२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पारा ओलम्पिकमा ऐतिहासिक पदक जित्नबाट चुकिन् पलेशा

कुशल तिमल्सिना

काठमाडौँ — पारा तेक्वान्दोकी पलेशा गोवर्द्धनले टोकियो पारा ओलम्पिकमा निकै नजिक पुगेर पदक गुमाएकी छन् । टोकियोस्थित माकुहारी मासे हलमा शुक्रबार के४४ विधाको महिला ५८ केजीमुनि तौलमा कांस्य पदकलाई भएको फाइनलमा विश्व वरीयताको दोस्रो स्थानकी चिनियाँ खेलाडी युजी लीसँग १२–९ अंकको झिनो अन्तरमा पराजित भएपछि पलेशा पदकविहीन हुनुपरेको हो । पहिलो राउन्डमा ४–२ को अग्रता बनाएकी उनले दोस्रो राउन्ड ५–० ले गुमाइन् । पलेशाले फाउल गर्दा लीलाई थप फाइदा भयो ।

पारा ओलम्पिकमा ऐतिहासिक पदक जित्नबाट चुकिन् पलेशा

तेस्रो तथा निर्णायक राउन्ड ५–५ को बराबरी भयो । यसमा पलेशाले तीनपल्ट फाउल गरी विपक्षीलाई अंक सुम्पिएकी थिइन् । खेलमा जम्मा चार फाउल गरेकी उनको त्यही कमजोरी हारको कारण बन्यो । मुखमै आइसकेको पारा ओलम्पिकको ऐतिहासिक पदक गुम्यो ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा छनोट प्रतियोगिता गुमाए पनि वाइल्ड कार्डमार्फत छनोट भएकी पलेशा गज्जबको आत्मविश्वास लिएर टोकियो गएकी थिइन् । एसियन च्याम्पियनसिपमा कांस्य जितेको तथा आधा दर्जन अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभवका आधारमा उनी पदक दाबेदार देखिएकी थिइन् ।

पहिलो खेलमा पराजित भएपछि पलेशा रिपिचेजतर्फ धकेलिएकी थिइन्, जहाँ उनी दुई बाउट जित्दै कांस्यका लागि फाइनल पुगेकी थिइन् ।

प्रशिक्षक दीपक विष्टले उनको प्रदर्शनमा गौरव लागेको प्रतिक्रिया दिए । पहिलो खेलमै हारेपछि निराश खेलाडीलाई आशा जगाएर रिपिचेजका लागि तयार पारेको र त्यसपछि उनको प्रदर्शनबाट आफू नतमस्तक रहेको विष्टको भनाइ छ । ‘समग्रमा पलेशाको प्रदर्शन हामीले आशा गरेभन्दा धेरै माथिल्लो स्तरको रह्यो र त्यसप्रति हामीलाई गर्व छ । धेरै नै अनुभवी चिनियाँ खेलाडीलाई कडा टक्कर दिएकी हुन् । हामीलाई अनुभव र परिपक्वताको अलिकति अभाव भयो,’ विष्टले टोकियोबाट कान्तिपुरसँग भने ।

१८ वर्षीया पलेशाको पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग २१–८ स्कोरका आधारमा पराजित भोगेपछि स्वर्ण जित्ने बाटो रोकिएको थियो । हारका बाबजुद उनीसँग रिपिचेजको विकल्प थियो । हार्नेबीच प्रतिस्पर्धा गराएर दुई कांस्यको छिनोफानो गर्ने मार्सल आर्ट्सको नियमलाई रिपिचेज भनिन्छ । रिपिचेजको क्वाटरफाइनलमा अमेरिकी ब्रियान्ना सालिनारालाई १०–० को स्कोरमा हराएकी पलेशाले सेमिफाइनलमा सर्बियाकी मासिजा मिसेभलाई २३–१८ को प्रतिस्पर्धात्मक स्कोरमा पन्छाइन् । पारा ओलम्पिकमा दुई खेल जितेर उनले इतिहास भने कायम गरेकी छन् । पारा ओलम्पिकमा तेक्वान्दो पहिलोपल्ट समावेश गरिएको हो ।

जन्मँदै बायाँ हातको नाडीदेखि तलको भाग नभएकी पलेशाले २०१९ मा भियतनाममा भएको पाँचौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य जितेकी थिइन् ।

सुरुआती खेलमा पलेशालाई हराएकी ब्रिटिस खेलाडी मुनरोले रजत पदक जितेकी छन् । उनी फाइनलमा विश्व वरीयतामा शीर्ष स्थानमा रहेकी डेनिस लिसा जेसिङसँग ३२–१४ को स्कोरमा पराजित भइन् ।

प्रकाशित : भाद्र १८, २०७८ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?