१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

साम्बाबिना खेल्दै छ नेपाल

नेपाली महिला राष्ट्रिय टोलीले दशरथ रंगशालामा पहिलोपल्ट खेल्दै छ, जहाँ कीर्तिमानी गोलकर्ता सावित्रा भण्डारी हुनेछैनन्
राजु घिसिङ

काठमाडौँ — नेपाली राष्ट्रिय महिला टोलीले अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेयताकै सबैभन्दा खराब प्रदर्शन तेस्रो वुमेन्स साफ च्याम्पियनसिप २०१४ मा गरेको थियो । पाकिस्तानको राजधानीस्थित जिन्नाह स्पोर्ट्स स्टेडियममा भएको फाइनलमा भारतसँग ६–० ले हारेको थियो ।

साम्बाबिना खेल्दै छ नेपाल

त्यही प्रतियोगिताबाट उदाएकी थिइन् सावित्रा भण्डारी । अन्तर्राष्ट्रिय फुटबलमा निरन्तर गोल गर्दै उनी ‘साम्बा’ नामले चर्चितमात्रै होइन, राष्ट्रिय टोलीकै मुख्य खेलाडीको रूपमा स्थापित भइन् ।

साम्बाले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको ५ वर्षभित्रै नेपालका लागि सबैभन्दा बढी ३८ गोल गरिन् । उनले साफ २०१४ को पहिलो खेल (भुटानविरुद्ध ८–० को जित) मार्फत् ‘डेब्यु’ गरेकी थिइन् । उनले त्यहाँ अनु लामाको स्थानमा मैदान प्रवेश गरेको दुई मिनेटभित्रै गोल गरेकी थिइन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) २०१९ मा आएर पोखरा रंगशालामा माल्दिभ्सविरुद्ध ह्याट्रिक गर्दै साम्बा उनै अनु (३५ गोल) उछिन्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता नेपाली भएकी थिइन् ।

साम्बाको डेब्युयता नेपालले ९ प्रतियोगिता र ३ मैत्रीपूर्ण खेलमा गरी ३९ खेल खेलेको छ, जसमा नेपालले प्रतिखेल २.१५ को औसतमा ८४ गोल गरेको छ । त्यसमध्ये ४५.२४ प्रतिशत गोल साम्बा एक्लैले गरेकी छन् । एकपछि अर्को कीर्तिमान थपेकी उनले ३८ गोल गरेकी हुन् । उनको आगमनपछि नेपालले ७ खेल (भारतविरुद्ध ५, म्यानमारविरुद्ध १, उज्वेकिस्तानविरुद्ध १) मा मात्रै गोल गर्न सकेन ।

पछिल्ला दुई खेलमा नेपाल गोलविहीन रह्यो । दुवै खेल भारतविरुद्ध थियो । ती १३ औं साग (डिसेम्बर, २०१९) को फाइनल र राउन्ड रोबिन लिगको अन्तिम खेल थिए । झन्डै २१ महिनापछि नेपाली महिला टिम मैदानमा फर्किंदै छ । नेपालले मैत्रीपूर्ण खेलमा बंगलादेशविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्दै छ । नेपाल र बंगलादेश एएफसी वुमेन्स एसियन कप २०२२ छनोट खेल्दैछन् । यसैको तयारीमा दुई खेल खेल्न बंगलादेशी टिम काठमाडौं आएको हो । महिला राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय फुटबलको मुख्य आयोजनास्थल दशरथ रंगशालामा पहिलोपल्ट खेल्न लागेको हो । र, टिमकै मुख्य खेलाडी साम्बाबिना नेपाल सात वर्षयता पहिलोपल्ट खेल्दै छ ।

नयाँले राम्रो गर्ने विश्वास

घुँडाको शल्यक्रियापछि दोहामा ‘रिह्याबिलिटेसन’ गरिरहेकी साम्बाको अनुपस्थितिबारे टिम कप्तान रेनुका नगरकोटे भन्छिन्, ‘हामीले साम्बासँग नियमित खेलिरहेका छौं । टिमको अग्रपंक्ति उनैको भरमा थियो । त्यसैले उनको अभाव हुन्छ नै । ‘मिस’ गरिरहेकै छौं । तर, नयाँ बहिनीहरूले राम्रो गर्छन् भन्ने विश्वास छ । साम्बाजस्तै खेल्न नसक्लान् तर जुनियर खेलाडीहरू सबै राम्रा छन्, खेल्ने तरिका फरक छ, साम्बा छैन भनेर आत्तिनुपर्ने छैन ।’

बंगलादेशी टिमका प्रशिक्षक गोलाम रोब्बानी चोतान भने ‘साम्बा’ अनुपस्थितिको फाइदा लिने दाउमा छन् । ‘साम्बा दक्षिण एसियाकै एक उत्कृष्ट स्ट्राइकर हुन्,’ बुधबार आयोजित प्रि–म्याच प्रेस कन्फ्रेन्समा उनले भने, ‘उनी यहाँ (खेलमा) हुने छैनन् । सबै डिफेन्सलाई राहत मिलेको छ । हामीलाई मनोवैज्ञानिक रूपमा बलियो बनाएको छ ।’ नेपालकी कप्तान रेनुकाले भनिन्, ‘साम्बा नहुँदा विपक्षी टिम मानसिक रूपमा बलियो त हुन्छ । क्लब (एपीएफ) मै पनि उनी नहुँदा आर्मीले वर्चस्व जमाउन खोजेको थियो । त्यो स्वाभाविक हो । तर, हाम्रो मनोबल गिरेको छैन ।’ रेनुका र साम्बाले घरेलु फुटबलमा एउटै क्लबबाट खेल्ने गरेका छन् ।

प्रिम्याच प्रेस कन्फ्रेन्समा बंगलादेशका प्रशिक्षक गोलाम रोब्बानी चोतान । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

महिला टिमले पहिलोपल्ट विदेशी प्रशिक्षकको रूपमा अस्ट्रेलियन ग्यारी फिलिप्सलाई पाएको छ । एन्फाका प्राविधिक निर्देशकसमेत रहेका उनले टिमलाई ६ साता अभ्यास गराइसकेका छन् । उनले साम्बाको स्थानमा सम्भवत् प्रीति राईलाई खेलाउने छन् । पहिलोपल्ट राष्ट्रिय टिममा स्थान बनाएका सात खेलाडीबाट उनले रजनी थोकर वा रश्मीकुमारी घिसिङलाई पनि रोज्न सक्छन् वा साम्बासँग सहकार्य गरिसकेकी अनिता केसी अग्रपंक्तिका मुख्य खेलाडी हुन सक्छिन् ।

फिलिप्सले एपीएफकी प्लेमेकर सरु लिम्बुलाई पनि स्ट्राइकरको जिम्मेवारी दिन सक्छन् । उनले हरेक ‘पोजिसन’ मा धेरै खेलाडीलाई तयार पारेका छन् । ‘केही खलाडीलाई चोटका कारण गुमाएका छौं तर तयारी राम्रो भएको छ,’ फिलिप्सले भने, ‘गोलकी भोका साम्बालाई गुमाउनु ठूलो क्षति हो । उनी नहुनु भनेको मार्टाबिनाको ब्राजिली टिमजस्तै हो । उनीसँग अन्तर्राष्ट्रिय फुटबलको राम्रो अनुभव छ । उनले मैदानमा धेरैको ध्यान तान्ने थियो । मानसिक रूपमा टिम बलियो हुने थियो । पक्कै पनि उनको अभाव खट्किने छ । उनको अभावपूर्ति गर्ने चुनौती छ । टिममा खेलाडी तयार गर्दै छु । कसैले साम्बाको स्थान लिनेछन् ।’

डिफेन्समा अनुभवी खेलाडी भएको उल्लेख गर्दै उनले मिडफिल्डर सरुलाई लियोनल मेसीलाई जस्तै खुला रूपमा खेल्न दिइने पनि बताए । बंगलादेशविरुद्ध ६ खेलमा नेपालले ५ जित हात पार्दा एक खेल बराबरी खेलेको थियो । मैत्रीपूर्ण खेलपछि नेपालले एसियन कप छनोटमा फिलिपिन्स (असोज २) र हङकङविरुद्ध (असोज ५) तास्केन्द (उज्वेकिस्तान) मा प्रतिस्पर्धा गर्नेछ ।

नेपालका प्रशिक्षक ग्यारी फिलिप्स । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

बलियो भएर फर्कने वाचा

साम्बालाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगमा पुलिसविरुद्धको खेलमा (३ फागुन, २०७७) बल प्रहार गरेपछि ‘ल्यान्डिङ’ गर्ने क्रममा सन्तुलन नमिल्दा दायाँ घुँडामा चोट लागेको थियो । उनले एसीएल र मिडियल मिनस्कसको शल्यक्रिया दोहास्थित अस्पेटरमा असार ३१ मा गराइन् । अस्पेटरमै रिह्याबिलिटेसन गरिरहेकी उनले भनिन्, ‘सोचेजस्तो रिकोभर भइरहेको छ । मैदानमा ६ महिनामा फर्कनसक्ने भनेका छन् । तर, प्रतिस्पर्धालाई तयार हुन अझै समय लाग्न सक्छ ।’

‘हामी बंगलादेशविरुद्ध अपराजित छौं । म नहुँदा पनि हाम्रो टिमले जितेको थियो, हामी हुँदा जितेकै छौं । त्यसैले हाम्रो टिमको मनोबल उच्च छ,’ २४ वर्षीया साम्बाले भनिन्, ‘विदेशी कोच, नयाँ रणनीति र युवा टिमको परीक्षा हुँदै छ । पुरुष टिमलाई जस्तै दशरथ रंगशालामा हौसला प्रदान गर्‍यो भने अझै राम्रो हुनेछ । राम्रो नतिजा ल्याउँछ जस्तो लाग्छ ।’ उनले थपिन्, ‘बहिनीहरूसँग (जुनियर खेलाडी) नियमित कुरा हुँदा हामी राम्रो टिम हो, राम्रो कोच छन्, सही टिममा छौ, खेल जित्नुपर्छ भन्ने गर्छु । आफ्नै क्षमताले नयाँ सात खेलाडी टिममा परेका छन् । दिदीहरूले गरिरहेको बेला उनीहरूमा पनि केही गर्नुपर्छ भन्ने भोकोपन छ । त्यसैले यो टिमले राम्रो गर्नेछ ।’

राष्ट्रिय महिला टिम पहिलोपल्ट दशरथ रंगशालामा खेल्दा र पहिलोपल्ट एसियन कप छनोट खेल्दा नै टिममा नहुनुको पीडा पनि उनले पोखिन्, ‘जो कोही नेपाली खेलाडीको पनि दशरथ रंगशालामा खेल्ने सपना हुन्छ नेपाली समर्थकमाझ । यसपालि पूरा हुन सकेन मेरो त्यो सपना । यो आफ्नै ठाउँमा छ । एसियन छनोटमा हामी पनि दाबेदार छौं है भनेर देखाउने अवसर थियो । त्यो पनि मिस गर्दै छु । दुःखका साथ मिस गर्दैछु भनेजस्तो भइरहेको छ ।’ तर, चार ह्याट्रिकसमेत गरेकी उनले अझै बलियो भएरमा मैदानमा फर्किने वाचा गरिन् ।

आजको खेल

नेपालविरुद्ध बंगलादेश, १७ : ०० बजे, दशरथ रंगशाला

प्रकाशित : भाद्र २४, २०७८ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?