कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : घरेलु मैदानमा उपाधि जित्न आतुर

दीपक परियार

पोखरा — पोखराको एकै टोलमा बाटो वारिपारि छन्, स्पोर्ट्स क्यासल र बी फिट फुटसल । यी दुवै फुटसलले बनाएका टिम असोज २ देखि २२ सम्म पोखरामा हुने ‘ए’ डिभिजन राष्ट्रिय लिग फुटसलमा सहभागी हुँदैछन् । स्पोर्ट्स क्यासल फुटसल क्लब र बी फिटको सविन ममोरियल फुटसल क्लबले देशभरबाट छानिएका अन्य ८ टिमसँग प्रतिस्पर्धा गर्नेछन् । घरेलु मैदानमा उपाधि जित्न दुवै टिम आतुर छन् । 

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : घरेलु मैदानमा उपाधि जित्न आतुर

बी फिटका सञ्चालक सञ्जय लिगल सविन मेमोरियल क्लबका अध्यक्ष हुन् । लिगमा सहभागी हुने टिमको व्यवस्थापन उनैले सम्हालेका छन् । चार वर्षअघि उनका भाइ सविनको अल्पायुमै निधन भएपछि उनकै स्मृतिमा क्लब खोले । पोखरामा ९ वर्षअघि फुटसल खोल्दा उनी पाँचौं नम्बरमा थियो । कास्की जिल्ला फुटसल संघका उनी पूर्वअध्यक्ष हुन् । टिमको प्रशिक्षण राजेन्द्र तामाङले सम्हालेका छन् । पूर्वराष्ट्रिय फुटबलर तामाङसँग एपीएफ क्लब सम्हालेको अनुभव छ ।

बी फिटबाट झन्डै १ सय मिटरको दूरीमा रहेको स्पोर्ट्स क्यासल तीन वर्षअघि खुलेको हो । पूर्व राष्ट्रिय खेलाडी चन्द्र गुरुङसहित ७ जनाको टिमले सञ्चालनमा ल्याएको स्पोर्ट्स क्यासल चल्तीको पोखरेली फुटसल हो । लिगमा खेल्ने फुटसल टिम भने स्पोर्ट्स क्यासल र राजन एन्ड ब्रदर्शले तयार गरेको हो । राजन एन्ड ब्रदर्शले गत वर्ष स्पोर्ट्स क्यासलमा राष्ट्रिय फुटसल प्रतियोगिता गरेको थियो । फुटसलको राष्ट्रिय टिम प्रशिक्षक रहिसकेका विष्णु गुरुङ स्वयं यो टिमका प्रशिक्षक हुन् । टिम व्यवस्थापकको जिम्मेवारी ओम गुरुङले सम्हालेका छन् ।

गत वैशाखमा भएको गण्डकी प्रदेशस्तरीय छनोटबाट यी दुई टिम लिगबाट छानिएका हुन् । आठ टिममध्ये स्पोर्ट्स क्यासल विजेता र सविन मेमोरियल उपविजेता हुँदै लिग खेल्ने अवसर पाए । छनोटको फाइनलमा निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा ३–२ ले स्पोर्ट्स क्यासल विजेता बनेको थियो । दुई महिनादेखि बन्द प्रशिक्षणमा रहेका यी दुवै टिमको पहिलो लक्ष्य उपाधि जित्नु छ ।

२०६८/६९ मा लेकसाइडमा पहिलोपल्ट सुविधासम्पन्न फुटसल खुल्यो । त्यसयता पोखरामा २७ फुटसल खुलिसकेका छन् । पोखराको लेकसाइड, अधिकारी टोल, रानीपौवा, अमरसिंह चोक, गणेशटोल, गैह्रापाटन, रामबजार, काजीपोखरी, ड्यामसाइड, फूलबारी, मालेपाटन, आलुमाइला चोकमा फुटसल छन् ।

पोखराको मुख्य सहर बाहिर हेम्जा र लेखनाथमा पनि फुटसल विस्तार भएका छन् । चर्को घाम होस् वा घनघोर वर्षा, हरेक समयमा खेल्न मिल्ने भएकाले पोखरामा फुटसलको क्रेज ६–७ वर्षयता ह्वात्तै बढयो । कोरोना महामारीअघि बिहान ६ देखि बेलुका ८ बजेसम्म फुटसल ‘हाउसफूल’ हुन्थे । कोरोना कहरका कारण भने फुटसलमा धक्का पुग्यो । पोखरामै राष्ट्रिय लिग हुने भएपछि भने यहाँका व्यवसायी एवं खेलाडीमा फुटसलप्रतिको चासो बढेको छ । फुटसल लयमा फर्किंदै छ ।

अनुभवी खेलाडी, अब्बल टिमवर्क

स्थापनाको छोटो अवधिमै स्पोर्ट्स क्यासल फुटसलले व्यावसायिक उडान भर्‍यो । दिनहुँजसो हुने फुटसल प्रतियोगितामा आउने खेलाडीमा प्रशिक्षक विष्णु गुरुङको आँखा पर्‍यो । उनले तयार गरेको टिम अन्ततः ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको छनोट खेलमा गण्डकी प्रदेशको विजेता बन्यो । उनकै नेतृत्वमा स्पोर्ट्स क्यासलले सोमबार टिममा सहभागी हुने १७ खेलाडी छनोट गर्‍यो । उनलाई सहायक प्रशिक्षक अर्बिन गुरुङले साथ दिए । दुई महिना लामो बन्द प्रशिक्षणमा २४ जना थिए ।

पोखरा रंगशाला कभर्डहलमा अभ्यासरत स्पोर्ट्स क्यासलको टोली ।तस्बिर : दीपक/कान्तिपुर

क्लब कप्तानमा अनुभवी खेलाडी क्षितिज गुरुङ छन् । फुटसलको राष्ट्रिय टिमको कप्तान रहिसकेका विजय गुरुङ यही टिममा छन् । फुटसलकै राष्ट्रिय खेलाडीद्वय विनोद गुरुङ र सुरज गुरुङले समेत टिमबाट खेल्दैछन् । ३ खेलाडी काठमाडौंबाट आएका छन् भने बाँकी स्थानीयलाई नै क्लबले प्राथमिकता दिएको छ । क्लबका सहायक प्रशिक्षक अर्बिन गुरुङ अनुभवी खेलाडी र अब्बल टिमवर्क नै आफ्नो टिमको सबल पक्ष मान्छन् । ‘खेलाडीबीच एकआपसमा मित्रता र बोन्डिङ नै हाम्रो बलियो पक्ष हो,’ उनले भने, ‘बाँकी टिमसँग प्रतिस्पर्धा गर्न प्रतीक्षारत छौं ।’ तीन राष्ट्रिय खेलाडी भएकाले अन्य टिमको गतिविधिलाई पनि नजिकबाट नियालिरहेको उनले बताए । सबै टिमको जित्ने नै लक्ष्य भए पनि उत्कृष्ट ४ भित्र रहन आफ्नो कोसिस हुने उनी बताउँछन् ।

अन्य टिमले के कसरी अभ्यास गरिरहेका छन् भन्ने स्पोर्ट्स क्यासलमा छलफल हुन्छ । पोखरा होम ग्राउन्ड भएकाले दर्शकको साथ पाउने टिमको अपेक्षा छ । कप्तान क्षितिज गुरुङ सबै खेलाडीले कडा मिहिनेत गरेकाले अब मैदानमा परिणाम देखिने बताउँछन् । ‘सबैले हन्ड्रेड दिएर खेल्ने हो,’ उनी भन्छन्, ‘यो अवसर पहिलोपल्ट आएकाले उपाधि गुम्न दिने छैनौं ।’

अभ्यासमा आफ्ना तीन खेलाडी घाइते भए पनि कोही हतोत्साही नभएको उनले बताए । फुटसललाई अझै व्यावसायिक बनाउन र यसैमा खेलाडीले आफ्नो भविष्य खोज्न सक्ने बनाउन कम्तीमा ४ महिनासम्म चल्ने लिग हुनुपर्ने उनको राय छ । ‘पुरस्कार राशि अझै बढाउन सक्ने र खेलाडीको सुविधा बढाउने हो भने फुटसलको भविष्य उज्ज्वल हुनसक्छ,’ उनले थपे ।

स्पोर्ट्स क्यासललाई पोखराकै व्यावसायिक समूह अंशुभरा ग्रुपले साथ दिएको छ । क्यालिबर सुज, दीप अस्पताल, सगरमाथा इन्स्योरेन्सको साथ यो टिमलाई छ । स्पोर्ट्स क्यासलले लिगको पहिलो दिन प्रभातफेरी युवा क्लबसँग खेल्दैछ ।

टिम : क्षितिज गुरुङ (कप्तान), विजय गुरुङ, विनोद गुरुङ, सुरज गुरुङ, भीषण गुरुङ, योगेश गुरुङ, खिम गुरुङ, विश्वास पौडेल, सुदीप सुनार, उज्ज्वल शाही, अनिश तामाङ, किशोर गुरुङ, दीपेश घले, अञ्जन देवकोटा, फोनस कार्की, रोशन छन्त्याल, सुमित श्रेष्ठ ।

‘काठमाडौंसँग प्रतिस्पर्धा’

फुटबलको राष्ट्रिय टिमबाट खेलिसकेका राजेन्द्र तामाङलाई फुटसल टिमको प्रशिक्षक बन्न प्रस्ताव आएपछि उनी पछि हटेनन् । एपीएफ क्लबका प्रशिक्षक रहिसकेको अनुभव भएकाले सविन मेमोरियल फुटसल क्लब उनैले सम्हाले । फुटसल क्लबको प्रशिक्षक बन्नु उनी स्वयंका लागि नौलो अनुभव थियो । उनी प्रशिक्षक रहेको टिम गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट उपविजेता भएर ‘ए’ डिभिजनको मान्यता पायो ।

टिमको जिम्मा लिएको केही समयमै उनी कोरोना संक्रमित भए । कोरोनाबाट तंग्रिएर प्रशिक्षण सुरु गरे । दुई महिना खेलाडीलाई बन्द प्रशिक्षणमा राखे । दुई महिनासम्म खेलाडीले गरेको मिहिनेत मैदानमा प्रदर्शन गर्ने बेला आएको उनी बताउँछन् । मैदानमा आक्रामक र रक्षात्मक दुवै रणनीति अपनाएर खेल्ने उनले बताए । ‘हाम्रो सिधा प्रतिस्पर्धा काठमाडौंको टिमसँग छ,’ उनले भने, ‘स्कोर र डिफेन्स दुवैलाई उत्तिकै प्राथमिकतामा राखेर खेल्छौं ।’

फुटसल लिग हुने स्थान पोखरा रंगशालामा रहेको कभर्डहलबाहेक पोखरामा एकमात्रै म्याट भएको फुटसल बुलौंदीमा छ । उक्त फुटसलमा एक घण्टाकै १ हजार ५ सय रुपैयाँ बुझाउनुपर्छ । दिनमा ३ घण्टा अभ्यास गर्दा ४ हजार ५ सय रुपैयाँ खर्च हुन्छ । आर्थिक हिसाबले पनि भार पर्ने भएकाले केही दिन उक्त मैदानमा अभ्यास गरे पनि सोमबारदेखि रंगशालाकै कभर्डहलमा टिमले अभ्यास गरिरहेको छ । टर्फमा खेलिरहेका खेलाडीलाई म्याटमा खेल्न अप्ठेरो हुने प्रशिक्षक तामाङ बताउँछन् ।

१७ खेलाडीको टिममा १६ पोखरेली खेलाडी छन् । पोखराकै खेलाडीलाई प्रवर्द्धन गर्न यसो गरिएको तामाङले बताए । टिमका कप्तान अनुप रानामगर राष्ट्रिय टिमबाट फुटसल वर्ल्डकप खेलिसकेका खेलाडी हुन् । अर्का खेलाडी वरदान ताङ्वे लामासमेतले राष्ट्रिय टिमबाट खेलिसकेका छन् । सुनिल बिक यो टिमका उदीयमान खेलाडी हुन् । लिग च्याम्पियन बन्ने लक्ष्य भए पनि हाललाई ‘ए’ डिभिजनमै रहिरहनुलाई प्रशिक्षक तामाङ उपलब्धि ठान्छन् । भन्छन्, ‘अन्तिम ४ मा रहने हाम्रो प्रयास हुनेछ ।’ घरेलु मैदानमा दर्शकको अपेक्षा सम्बोधन गर्न सक्नु अर्को चुनौती उनी देख्छन् ।

टिम : अनुप रानामगर (कप्तान), वरदान ताङ्वे लामा, मनोज गुरुङ, सरोज गुरुङ, अविनाश तामाङ, समिर प्रधान, विमान प्रधान, विनम गुरुङ, रोहित नेपाली, सुनील बिक, सुनील नेपाली, रोमन थापा, सञ्जय जलारी, एलन गुरुङ, मनीष सेढाईं, सन्तोष ।

प्रकाशित : भाद्र २९, २०७८ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?