म पुगेर छनोट हुन सफल भएको हो । यसर्थ यसलाई भाग्यमानी क्लब भन्न सकिन्छ । तर यो टिम भने ४ वर्षदेखि नै एकसाथ थियो । क्लबको नाममात्र परिवर्तन भएको हो ।

मुख्यतः काठमाडौं टोखाका स्थानीय युवा अरू नै नामबाट स्थानीय प्रतियोगितामा सहभागी भएको धेरै समय भइसकेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग आयोजना गर्ने र त्यसका लागि छनोट प्रतियोगिता गर्ने भएपछि उनीहरूले आफ्नै क्लब दर्ता गरी प्रतियोगितामा सहभागी हुने निर्णय गरे । सफल पनि भए । चैत महिनामा छनोट भए पनि कोरोना महामारीका कारण प्रतियोगिता दुईपल्ट सरेको थियो । यसबीचमा क्लबले तयारी समय पर्याप्त पाएको छ । आफ्नै मैदान नभएर पनि प्रतियोगितामा छनोट हुनु एक प्रकारको सनसनी नै थियो ।

‘नयाँ नामबाट आएको भए पनि हामीले एकसाथ फुटसल खेल्न थालेको ४ वर्ष भइसकेको छ । त्यसैले टिमवर्क राम्रो छ । लामो समयदेखि एकसाथ खेलेको भएर खेलाडीले एकअर्काको कमी कमजोरी बुझेका छन्,’ क्लबका उपाध्यक्ष मनिकुमार गुरुङले भने, ‘छनोट प्रतियोगितामा पनि हाम्रो एकताले जित निस्किएको हो ।’

खेलाडीसमेत रहेका क्लबका अध्यक्ष सुदीप पन्तले पहिलोपल्ट हुन लागेको प्रतियोगितामा शीर्ष चारभित्र पर्ने लक्ष्य सुनाए । उनीहरू नेपाली फुटसल र फुटबलमा लामो समयसम्म योगदान गर्ने गरी बनाइएको योजनामा प्रतिबद्ध पनि छन् । ‘हामीले शीर्ष चारभित्र पर्ने लक्ष्य राखेका छौं । राम्रो खेल्न सकिएन र रेलिगेसनमै परियो भने पनि फुटसल र फुटबलबाट टाढा हुँदैनौं,’ पन्तले भने, ‘हामीले लामो भविष्य सोचेर क्लब स्थापना गरेका हौं ।’ टर्फमा छनोट प्रतियोगिता खेलेर म्याट ओछ्याइएको मैदानमा फाइनल प्रतियोगिता खेल्नु उनीहरूका लागि कठिन भएको छ । काठमाडौंमा सीमित संख्यामा रहेका वास्तविक फुटसल कोर्टमा अहिले ‘ए’ डिभिजन फुटसल क्लबहरूको भीड लागेको छ । स्वयम्भूमा मनाङ ट्रस्टले सञ्चालन गरेको पार्केटिङ फुटसल कोर्टमा एकै दिन तीनवटासम्म ‘ए’ डिभिजन क्लबले अभ्यास गर्ने गरेका छन् ।

‘पहिलोपल्ट सहभागी भएका छौं । प्रतियोगिता पनि वास्तविक फुटसल कोर्टमा पहिलोपल्ट आयोजना हुँदै छ,’ क्लबका उपाध्यक्ष गुरुङले थपे, ‘यो चुनौती हामीमात्र होइन सबै क्लबहरूलाई छ । पोखरामा कम्तीमा एउटा सेसन म्याटमा प्रशिक्षण गर्न पाइयो भने हामीलाई केही हदसम्म सहज हुनेछ ।’ आफ्नै मैदान नभएको प्रभातफेरीलाई लामो योजना कार्यान्वयनका लागि पूर्वाधारमा ध्यान दिन आवश्यक छ । प्रतियोगिताका लागि ज्योति विकास बैंकको साथ पाएको यो क्लबले निरन्तर क्लब सञ्चालन गर्न स्रोत जुटाउनुपर्ने बाध्यता पनि छ । उपाध्यक्ष गुरुङले भविष्यमा फुटसल कोर्ट निर्माण गरी व्यावसायिक प्रयोजनमा लगाएर दोहोरो लाभ लिने योजना बनाएको जानकारी दिए ।

प्रभातफेरीमा फुटसलमात्र खेल्ने खेलाडी तीनजना छन् । त्यसबाहेक फुटबलबाट आएकाहरूकै बाहुल्य छ । विदेशमा जस्तै खेलाडीलाई फुटबल र फुटसलमध्ये एक रोज्न लगाउनुपर्ने उपाध्यक्ष गुरुङको धारणा छ । ‘एन्फाले नै फुटबलरले फुटसल र फुटसल खेलाडीले फुटबल खेल्न नपाउने व्यवस्था गरिदए हामीलाई पनि सजिलो हुन्छ । अहिले त टिम बलियो बनाउन सबै क्लबले फुटबल खेलाडीलाई अनुबन्ध गरिरहेका छन् । यसले नयाँ खेलाडी उत्पादनमा चाहिँ असर गर्न सक्छ,’ गुरुङले भने ।

प्रभातफेरी टिम : विशाल सारुमगर (कप्तान), सुदीप पन्त, आलिज तामाङ, राज पौडेल, श्रृजेश पुरी, आशिष दंगाल, दिपेश श्रेष्ठ, विवेक सारुमगर, धिरज जोशी, धिरज श्रेष्ठ, सुनील मगर, सन्तलाल गुरुङ, रविन गुरुङ र सुदील श्रेष्ठ ।

प्रकाशित : आश्विन १, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?