कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

जोकोभिचलाई हराएर मेडभेडेभ बने यूएस च्याम्पियन

एजेन्सी

न्युयोर्क — डानिल मेडभेडेभले नोभाक जोकोभिचलाई हराएर आइतबार यूएस ओपन टेनिस जितेका छन् । उनको यो जितले नम्बर एक खेलाडीको २१ औं ग्रान्ड स्लाम जित्ने सपना रोकिएको छ । रुसका दोस्रो वरीयताप्राप्त मेडभेडेभले खेलमाथि पूर्ण नियन्त्रण राख्दै ६–४, ६–४, ६–४ को जित निकाले ।

जोकोभिचलाई हराएर मेडभेडेभ बने यूएस च्याम्पियन

हारले जोकोभिचको सन् १९६९ यता वर्षका चारै ग्रान्ड स्लाम जित्ने अभियानमा समाप्त भएको छ । उनी रोजर फेडेरर र राफेल नडालको २० ग्रान्ड स्लाम उपाधिको उपलब्धिमै बराबरी रहे ।

‘सबैभन्दा पहिलो म जोकोभिच र समर्थकसँग माफी माग्न चाहन्छु । हामी सबैलाई थाहा छ, उनको मनमा के भइरहेको छ भनेर । उनको खेलजीवन आफैंमा अद्वितीय छ र मेरा लागि उनी टेनिस इतिहासमै महान् खेलाडी हुन्,’ मेडभेडेभले भने । सन् २०१९ को यूएस ओपनका उपविजेता मेडभेडेभले तेस्रो ग्रान्ड स्लाम फाइनलमा आएर उपाधि जिते । उनी यसअघि अस्ट्रेलियन ओपनमा यसै वर्ष पराजित भएका थिए ।

त्यतिबेला उनी ३४ वर्षीय सर्बियाली खेलाडीकै हातबाट पराजित भएका हुन् । खेलपछि जोकोभिचले भने, ‘मेडभेडेभलाई बधाई छ, यो खेलमा उनको प्रदर्शन उत्कृष्ट रह्यो । अहिले तत्काल कोही ग्रान्ड स्लाम उपाधिका लागि सबैभन्दा बढी योग्य छन् कोही भने त्यो मेडभेडेभ नै हो ।’ रोड लेभरले ५२ वर्षअगाडि वर्षका चारै ग्रान्ड स्लाम जितेका थिए । जोकोभिचले यस वर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितेर लेभरको बराबरी गर्नसक्ने स्थितिमा पुगेका थिए ।

लेभरले पछि ट्विट गर्दै लेखेका छन्, ‘मेडभेडेभको प्रदर्शन उत्कृष्ट रह्यो । यो खेलमा उनले टेनिस खेलकै उत्कृष्ट खेलाडीलाई रोकेका छन् । कसैका लागि पनि पहिलो ग्रान्ड स्लाम फाइनल जित विशेष रहने गर्छ । त्यो पनि नोभाक जोकोभिच जस्ता खेलाडीविरुद्ध । जोकोभिचको यात्रा अझै टुंगिएको छैन, त्यसैले मेरो उनलाई शुभकामना छ ।’ जोकोभिच चौथो यूएस ओपन जित्न असफल रहेपछि विश्व टेनिसका ‘बिग थ्री’ कै बराबरीमा रहे ।

उनीसँगै फेडेरर र नडालले २०–२० ग्रान्ड स्लाम उपाधि जितेका छन् । यो सर्वकालीन प्रदर्शनको कीर्तिमान हो । हारमा जोकोभिच भावनात्मक पनि रहे । उनले राहत महसुस गरेको सुनाए । उनले भने, ‘यसपल्ट यूएस ओपन तयारीका लागि मैले मानसिक र शारीरिक रूपमा निकै कडा मिहिनेत गरेको थिएँ । त्यसैले पछिल्ला दुई साता निकै भावनात्मक रहे र यो सम्हाल्न सजिलो परिस्थिति थिएन । अहिलेका लागि यो क्रम रोकिएको छ, त्यसैले म खुसी छु ।’

प्रकाशित : भाद्र २८, २०७८ ०६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?