तालिवानले महिला क्रिकेटलाई प्रतिबन्ध लगाए अफगानिस्तानसँगको टेस्ट रद्द गर्ने अस्ट्रेलियाको चेतावनी

एएफपी

सिड्नी — क्रिकेट अस्ट्रेलियाले बिहीबार महिला क्रिकेटमाथि तालिवानले प्रतिबन्ध लगाए अफगानिस्तानसँग ऐतिहासिक टेस्ट रद्द गर्ने धम्की दिएको छ । तालिवानले महिला खेलकुदमाथि नै प्रतिबन्ध लगाउन सक्नेछ ।

तालिवानले महिला क्रिकेटलाई प्रतिबन्ध लगाए अफगानिस्तानसँगको टेस्ट रद्द गर्ने अस्ट्रेलियाको चेतावनी

यसै कारण अफगानिस्तानको अस्ट्रेलिया भ्रमण गम्भीर संकटमा परेको हो । यसअघि तालिवानको सांस्कृतिक कमिटीका प्रमुख अहमदुल्ला वासिकले आफ्नो सरकारको निर्देशनमा अफगानी महिलाले क्रिकेटमात्र होइन, अन्य खेल पनि नखेल्ने बताएका थिए । उनले भनेका छन्, ‘मेरो विचारमा महिलाले क्रिकेट खेल्न पाउने छैनन्, किनभने यो आवश्यक छैन । क्रिकेटका क्रममा महिलाका अनुहार र अन्य अंग प्रदर्शित हुनेछन् । इस्लामले यसलाई मान्यता दिँदैन ।’

उनले थपेका छन्, ‘अहिलेको सञ्चारको समयमा तस्बिर र भिडियोको माध्यमबाट आममानिसले यस्ता दृश्य हेर्नेछन् । इस्लाम र इस्लामिक इमिरेट्सले महिलाको अंग प्रदर्शित हुने क्रिकेटमात्र होइन, अन्य कुनै खेललाई पनि अनुमति दिँदैन ।’ अफगानिस्तानमा सत्ता कब्जा गरेलगत्तै तालिवानले पुरुष क्रिकेटलाई भने अगाडि बढाउने बताएको थियो । क्रिकेट अस्ट्रेलियाले भनेको छ, ‘खेल भनेको सबैका लागि हो । सबै प्रकार र स्तरको खेलमा महिला सहभागिता हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । अफगानिस्तानमा महिलालाई क्रिकेट खेल्नबाट रोकिन्छ भने हामीसामु होबार्टमा हुने भनिएको टेस्ट रद्द गर्नुबाहेक अर्को विकल्प हुने छैन ।’

तालिवानले पहिलोपल्ट अफगानिस्तानमा सत्ता सम्हाल्दा अधिकांश खेलकुदसँगै मनोरन्जनको साधनमा रोक लगाएको थियो ।

प्रकाशित : भाद्र २५, २०७८ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?