२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८
विश्वकप लिग २

नेपालमाथि ओमानको सहज जित

ओमानसँग लगातार तेस्रो हार
विनोद पाण्डे

काठमाडौँ — ओमानले आईसीसी विश्वकप लिग २ क्रिकेटमा मंगलबार नेपाललाई सजिलै ५ विकेटले पराजित गरेको छ । नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१.१ ओभरमै २ सय रन बनाउँदै पूरा गरेको हो ।

नेपालमाथि ओमानको सहज जित

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले ओमानसँग लगातार तेस्रो हार बेहोरेको हो ।यसअघि लिगअन्तर्गत ओमानले फेब्रुअरी ९, २०२० मा कीर्तिपुरमा भएको खेलमा नेपाललाई ८ विकेटले हराएको थियो । त्यस्तै फेब्रुअरी ५, २०२० मा कीर्तिपुरमै सम्पन्न खेलमा पनि ओमान १८ रनले विजयी भएको थियो ।

टस जितेर ब्याटिङमा आएको नेपाल ४७.४ ओभर खेली १ सय ९६ रनमा अलआउट भएको थियो । ओपनिङ ब्याट्सम्यान जतिन्दर सिंहले ६० बलमै शतक बनाएपछि ओमानले सजिलै लक्ष्य पूरा गरेको हो । जतिन्दरले कुल ६२ बलमा १ सय ७ रन बनाउने क्रममा १२ चौका र ६ छक्का प्रहार गरे । उनले नेपालका बलर सोमपाल कामीलाई एकै ओभरमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।

शोएब खान ७, अयान खान १८, कप्तान जिशान मक्सुद ४ र सुरज कुमार २० रनमा आउट भए । विक्रम सोबको बलमा विजयी छक्का प्रहार गरेका मोहम्मद नदिम ६५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३८ रनमा अविजित रहे ।

फिल्डिङका क्रममा घाइते भएपछि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलिङ गरेनन् । करण केसी र कुशल मल्लले २–२ तथा सुशन भारीले १ विकेट लिए

ओमानको मस्कटस्थित एमेरात क्रिकेट मैदानमा यसअघि नेपालबाट आसिफ शेखले सर्वाधिक ९० रन बनाए । १ सय १२ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली ब्याट्सम्यानको दोस्रो उच्च स्कोर हो । यसअघि पारस खड्काले २०१९ मा यूएईविरुद्ध दुबईमा १ सय १५ रन बनाएका थिए ।

नेपालले अघिल्लो दिन अमेरिकाविरुद्ध ५ विकेटको विजय हात पार्दा ८४ रन बनाई म्यान अफ द म्याच चुनिएका कुशल भुर्तेल खेलको दोस्रो ओभरमै शून्यमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाए । उनले ३३ बल खेली १ चौका प्रहार गरे । अमेरिकाविरुद्ध अविजित ६२ रन बनाएका रोहित पौडेल २० रनमै आउट भए ।

मध्यक्रमका नेपाली ब्याट्सम्यान कसैले गतिलो योगदान दिन सकेनन् । विनोद भण्डारी ६, सोमपाल कामी ७, कुशल मल्ल ४ र विक्रम सोब २ रनमा आउट भए । सन्दीप लामिछानेले १० बल खेली १ चौका र १ छक्कासहित १६ रन बनाए । सन्दीप र सोमपाल रन आउट भए । आउट हुने अन्तिम खेलाडी करण केसी थिए । उनले १ चौका र १ छक्कासहित ४८ बलमा २१ रन बनाए ।

ओमानका बिलाल खानले १० ओभरमा १ मेडन राख्दै ४७ रन खर्चेर ४ विकेट लिए । उनले कुशल भुर्तेल, कुशल मल्ल र विक्रमलाई बोल्ड गरेका थिए । उनले नै कुशल भुर्तेलको विकेट लिएका थिए । नेस्टोर धम्बाले २ र मोहम्मद नदिमले १ विकेट लिए ।

नेपाल ६ अंकसहित छैटौं स्थानमा छ । १० खेलमा १६ अंक बोकेको घरेलु टोली ओमान शीर्ष स्थानमा छ । लिग २ विश्वकप छनोटका आधार हो, जहाँ एक टोलीले ९ शृंखलासहित ३६ खेल खेल्ने छन् । शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन् ।

प्रकाशित : भाद्र २९, २०७८ २२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?