३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

राडुकानु र त्यस्तै सफलता

राडुकानुको यो सफलताले फेरि एकपल्ट त्यस्ता खेल घटनालाई सम्झन बाध्य पारेको छ
द डेलिमेल

लन्डन — भर्खर विश्व खेलकुदमा एउटा अविश्वसनीय घटना भएको छ । यो हो इमा राडुकानुले यूएस ओपन जित्नु । खेलकुदको रोमाञ्चकता भनेकै यही हो । जहिल्यै बलियो टिम र स्टार खेलाडीले मात्र जित्दैनन् । सोच्नै नसोचेका र नचिताएका टिम र खेलाडीले पनि जित्ने गर्दछ ।

राडुकानु र त्यस्तै सफलता

दुई साताभन्दा केही अगाडिसम्म यी टेनिस खेलाडी कोही न कोहीजस्तै थिए । उनलाई चिन्ने टेनिस समर्थक पनि थिएनन्भन्दा हुन्छ । तर, त्यसको दुई सातापछि उनी सबैका लागि परिचित नाम भएको छ ।

उनी क्वालिफायरका रूपमा यूएस ओपनमा प्रवेश गरेकी थिइन्, भर्खर १८ वर्ष लागेका यिनै किशोरीले नै वर्षको चौथो ग्रान्ड स्लाम जितिन् । राडुकानुको यो सफलताले फेरि एकपल्ट त्यस्तो खेल घटनालाई सम्झन बाध्य पारेको छ, जसले विश्व खेलकुदलाई आश्चर्यमा पारेको थियो । अझ स्तब्ध पार्‍यो भन्दा हुन्छ । यो ‘राडुकानु र उनकै जस्ता कथाहरू’ हो, जसले विश्व खेलकुदलाई जति नि ‘रोमान्टिक’ बनाइरहन्छ ।

लेस्टरले जितेको ईपीएल

लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग जितेको घटना विश्व खेलकुदकै सबैभन्दा अविश्वसनीय मानिन्छ । सन् २०१६ मा लेस्टरले यो काम गरेको थियो । त्यसको ठीक एक सिजनमात्र अगाडि लेस्टर बल्लतल्ल रेलिगेसनबाट बचेको थियो भन्दा हुन्छ । सिजन अन्त्यतिरका केही खेलमा लेस्टरको प्रदर्शन दमदार थियो । यसको १२ महिनापछि त लेस्टरले इंग्लिस फुटबलकै माथिल्लो डिभिजन जितेर देखाएर सबैलाई चकित बनायो । सट्टेबाजीमा लेस्टरले लिग जित्ने बाजीको भाउ ५०००–१ थियो ।

इभानिसेभिचले चुमेको विम्बल्डन

यो अर्को कथा हो, त्यसमा खेलाडीले कहिले पनि हरेस खाएन । गोरान इभानिसेभिच तीनपल्ट विम्बल्डन उपाधि जित्ने संघारमा पुगेका थिए, तर तीनैपल्ट उनको भागमा हार रह्यो । त्यसैले सबैले भनिसकेका थिए, अब उनले विम्बल्डन जित्ने छन् । सन् २००१ मा उनको वरीयताका १२५ औं स्थानमा थियो । त्यस वर्ष उनी वाइल्ड कार्ड जितेर विम्बल्डनमा पुगे । त्यही वर्ष उनले विम्बल्डन जिते । यसक्रममा हराए, कार्लोस मोया, एन्डी रोडिक र मारात साफिनलाई ।

काइजरसुर्टनलाई बुन्डेसलिगा

बुन्डेसलिगामा काइजरसुर्टन नै एकमात्र त्यस्तो टिम हो, जसले माथिल्लो डिभिजनमा बढुवा खाएको वर्ष नै लिग उपाधि जित्न सफल रह्यो । सन् १९९७–९८ मा बायर्न म्युनिक डिफेन्डिङ च्याम्पियन थियो । उसले फेरि एकपल्ट लिग उपाधि जित्नेमा कसैलाई शंका थिएन । तर लिगको पहिलो दिनमै काइजरसुर्टनले बायर्नले हरायो । त्यसपछि कुनै पनि समय बायर्नले उसलाई उछिन्न सकेन । आखिरमा उसले बायर्नलाई अन्तिम लिगतालिकामा २ अंकले पछाडि पारेको थियो ।

उडको “मास्टर कमब्याक”

विश्व खेलकुदमा सबैलाई पुनरागमन मीठो लाग्छ । यस्तो उपलब्धिलाई खुबै महत्त्व दिइन्छ । एक समय टाइगर उड विश्व गल्फका राजा थिए । चोट र पारिवारिक काण्डका कारण उनको खेल नराम्रोसँग खस्किएको थियो । उनी सर्वश्रेष्ठ खेलाडीबाट औसतमा झरेका थिए । तर, यिनै उडले सन् २०१९ मा मास्टर्स जिते । त्यसको ठीकअगाडि उडलाई आफूले गल्फ खेल्नमै शंका थियो । खेल्नमात्र होइन, उनलाई सामान्य हिँडडुलमै समस्या थियो । यिनै खेलाडीले विश्व गल्फको सबैभन्दा ठूलो उपाधि जिते ।

डेनमार्कको जितमा स्तब्ध युरोप

यो तथ्यलाई कसरी मात्र न्याय गर्ने, सन् १९९२ को युरोपेली च्याम्पियन डेनमार्क खासमा प्रतियोगितामै छनोटसमेत भएको थिएन भनेर । त्यतिबेला युगोस्लाभिया गृहयुद्धमा अल्झेको थियो । यसै कारण प्रतियोगिताको ठीकअगाडि उसलाई निष्कासन गरियो । यस्तोमा हतारहतारमा टिम बनाएर डेनमार्कले खेलेको थियो । सबैको अनुमान थियो, यसले लिग चरण नै काट्दैन । तर यसले लिग चरणमात्र काटेन, फाइनलमा नेदरल्यान्ड्सलाई हराएर उपाधि नै जित्यो ।

ग्रिसको कमाल

प्रत्येक ठूलो प्रतियोगितामा केही न केही अप्रत्याशित हुन्छ नै । कसैले पनि यति साह्रो हुन्छ भनेर सोचेका थिएनन् । सन् २००४ मा ग्रिसले यस्तै काम गरेको थियो युरो जितेर । त्यतिबेला युरोमा ग्रिसले उपाधि जित्ने सम्भावना १५०–१ बताइएको थियो । हुन त ग्रिस युरोका त्यसअघिका दुई संस्करणमा छनोटसमेत भएको थिएन । अझ टोलीले युरोमा यसअघि कुनै खेल पनि जितेको थिएन । उपाधि जित्ने क्रममा ग्रिसले फ्रान्स, चेक गणतन्त्र र पोर्चुगलजस्ता टिमलाई पन्छाएको थियो ।

डगलसले टाइसनलाई ढालेपछि

माइक टाइसनलाई जेम्स बुस्टर डगलसले के ढाले, उनी विश्व बक्सिङमा सदाबहार सुनिने कथाका नायक भए । विश्व हेभीवेट बक्सिङमा डगलसले टाइसनलाई नकआउट पार्नु अहिलेसम्मकै सबैभन्दा ठूलो अप्रत्याशित नतिजा मानिन्छ । त्यतिबेला टाइसनको जगजगी थियो । उनी भएभरका प्रतिद्वन्द्वीलाई हराइरहेका थिए । यसको ठीकविपरीत डगलस औसत खेलाडीमात्र थिए । तर यिनै कमजोर आँकिएका डगलसले टाइसनलाई पछारेर बने विश्व च्याम्पियन ।

प्रकाशित : भाद्र ३१, २०७८ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?