२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कहाँ आशा गर्ने ?

एएफसी वुमेन्स एसियन कप २०२२ छनोट खेल्ने तयारीमा रहेको नेपालले बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गर्न सकेन । विशेषगरी टिमको आक्रमण भुत्ते खुकुरीजस्तै भयो ।
राजु घिसिङ

काठमाडौं — अन्तर्राष्ट्रिय खेलकुद आयोजनाका लागि देशकै मुख्य थलो दशरथ रंगशालामा ‘डेब्यु’ गर्दा नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशविरुद्ध २–१ को संघर्षपूर्ण जित हात पारेको थियो ।

कहाँ आशा गर्ने ?

त्यसको तीन दिनपछि आइतबार घरेल टिमले अझै खराब खेल्यो । दोस्रो मैत्रीपूर्ण खेल गोलरहित टुंगियो । समग्रमा दुई खेललाई हेर्ने हो भने नेपालको प्रदर्शन पनि राम्रो भएन । विशेषगरी दोस्रो खेल त नेपालको बंगलादेशविरुद्ध इतिहासकै खराब रह्यो ।

घुँडाको शल्यक्रियापछि दोहामा रिह्याबिलिटेन गरिरहेकी फरवार्ड सावित्रा भण्डारीबिना नेपाली टिमको आक्रमण फिक्काफिक्का रह्यो । प्रशिक्षक ग्यारी फिलिप्सले उनको अनुपस्थितिमा प्रीति राई, सविता राना, रश्मिकुमारी घिसिङ, विमला चौधरी, अनिता केसीलाई अग्रपंक्तिमा खेलाए । तर कुनै पनि फरवार्डको प्रदर्शनमा खुसी हुने अवस्था छैन । त्यतिमात्रै कहाँ हो र ? मिडफिल्डले पनि स्ट्राइकरलाई खासै बल उपलब्ध गराउन सकेन । नेपालले आइतबार निश्चित गोलको एउटा पनि अवसर सिर्जना गर्न सकेन । अर्कोतिर, पाहुना टिमले नेपाली डिफेन्सलाई बारम्बार दुःख दियो । विगतमा एकतर्फी दबाबमा राखेको टिमविरुद्ध घरेलु मैदानमा रक्षापंक्तिको राम्रै परीक्षा लियो । गीता राना, अमृता जैसी र पूजा रानाले राम्रै प्रदर्शन गरे ।

पहिलो खेलमार्फत सविता, प्रीति, सिर्जना सिंह र रश्मिले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरे । सविता र प्रीतिले सिनियर टिमबाट खेलेको पहिलो खेलमै गोल गरेर केही आशा देखाएका थिए । दोस्रोमा त्यस्तो आशा गर्ने ठाउँ पनि रहेन । आक्रामक मिडफिल्डको भूमिकामा प्रीति दबाबमा देखिइन् । उनको स्थान लिँदै रजनी थोकरले ८९ औं मिनेटमा सिनियर टिममा डेब्यु गरिन् । अब यो टिमका डिफेन्स निशा थोकर र विमला विक तथा तेस्रो रोजाइकी गोलकिपर उषा नाथले डेब्यु गर्न बाँकी रह्यो ।

प्रशिक्षक फिलिप्सले बिहीबार जित हात पारेको टिमको पहिलो रोजाइमा तीन खेलाडी परिवर्तन गर्दै नेपाली टिमलाई दशरथ रंगशालामा उतारेका थिए । उनले गोलकिपर एन्जिला तुम्बापो सुब्बाको स्थानमा अञ्जना रानामगरलाई गोलपोस्टको जिम्मेवारी दिए । मिडफिल्डमा मञ्जलीकुमारी योञ्जनको स्थानमा अनिता बस्नेतलाई ल्याए । अग्रपंक्तिमा सवितालाई ‘बेन्च’ मा राख्दै रश्मिलाई अवसर दिइएको थियो । पहिलो रोजाइमा परिवर्तनको असर मैदानमा देखिएन । दोस्रो हाफमा सविता, अनिता केसी र रजनीलाई ल्याइए पनि घरेलु टिमको खेलमा कुनै सुधार भएन ।


बंगलादेशले गोलको प्रयास गरिरहँदा सेन्टर–ब्याक गीताको प्रदर्शन राम्रो दखियो । उनले नवौं मिनेटमै अञ्जनाको गल्तीमा श्रीमोती सरकारले खाली पोस्टमा प्रहार गर्न लागेको बल खोस्दै नेपालको संकट टारेकी थिइन् । उनले मोसम्मत सोपनाले पोस्टमा गोलकिपरमात्रै रहेको अवस्थामा २३ औं मिनेटमा अगाडि बढाइरहेको बल पनि खोसेकी थिइन् । पूजाले पनि दुईपल्ट सही ट्याकल गरिन् ।

मिडफिल्डमा कप्तान रेनुका नगरकोटे र सरु लिम्बूको प्रदर्शन केही आशा गर्न सकिने देखियो । पहिलो हाफमा सरुले तीनपल्ट अवसर पाएकी थिइन् । उनले दसौं मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाटै गरेको प्रहार गोलकिपर रूपनाचक्माले राम्रो बचाउ गरिन् । उनले ११ औं मिनेटमा गरेको प्रहार भने फितलो रह्यो । अगाडि गोलकिपरमात्रै रहँदा २० औं मिनेटमा अघि बढेकी उनीविरुद्ध मसुरा परविनले आकर्षक ट्याकल गर्दै बल क्लियर गरिदिइन् ।

बंगलादेशको गोलको प्रयासमा अमृताको प्रदर्शन पनि राम्रो रह्यो । श्रीमोतीले २९ औं मिनेटमा प्रहार गरेको बल बारमा लाग्दै बाहिरियो । विमला चौधरीले ४३ औं मिनेटमा पोस्टमा गोलकिपरमात्रै रहेको अवस्थामा पाएको बल प्रहार गर्न ढिलाइ गरिन् । केही पछि उनले प्रहार गरेको बललाई डिफेन्सले रोकिदिए । दोस्रो हाफ नीरस रह्यो । दुवै टिमले उल्लेख गर्न लायक आक्रमण गरेनन् ।

सिनियर टिमको प्रतिस्पर्धामा नेपाली टिम बंगलादेशविरुद्ध आठौं खेलसम्म अपराजित छ । तर प्रदर्शन भने खस्किँदै गएको छ । बंगलादेशले सुधारिएको प्रदर्शन गरिरहेको छ । त्यसैले त उसले आठ भेटमा दोस्रोपल्ट बराबरी गर्‍यो, त्यो पनि नेपालमै । ठीक उल्टो नेपाली टिमको प्रदर्शन भने खस्किँदै गएको मैत्रीपूर्ण खेलका नतिजाले सावित गर्‍यो । यस्तो प्रदर्शनले अर्को साता उज्वेकिस्तानमा हुने एएफसी एसियन कप २०२२ छनोटमा नेपाललाई फाइदा गर्ने छैन । फिटनेस, गति र रणनीतिक हिसाबले पनि नेपाली खेलाडीलाई माथिल्लोस्तरका फिलिपिन्स र हङकङविरुद्ध टिक्नै गाह्रो पर्न सक्छ ।


छनोटमा सुधार गर्ने वाचा

‘प्रदर्शन निराशाजनक रह्यो । तर यसले एसियन कप छनोटमा फाइदा गर्नेछ,’ अस्ट्रेलियन प्रशिक्षक फिलिप्सले भने, ‘यो मैत्रीपूर्ण खेल हो । फिटनेसमा दिनदिनै रामे भइरहेको छ । प्रतियोगितामा फिटनेस र ट्याक्टिस फरक स्तरको हुन्छ । अर्को साता (एसियन कप छनोटमा) समूहमा शीर्षस्थानमा रहने प्रयास गर्नेछौं ।’

कप्तान रेनुकाले विदेशी प्रशिक्षकको अमागनसँगै रणनीति परिवर्तन भएको र यस्तोमा टिमको समन्वय मिलाउन संघर्ष गरिरहेको बताइन् । ‘जस्तो खेल्नुपर्ने त्यस्तो भएन । यो तयारी हो, अब छनोटमा राम्रो गर्नेछौं,’ उनले भनिन्, ‘नयाँ सिस्टममा धेरैलाई खेल्न गाह्रो भएको छ । प्रशिक्षक पनि ढिला आएकोले सिक्न समय लागिरहेको छ । स्तर राम्रो हुन्छ । तर धेरै जुनियरसँग खेल्दा उनीहरूले कस्तो खेल्छन् भन्ने अझै थाहा पाइएको छैन । त्यसैले गाह्रो भइरहेको छ ।’

बंगलादेशी प्रशिक्षक गोलाम रोब्बानिचोतानले आफ्ना खेलाडीको प्रशंसा गर्दै भने, ‘नेपाल राम्रो टिम हो । हाम्रा खेलाडीले ९० मिनेट नै राम्रो खेले । धेरै समय सँगै खेलेको, एकेडेमीमा रहेकोले हाम्रो टिमको समन्वय राम्रो भयो । धेरै राम्रो खेल्यौं । अब एसियन छनोटमा जोर्डनलाई निशाना बनाउनेछौं ।’ बंगलादेशी टिम पनि काठमाडौंबाटै उज्वेकिस्तान प्रस्थान गर्नेछ, जहाँ उसले जोर्डन र इरानविरुद्ध खल्नेछ । समूहविजेता टिमले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

प्रकाशित : भाद्र २८, २०७८ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?