दुई किशोरीबीच यूएस ओपन फाइनल

एएफपी

न्युयोर्क — बेलायती १८ वर्षीया इमा राडुकानु शुक्रबार इतिहासमा ग्रान्ड स्लामको फाइनल पुग्ने पहिलो क्वालिफायर खेलाडी भएकी छन् । यूएस ओपनको फाइनलमा उनको सामना अर्का क्यानडेली किशोरी लेलाह फर्नान्डेजविरुद्ध हुनेछ । यो वर्षको सुरुसम्म राडुकानु बेलायतमै पनि कसैले नाम नसुनेका खेलाडी जस्तै थिइन् । 

दुई किशोरीबीच यूएस ओपन फाइनल

तर सेमिफाइनल खेल्ने सबैभन्दा कान्छी खेलाडी हुने क्रममा १७ वर्षीया राडुकानुले ग्रिसकी १७ औं वरीयताप्राप्त मारिया साकारीलाई ६–१, ६–४ ले पराजित गरिन् । खेलपछि उनले प्रतिक्रिया दिँदै भनेकी छन्, ‘म फाइनल पुगेकी छु तर, मलाई नै विश्वास भइरहेको छैन ।’ सन् २००४ मा मारिया सारापोभाले १७ वर्षको उमेरमा विम्बल्डन जितेयता कान्छी खेलाडीको रूपमा फाइनल पुग्ने राडुकानु पहिलो हुन् । सन् २०१४ मा सेरेना विलियम्सपछि एक सेट पनि नहारेर युएस ओपन उपाधि जितको नजिक छिन् राडुकानु ।

उनको फाइनल प्रतिद्वन्द्वी फर्नान्डेजको जित भने केही कठिन रह्यो । विश्व वरीयताको ७३ औं स्थानमा रहेकी फर्नान्डेजले भने दोस्रो वरीयताकी बेलारुसी आर्यन सबालेन्कालाई ७–६, ४–६ , ६–४ ले पराजित गरिन् । शीर्ष वरीयताका पाँच खेलाडीमाथि फर्नान्डेजको यो तेस्रो जित हो । सन् २०१२ को विम्बल्डनमा सेरेना विलियम्सले यस्तै उपलब्धि हात पारेकी थिइन् । खेलपछि फर्नान्डेजको प्रतिक्रिया थियो, ‘अब भन्न सक्छु, म आफ्नो सपना पूरा गर्ने बाटोमा छु ।’

फाइनल अब आर्थर एस स्टेडियममा शनिबार हुनेछ । दुवै खेलाडीमध्ये एकले आफ्नो खेल जीवनकै पहिलो ग्रान्ड उपाधि जित्नेछन् । फाइनललाई लिएर राडुकानुले भनेकी छन्, ‘क्वालिफायरका रूपमा म फाइनल पुगेको छु, त्यसैले कम्तीमा कागजमै सही ममाथि दबाब कम छ ।’ सन् १९९९ को यूएस ओपनयता यो पहिलो दुई किशोरी खेलाडीको फाइनल हुनेछ ।

त्यतिबेला १७ वर्षीया सेरेनाले फाइनलमा १८ वर्षीया मार्टिन हिंगिसलाई हराएकी थिइन् । उपाधि भिडन्तलाई लिएर फर्नान्डेजको प्रतिक्रिया छ, ‘मेरो ध्यान फाइनल खेल्नुमा मात्र छ, अहिलेसम्म जे जति हात पारेको छु, त्यसमै खुसी भएर फाइनल खेल्नेछु, मलाई भोलि के हुनेछ, त्यसमा धेरै चिन्ता छैन ।’ फर्नान्डेज तिनै खेलाडी हुन् जसले फाइनल यात्रा पुग्नुअगाडि डिफेन्डिङ च्याम्पियन नाओमी ओसाका र पाँचौं वरीयताप्राप्त एलिना स्भिटोलिनालाई पन्छाएकी थिइन् ।

प्रकाशित : भाद्र २६, २०७८ ०६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?