१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अन्तर्राष्ट्रिय गोल संख्यामा मेसीले पेलेलाई उछिने

काठमाडौँ — अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले अन्तर्राष्ट्रिय गोलसंख्या महान खेलाडी पेलेलाई उछिनेका छन् । बिहीबार विश्वकप छनोटअन्तर्गत बोलिभियासँगको खेलमा ह्याट्रिक गरेसँगै मेसीले पेलेको गोल संख्यालाई उछिनेका हुन् ।

अन्तर्राष्ट्रिय गोल संख्यामा मेसीले पेलेलाई उछिने

ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका पेलेले ९२ खेलमा ७७ गोल गरेका थिए । सन् १९५८, १९६२ र १९७० मा ब्राजिलले विश्वकप जित्दा पेले टिममा थिए । विभिन्न विश्वकपमा पेलेले १४ खेलबाट १२ गोल गरेका थिए ।

बोलिभियाविरुद्ध मेसीले १४, ६४ र ८८औं मिनेटमा गोल गरेका थिए । उक्त खेल अर्जेन्टिनाले ३–० ले जितेको थियो । त्यस्तै उनले अर्जेन्टिनी राष्ट्रिय टिमबाट ७औं ह्याट्रिक गरेका छन् ।

त्यस्तै दक्षिण अमेरिकाबाट सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि मेसी नै बनेका छन् । ‘म निकै चिन्तित थिएँ । यसका लागि मैले लामो समय पर्खिएको थिएँ । यसको सपना देखेको थिएँ, मेरी आमा यहाँ हुनुहुन्छ, मेरा दाजुभाइ यहाँ छन् । म आज निकै खुसी छु,’ मेसीले पोस्टम्याच कन्फरेन्समा भने ।

रोनाल्डोले तोडे अली देईको कीर्तिमान

अन्तर्राष्ट्रिय गोलको कीर्तिमान भने पोर्चुगिज स्टार रोनाल्डोको नाममा रहेको छ । उनले केही दिनअघि मात्रै विश्वकप छनोट खेलमा आयरल्यान्डविरुद्ध २ गोल गर्दै इरानी खेलाडी अली देईको रेकर्ड तोडेका थिए । उनले पोर्चुगलका लागि १११ गोल गरेका छन् । त्यस्तै अली देईको नाममा १०९ गोल छ ।

ब्युनर्स आर्यसमा भएको खेलमा २१ हजार दर्शकलाई रंगशाला प्रवेशका लागि अनुमति दिइएको थियो । अर्जेन्टिनाले २८ वर्षको खडेरी तोड्दै गत जुलाईमा मात्र कोपा अमेरिकाको उपाधि जितेको थियो ।

१० टिमको छनोट खेलमा ब्राजिलपछि अर्जेन्टिना दोस्रो स्थानमा रहेको छ । ब्राजिलले ८ वटै खेल जित्दै २४ अंकसहित शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले ८ खेलमध्ये ५ मा जित र ३ मा बराबरी गर्दै १८ अंक बनाएको छ ।

प्रकाशित : भाद्र २५, २०७८ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?