कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

फेरिएको नतिजा

भारतविरूद्ध नेपालको १५ औं हार, भारतीय कप्तान सुनील क्षत्रीको दशरथ रंगशालामा पहिलो गोल
राजु घिसिङ

काठमाडौँ — ५ सेप्टेम्बर २०१३ । ठीक यो दिन नेपाली राष्ट्रिय फुटबल टिमले भारतविरुद्ध प्रतिस्पर्धा गरेको थियो । दशरथ रंगशालाको प्रतिस्पर्धामा अनिल गुरुङ र जुमनु राईको गोलमा नेपालले २–० को अग्रता लिएको थियो । सइद रहिम नाबीको गोल भारतलाई सान्त्वना मात्र बनेको थियो । तीनै गोल दोस्रो हाफमा हुँदा नेपाल २–१ को जितसहित साफ च्याम्पियनसिपमा पहिलोपल्ट समूह विजेता बनेको थियो ।

फेरिएको नतिजा

ठ्याक्कै आठ वर्षपछि आइतबार यही दशरथ रंगशालामा नेपाल र भारतको प्रतिस्पर्धामा फेरि २–१ को नतिजा निस्कियो । यो मैत्रीपूर्ण नतिजा भने पाहुना टिमको पक्षमा रह्यो । निकै रोमाञ्चक खेलको कथा–पटकथा उस्तैगरी फेरि दोहोरियो । तीनै गोल दोस्रो हाफमा भए । भारतले २–० को अग्रता लिएपछि तेज तामाङले सान्त्वना गोल गरे ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मिडफिल्डमा ‘बक्स टु बक्स’ खेल्ने जिम्मेवारी दिएका तेजले ८७ औं मिनेटमा गरेको गोल सानदार रह्यो । ‘कर्नर फ्ल्याग’ नजिक गौतम श्रेष्ठले दिएको बललाई करिब २५ यार्डबाट सशक्त रूपमा प्रहार गर्दै तेजले लोभलाग्दो गोलमा परिणत गरे, जसले भारतको अग्रता २–१ मा झारेको थियो । नेपालका लागि ११ औं खेल खेल्दै तेजले पहिलो गोल गरेका हुन् ।

दुवै मैत्रीपूर्ण खेलमा नेपाली टिमको उत्कृष्ट खेलाडीको अवार्ड हात पारेका तेजको गोलसँगै नेपालले पाहुना टिममाथि लगातार दबाब दिएको थियो । घरेलु टिमका लागि इन्ज्युरी समयको ५ मिनेट पनि अपुग रह्यो र भारतविरुद्ध जितविहीन यात्राले आठ वर्ष पनि पूरा गर्‍यो । साफ २०१३ पछि नेपालको भारतविरुद्ध पाँचौं हार हो यो । यसबीच आठ खेलमा ३ बराबरी पनि गरेको छ ।

साफ २०१३ मा किरण चेम्जोङले नेपालको गोलपोस्ट सम्हालेका थिए भने सुनील क्षत्रीले भारतको अग्रपंक्तिको नेतृत्व गरेका थिए । आठ वर्षपछि पनि उस्तै भयो । त्यो टिमबाट अहिले आएर पहिलो रोजाइमा खेल्ने यी दुईमात्रै रहे । ६ वर्षअघि विश्वकप छनोटको प्ले–अफ (दोस्रो लेग) मा पनि यी दुई उही भूमिकामा थिए । सुनील त्यसबेलै भारतीय टिमका कप्तान थिए । उनी अहिलेका पनि कप्तान हुन् । अहिले नेपाली टिमको कप्तानी किरणले गरिरहेका छन् ।

तीन दिनअघि अञ्जन विष्टको गोलमा ‘ब्याकपास’ उपहार दिएका थिए भारतीय डिफेन्डर चिङलेनसाना सिंहले । आइतबारको पहिलो गोलमा उनकै योगदान रह्यो उनकै आफ्नो टिमका लागि । उनले दिएको बललाई कप्तान सुनील क्षत्रीले पेनाल्टी क्षेत्रमा अनमार्क रहेका फारुख हाज चौधरीलाई हेडर पास दिए । जसलाई फारुखले नेपाली कप्तान एवम् गोलकिपर किरण चेम्जोङलाई बल रोक्ने अवसर नदिई ६२ औं मिनेटमा गोल गर्दै करिब ५ हजार दर्शक उपस्थित दशथ रंगशालालाई शान्त पारेर भारतलाई १–० ले अघि बढाए ।

कप्तान सुनील बुबाआमाको देश फर्किंदा खासै भाग्यमानी भएका छैनन् । हलचोक मैदानमा दुई खेलमा एक गोल गरे पनि दशरथ रंगशालामा गोलको खाता खोल्न उनले नवौं खेल कुर्नुपर्‍यो । नेपाली मूलका मिडफिल्डर अनिरुद्ध थापाले मैदानको मध्यभागमा हेडद्वारा बल दिएका थिए । जसलाई मध्यभागबाटै एक्लै अघि बढाउँदै पेनाल्टी बक्सभित्रबाट सेकेन्ड बार च्याप्दै गोल गरेर ८० औं मिनेटमा भारतको अग्रता दोब्बर बनाए । यसमा उनको फिनिसिङ उत्कृष्ट रह्यो, जसमा प्रशिक्षक इगोर स्टिमकले ‘टचलाइन’ मा भव्य खसियाली मनाए । ३६ वर्षीय उनी भारतका कीर्तिमानी गोलकर्ता हुन् । यो उनको ७५ औं गोल हो । नेपालविरुद्ध छैटौं गोल ।

चार गल्तीको मूल्य

पहिलो खेलमा बिहीबार १–१ को बराबरीपछि भारतीय टिमका समर्थकहरूले क्रोएसियन प्रशिक्षक इगोर स्टिमकलाई बर्खास्त गर्नुपर्ने माग गरे, सामाजिक सञ्जालमा ट्रेन्डिङ नै बन्यो । दुवै खेल जित्नका लागि आएको भारत त्यो बराबरीपछि दबाबमा परेको थियो । नेपालका प्रशिक्षक अल्मुताइरीले पनि दुवै खेल जित्ने लक्ष्य राखेका थिए, जुन अधुरै रह्यो ।

अब्दुल्लाहको योजनामा नेपाल टिमले पहिलो हाफ आफ्नै क्षेत्रमा खेल्यो र पाहुना टिमले कतिखर गल्ती गर्छ भनेर पर्खियो । दोस्रो हाफमा भने आक्रामक रणनीति अँगाल्यो । यसक्रममा नेपाली टिमले चारपल्ट गोलको राम्रो अवसर बनायो । मनीष डाँगी दुई अवसरमा चुके । आशिष लामा र विशाल राईले पनि सहज अवसरलाई उपयोग गर्न सकेनन् ।

तेजको प्रहारमा बल डिफ्लेक्ट हुँदै पेनाल्टी क्षेत्रमा एक्लै रहेका मनीषको खुट्टामा बल पुगेको थियो । अगाडि गोलकिपर अमरिन्दर सिंहमात्रै रहेको अवस्थामा मनीषले बल प्रहार गर्न सकेनन् । उनी अलमलिए पनि । र, बल चिङलेनसानाले क्लियर गरिदिएपछि नेपाल १३ औं मिनेटमै अग्रता लिन चुक्यो । आयुष घलानको क्रसमा पोस्टनजिकबाट आशिष लामाको हेडर प्रयासमा उनले ‘बल कनेक्ट’ गर्न नसक्दा २८ औं मिनेटमा अर्को अवसर गुम्यो । सुनीलले हेडद्वारा प्रहार गरेको बल ४५ औं मिनेटमा पोस्टमाथिबाट बाहिरियो ।

भारतको रक्षापंक्तिको गल्तीमा ६८ औं मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टी क्षेत्रमा पाएको बल विशाल राईलाई दिए । त्यहाँ एक्लै रहेका विशालले बल बाहिर हानेपछि नेपालले बराबरी गर्ने अवसर गुमायो । अर्को मौका ७४ औं मिनेटमा पाएको थियो ।

अञ्जन विष्टको क्रसमा ‘सिक्स यार्ड बक्स’ बाट मनीषले प्रहार गरेको बल पनि पोस्ट बाहिर गयो । नेपाली टिमले सुधारिएको खेल प्रदर्शन गरे पनि लगातार सिर्जना गरेको अवसर उपयोग गर्न सकेन । र, भारतविरुद्ध १५ औं हार बेहार्नुपर्‍यो । पाहुना टिमले ती दुई गोल, सुनीलको हेडरबाहेक अरू गतिलो आक्रमण गर्न सकेन ।

‘नेपालको प्रदर्शनमा खुसी’

‘हामीले राम्रो खेल्यौं, खेल नियन्त्रण गर्‍यौं तर हामीले पाएका अवसर उपयोग गरेनौं,’ नेपालका प्रशिक्षक अल्मुताइरीले भने, ‘प्रदर्शनप्रति धेरै खुसी छु । गर्व महसुस भएको छ ।’ उनले थपे, ‘गोल गरेको भए जित्ने थियौं । फिनिसिङको कमजोरीलाई साफ (च्याम्पियनसिप) मा सुधार गर्ने प्रयास गर्नेछौं ।’

भारतीय प्रशिक्षक स्टिमकले पनि नेपाली टिममा सुधार भएको बताए, ‘खेल वास्तवमै राम्रो भयो । अघिल्लो खेलभन्दा राम्रो भयो । पहिलो गोल गरेपछि हामीले राम्रो खेल्यौं । पहिलो हाफमा नेपालले राम्रो खेल्यो । उसको खेलमा निकै सुधार देखियो । दर्शकको समर्थकनले पनि उसलाई राम्रो भयो । हामीले योग्यताअनुसर जित हात पारेका छौं । टिममा अझै धेरै सुधार गर्नुछ ।’

राजनको डेब्यु

सेन्टरब्याक राजन गुरुङले भारतविरुद्धको खेलबाटै डेब्यु गरेका छन् । एपीएफबाट खेल्ने उनले ८६ औं मिनेटमा मनीषको स्थान लिए । अल्मुताइरीले अघिल्लो खेलको पहिलो रोजाइमा तीन खेलाडी परिवर्तन गर्दा लेफ्टब्याक सुमन अर्यालको स्थान सुजल श्रेष्ठले लिए । विंगर अञ्जन विष्टको स्थानमा मनीषले र फरवार्ड आशिष लामाले नवयुग श्रेष्ठको स्थान लिए । भारतले पनि बराबरी भएको खेलको पहिलो रोजाइमा आठ खेलाडीलाई परिवर्तन गरेको थियो र यसैमा जित हात पार्‍यो ।

प्रकाशित : भाद्र २१, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?