१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

‘म फुटबल खेलाडी नै हुँ’:अमित तामाङ

काठमाडौँ — संकटाबाट क्लबबाट व्यावसायिक फुटबल खेल्ने ‘ए’ डिभिजन फुटबलर अमित तामाङ पनि स्काइ गोल्सबाट आसन्न ‘ए’ डिभिजन फुटसल खेल्दैछन् । एन्फा एकेडेमीका उत्पादन अमितले फुटबल नभइरहेको समयमा फिटनेसका लागि फुटसल खेल्ने गरेको सुनाए । एन्फाले सन् २०१७ मा पहिलोपल्ट फुटसल राष्ट्रिय टोली निर्माण गर्दा टोलीका सदस्य रहेका थिए ।

‘म फुटबल खेलाडी नै हुँ’:अमित तामाङ

लेफ्टब्याक उनले फुर्सदको समय उपायोग गरी फुटसल खेलेको र खेल्दाखेल्दै टिमबाट आएको अफर स्विकारेको सुनाए । भविष्यमा फुटबललाई नै निरन्तरता दिने उनको भनाइ छ । ‘ए’ डिभिजन फुटसल खेल्ने ‘हाइप्रोफाइल’ फुटबल खेलाडी उनै अमित तामाङसँग दोहोरो अनुभवबारे गरिएको कुराकानीको अंश :

‘ए’ डिभिजन फुटबल खेलिराखेको खेलाडी किन फुटसल छाडेर यता आउनुभयो ?

मैले फुटबल छाडेको छैन । हाम्रो फुटबलका लागि अहिले माहोल नै भएन । हामी उपत्यकाबाहिरका खेलाडीका लागि त झन् खेल्ने ठाउँ नै भएन । संकटाको मैदान त छ तर त्यहाँ गएर खेल्ने म एक्लो हुन्छु । त्यसैले ट्रेनिङदेखि फिटनेसका लागि फुटसल खेलिरहेको छु । म फुटसलको राष्ट्रिय टोलीबाट पनि खेलिसकेको छु । पहिलो राष्ट्रिय टोलीको सदस्य थिएँ । फिटनेस बनाइराख्न पैसा तिरेर फुटसल खेलिरहेको छु । त्यसरी खेल्दै थिएँ, दाइहरूले टिममा आएर खेल्न भन्नुभयो अनि यो टिमबाट खेल्न लागेको हुँ ।

फुटसलको राष्ट्रिय टोलीबाट खेलिसक्नुभएको छ । फुटबलको राष्ट्रिय टोलीको क्याम्पमा पनि निरन्तर हुनुहुन्छ । तपाईंको प्राथमिकताचाहिँ के हो ?

फुटसल र फुटबलमा म तुलना गर्दिनँ । मेरो पहिलो प्राथमिकता फुटबलमात्र हो । एन्फा एकेडेमीमा रहेर फुटबल सिक्दै गर्दा पनि म अन्तर्राष्ट्रिय फुटबलर बन्छु भन्ने सपना नै थियो । त्यहााबाट पनि राष्ट्रिय टोलीमा पर्न मैले धेरै प्रयास गरें । यू–१४, यू–१६, यू–१७ र यू–१९ उमेरसमूहको राष्ट्रिय टोली हुँदै सिनियर टोलीमा पनि पर्छु, तर अन्तिम टिममा कहिल्यै पर्दिनँ । शीर्ष ३० सम्म सधैं हुन्छु ।

अन्तिम टिममा राख्न कसैले विश्वास गरिरहेका छैनन् । मैले आफूलाई प्रमाणित गर्न पनि अवसर पाउनुपर्‍यो नि ? कहिल्यै अवसर नै दिँदैनन् । मेरा लागि यो सबैभन्दा निराशाजनक क्षण हो । सधैं बन्द प्रशिक्षणमा बोलाइने तर कहिल्यै टिममा नराखिने अभागी खेलाडी हुँ म । कतिसम्म भने अर्कै पोजिसनका खेलाडीलाई लेफ्ट ब्याक खेलाइयो तर मलाई टिममा राखिएन । सबैको एउटा सपना हुन्छ, राष्ट्रिय टोलीबाट खेल्ने । मेरो पनि छ । धेरै नजिकसम्म पुर्‍याइन्छ तर पाइँदैन । एन्फाले रिलिज गरेपछि क्लबबाट खेलिरहेको छु । फुटबल हुँदा फुटबल, फुटबल नहुँदा फुटसल खेलिरहेको छु । राष्ट्रिय टिममा बोलाउँदा जान्छु, क्लबलाई आवश्यक परेका बेला गइरहेको छु ।

फुटसलचाहिँ फिटनेसको माध्यममात्र हो त ?

मेरो लागि त्यस्तै भयो हजुर । ‘ए’ डिभिजन लिगका लागि हाम्रो क्लबले कात्तिकदेखि प्रशिक्षण सुरु गर्ने भएको छ । त्यसअघि आफूलाई फिट र अपडेट त राख्नुपर्‍यो । त्यसैले फुटसल खेलिरहेको छु ।

फुटसललाई नै निरन्तरता दिने हो कि ?

तत्काललाई सोचेको छैन । सायद फुटबलमै हुनेछु । किनभने मैले अहिलेसम्म जति पनि गरेको छु, फुटबलमै गरेको छु । फुटसलभन्दा ठूलो क्षेत्र हो फुटबल त्यहाँ अवसर पनि धेरै छ ।

यो प्रतियोगिताबाट राष्ट्रिय टिमका लागि पनि खेलाडी छनोट गर्ने भनिएको छ । तपाईंलाई फुटसलको राष्ट्रिय टोलीमा बोलाइयो भने के गर्नुहुन्छ ?

मेरो राष्ट्रिय टिमबाट खेल्ने सपना हो । फुटसलको पनि राष्ट्रिय टोली नै हुनेछ । तर त्यो समयमा ‘ए’ डिभिजन वा अन्य राष्ट्रिय प्रतियोगिता भयो भने म फुटबलमै जानेछु । किनभने फुटबल भइरहेको भए, क्लबको प्रशिक्षण भइरहेको भए म अहिले यहाँ हुँदैनथें । म फुटबल खेलाडी नै हो ।

प्रकाशित : भाद्र ३०, २०७८ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?