कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

विश्वकप लिग २ : ओमानलाई नेपालको मध्यम लक्ष्य

विनोद पाण्डे

काठमाडौँ — नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा मंगलबारको खेलमा ओमानलाई मध्यम लक्ष्य दिएको छ । टस जितेर ब्याटिङमा आएको नेपाल ४७.४ ओभर खेली १ सय ९६ रनमा अलआउट भयो ।

विश्वकप लिग २ : ओमानलाई नेपालको मध्यम लक्ष्य

ओमानको मस्कटस्थित एमेरात क्रिकेट मैदानमा नेपालबाट आसिफ शेखल सर्वाधिक ९० रन बनाए । १ सय १२ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली ब्याट्सम्यानको दोस्रो उच्च स्कोर हो । यसअघि पारस खड्काले २०१९ मा युएईविरुद्ध दुबईमा १ सय १५ रन बनाएका थिए ।

नेपालले अघिल्लो दिन अमेरिकाविरुद्ध ५ विकेटको विजय हात पार्दा ८४ रन बनाई म्यान अफ द म्याचमा चुनिएका कुशल भुर्तेल खेलको दोस्रो ओभरमै शून्यमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाए । उनले ३३ बल खेली १ चौका प्रहार गरे । अमेरिकाविरुद्ध अविजित ६२ रन बनाएका रोहित पौडेल २० रनमै आउट भए ।

मध्यक्रमका नेपाली ब्याट्सम्यान कसैले गतिलो योगदान दिन सकेनन् । विनोद भण्डारी ६, सोमपाल कामी ७, कुशल मल्ल ४ र विक्रम सोब २ रनमा आउट भए । सन्दीप लामिछानेले १० बल खेली १ चौका र १ छक्कासहित १६ रन बनाए । सन्दीप र सोमपाल रन आउट भए । आउट हुने अन्तिम खेलाडी करण केसी थिए । उनले १ चौका र १ छक्कासहित ४८ बलमा २१ रन बनाए ।

ओमानका बिलाल खानले १० ओभरमा १ मेडन राख्दै ४७ रन खर्चेर ४ विकेट लिए । उनले कुशल भुर्तेल, कुशल मल्ल र विक्रमलाई बोल्ड गरेका थिए । उनले नै कुशल भुर्तेलको विकेट लिएका थिए । नेस्टोर धम्बाले २ र मोहम्मद नदिमले १ विकेट लिए ।

नेपाल ६ अंकसहित छैटौं स्थानमा छ । १० खेलमा १६ अंक बोकेको घरेलु टोली ओमान शीर्ष स्थानमा छ । लिग २ विश्वकप छनोटका आधार हो, जहाँ एक टोलीले ९ शृंखलासहित ३६ खेल खेल्ने छन् । शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन् ।

प्रकाशित : भाद्र २९, २०७८ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?