लैंगिक अल्पसंख्यक पारा ओलम्पियनका कुरा

एएफपी

टोकियो — बेलायतका दुई लैंगिक अल्पसंख्यक ह्विलचियर बास्केटबलले पारा ओलम्पिकले अपांगता भएका लैंगिक अल्पसंख्यकलाई हेर्ने घारणा परिवर्तन गर्ने अपेक्षा गरेका छन् । हाँसीमजाकमा यो जोडीले आफूलाई अमेरिकी मेगन रापिनो र सु बर्डको जोडीको बेलायती संस्करण मानेका छन् ।

लैंगिक अल्पसंख्यक पारा ओलम्पियनका कुरा

लौरी विलियम्स र रोविन लभ ६ वर्षदेखि समलिंगी सम्बन्धमा छन् । उनीहरूले गत वर्ष इन्गेजमेन्ट गरेका छन् । टोकियोमा ब्रिटिस टोली सातौं भएको छ । समाचारहरूमा जनाइएअनुसार टोकियो पारा ओलम्पिकमा ३० अपांगता भएका लैंगिक अल्पसंख्यक (एलजीबीटीक्यू) खेलाडीको सहभागिता छ । यो रियो पारा ओलम्पिकको तुलनामा तीन गुणा बढी हो । विलियम्सको विचारमा सामाजिक सञ्जालको लोकप्रियताले लैंगिक अल्पसंख्यक खेलाडीलाई सार्वजनिक रूपमा स्विकार्न सहयोग मिलेको छ । र, पारा ओलम्पिकले यो क्रमलाई अझै बढावा दिनेछ भन्ने उनको अपेक्षा छ ।

‘हामी यहाँ अपांगता भएका लैंगिक अल्पसंख्यक खेलाडी पनि छन् भन्ने कुरा देखाउने प्रयास गरिरहेका छौं । त्यसकै सकारात्मक प्रतिनिधित्वलाई आएका हौं,’ विलियम्सले भनिन्, ‘हाम्रो उपस्थितिले कसैलाई सकारात्मक प्रभाव पार्छ भने यो सफलता हो ।’

विलियम्स र लभ पहिलोपल्ट टिममेटका रूपमा भेटेका थिए र लगत्तै उनीहरूले डेटिङ सुरु गरे । गत वर्ष फेब्रुअरीमा फ्रान्स भ्रमणका क्रममा लभले इफेल टावरमुनि प्रस्ताव गरेसँगै उनीहरूको इन्गेजमेन्ट भएको छ । कोरोना महामारीका कारण उनीहरू विवाह योजना स्थगित गरेका छन् ।

लभले मजाक गर्दै उनीहरू अमेरिकी फुटबल सुपरस्टार रापिनो र उनकी मङ्गेतर बर्डभन्दा हाइप्रोफाइल नभएको बताइन् । तर, आफ्नो पनि त्यस्तो प्रोफाइल बन्ने विश्वास भने गरेकी छन् । तत्कालका लागि उनीहरू कोर्टभित्र र बाहिर पनि प्रभाव जमाउन सकेकामा खुसी छन् । लभको विचारमा ‘यस्ता कुरामा चेतना फैलाउन खेलकुद एउटा शक्तिशाली माध्यम हो ।’ ‘हामीले एक होइन, दुईवटा अल्पसंख्यक समूहको प्रतिनिधित्व गरिरहेका छौं, हामी अपांग छौं र लैंगिक अल्पसंख्यकको पनि प्रतिनिधि हौं,’ लभले भनिन् । एक भाइरसको प्रतिक्रियाका कारण विलियम्सको खुट्टामा पक्षघात भएको थियो । लभलाई भने दुवै खुट्टाको तल्लो भाग नबढ्ने समस्या छ ।

लभले सधैं ह्विलचियरको प्रयोग गर्दिनन् । विलियम्सलाई भेटेपछि मात्र अपांग अनुहार देख्नेबित्तिकै विभेद गर्ने मानसिकताविरुद्ध उनको आँखा खुलेको हो । पसल वा सपिङ मार्टमा जाँदा पसलेले उनको अलावा ह्विलचियर गुडाउने मानिससँग कुरा गरेकामा उनलाई दुःख लाग्थ्यो । अपांगता भएका मानिसलाई सशक्त बनाउन पारा ओलम्पिकले सहयोग गर्ने आशा उनको छ । लभ र विलियम्स दुवैलाई टोकियोमा आफ्नो टोली सातौं भएकामा दुःख लागेको छ । कोरोना महामारीका कारण अभ्यास खेल कम हुनाका कारण राम्रो नतिजा नआएको भन्ने कुरामा दुवै सहमत छन् । ब्रिटेनले ह्विलचियर बास्केटबलमा महिला टिममात्र पठाएको थियो ।

पारा ओलम्पिकबाट बाहिरिएपछि उनीहरू डिसेम्बरमा हुने युरोपेली च्याम्पियनसिपको तयारीमा केन्द्रित हुनेछन् । लभले अर्को वर्ष हुने कमनवेल्थ खेलकुदमा स्कटल्यान्ड टिमबाट थ्री वान थ्री बास्केटबल खेल्नेछिन् ।

प्रकाशित : भाद्र २०, २०७८ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?