कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : डेब्युमै स्काई गोल्सको उडान

स्काई गोल्समा अधिकांश खेलाडी फुटबलबाट आएका छन् । कप्तान सन्जोग र निर्मल गुरुङबाहेक अन्य सबै खेलाडी फुटबलबाट आएका हुन् । 
कुशल तिमल्सिना

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्न लागेको ए डिभिजन राष्ट्रिय फुटसल लिगकै लागि बनेको टिम हो, स्काई गोल्स एफसी । छनोट प्रतियोगितामा सनसनी मच्चाएको यो टोली उपाधि लक्ष्यसहित फाइनल प्रतियोगिता तयारीमा छ । 

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : डेब्युमै स्काई गोल्सको उडान

स्काई गोल्स एफसी फुटसल खेलाडी तथा टिम कप्तान सन्जोग चाम्लिङकै अवधारणा होभन्दा फरक पर्दैन । ‘ए’ डिभिजन लिगका लागि छनोट प्रतियोगिता हुने भएपछि फुटसलमा सक्रिय खेलाडीहरूबीच टिम बनाएर सहभागिता जनाउने उनको प्रस्तावलाई चक्रपथमा रहेको मछिन्द्र स्काई गोल्स फुटसलले आंशिक विश्वाससहित स्वीकार गर्‍यो ।

छरिएर रहेका फुटसल खेलाडी तथा फुटबल खेलाडीसमेतको टोली फाइनल प्रतियोगिताका लागि छनोट भएको व्यवस्थापनले नै विश्वास गरिरहेका थिएनन् । ‘पहिलो सहभागितामै हामी छनोट योग्य हुन्छौं भनेर न क्लब व्यवस्थापन न त हामी (खेलाडी, अफिसियलहरू) नै विश्वस्त थियौं,’ टिमका प्रशिक्षक रमेश सिन्केमानले कान्तिपुरसग भने, ‘सोच्दै नसोचेको सफलताले हामी सबै उत्साही छौं । क्लब व्यवस्थापनले पनि हामीलाई धेरै सहयोग गरेको छ । अपेक्षा पनि धेरै छ ।’

चैत १ देखि वैशाख ५ सम्म देशव्यापी रूपमा सञ्चालित छनोटअन्तर्गत वाग्मती प्रदेशस्तरीय प्रतियोगितामा स्काई गोल्सले सेमिफाइनल यात्रा तय गरी पोखरामा हुने फाइनल चरणलाई छनोट भएको हो । ‘फाइनल चरणमा छनोट भइसकेपछि खेलाडीहरू आनन्दित थिए । हामीले पनि धेरै दबाब लिएनौं । छनोटको सेमिफाइनलमा ढुकु फुटसलसग पराजित भयौं । हामीलाई हराएको ढुकुले छनोटको उपाधि नै जित्यो,’ सिन्केमानले भने ।

कोर्टका कारणले टिममा सन्तुलन नमिल्ने हो कि भन्ने चिन्तामा छन् प्रशिक्षक सिन्केमान । एन्फाले छनोट प्रतियोगिता टर्फ मैदानमा खेलाएर फाइनल प्रतियोगिता म्याट बिछ्याइएको कोर्टमा गर्दै छ । वास्तविक फुटसल पनि त्यही हो । ‘वास्तवमै भन्ने हो भो हामीलाई पहिलोपल्ट बल खेल्न थालेजस्तो अनुभव भइरहेको छ । बल कन्ट्रोल, ट्याकल, पासलगायत सबै कुरा म्याटमा खेल्दा फरक हुन्छ,’ उनले थपे, ‘हामी टर्फ मैदानमा अभ्यस्त छौं । म्याटमा अहिलेसम्म खेलेका छैनौं । प्रशिक्षक पार्केटिङ कोर्टमा गरेर म्याटको मैदानमा खेल्दा हामीबीच सन्तुलन मिलाउन कठिन हुनेछ । चोटको समस्याबाट पनि धेरै नै चनाखो हुनुपर्नेछ ।’

स्काई गोल्समा अधिकांश खेलाडी फुटबलबाट आएका छन् । कप्तान सन्जोग र निर्मल गुरुङबाहेक अन्य सबै खेलाडी फुटबलबाट आएका हुन् । धेरै वर्ष ‘ए’ डिभिजन लिग खेलिसकेका संकटाका अमित तामाङ पनि स्काई गोल्सको टिममा छन् । प्रशिक्षक सिन्केमान टिममा अनुभवी र युवा जोसको समिश्रण रहेको दाबी गर्छन् । टिम भावना, जोस र लगावको मिश्रित प्रदर्शन गर्ने उनको विश्वास छ । ‘यो प्रतियोगितामा सहभागी सबैले छनोट पार गरेर आएका छन् । यहाँ सबैले सबैलाई हराउन सक्ने क्षमताका टोलीहरू छन्,’ उनले थपे, ‘अहिलेसम्म अवस्था हेर्दा हामीलाई शीर्ष चारभित्र पर्न त्यति कठिन नहोला । उपाधिका लागि प्रतिस्पर्धा कठिन हुन्छ । तर, हाम्रो लक्ष्य त्यही हो ।’

टिम गठन भएपछिको पहिलो प्रतियोगितामै सनसनी मच्चाएपछि स्काई गोल्सले भविष्यमा निरन्तरता दिनेमा व्यवस्थापन पक्ष पनि सकारात्मक रहेको बताउँछन् सिन्केमान । सञ्चालक प्रवलमानसिंह गुरुङले अहिलेसम्म कुनै कुराको कमी हुन दिएका छैनन् । ‘छनोटपछि कोरोनाले लकडाउन भयो । दुईपल्ट मिति तोकेर पनि आयोजना भएन । अहिले १ महिनादेखि नियमित प्रशिक्षण भइरहेको छ । अहिलेसम्म व्यवस्थापनले यो गरेन/त्यो गरेन भनेर गुनासो गर्नुपरेको छैन । उहाँहरूले हामीलाई धेरै नै विश्वास गरिरहनुभएको छ,’ सिन्केमानले भने ।

‘ए’ डिभिजन फुटसल निरन्तर आयोजना भएको अवस्थामा आफ्नो टिमले पनि निरन्तरता पाउने पूर्वखेलाडी सिन्केमानले बताए । त्यसबाहेक वास्तविक फुटसल कोर्टहरू निर्माण गरी नयाँ खेलाडी उत्पादनमा क्लब व्यवस्थापनले सोच्नुपर्ने बेला आएको उनको भनाइ छ । ‘हामीले यो टिमलाई निरन्तरता दिनुपर्छ ।

नयाँ कोर्ट बनाएर खेलाडी उत्पादनमा पनि जोड दिनुपर्छ । त्यो भयो भने फुटसल टिम बनाउन हामीले फुटसल खेलाडीको भर पर्नुपर्दैन,’ उनले भने, ‘फुटबल खेलाडीलाई म्याट कोर्टमा खेल्न धेरै गाह्रो हुन्छ । त्यसैले नियामक निकायले पनि खेलाडीलाई फुटबल र फुटसलमध्ये एउटा रोज्न लगाउनुपर्छ ।’

प्रकाशित : भाद्र ३०, २०७८ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?