१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पाहुनाको गल्ती, अञ्जनको गोल

कुवेती प्रशिक्षक अब्दुल्लाहको नेतृत्वमा नेपाली फुटबल टिमले स्वदेशी भूमिमा डेब्यु गरेको छ
राजु घिसिङ

काठमाडौँ — दशरथ रंगशालामा बिहीबार भारतीय टिम खेलमा हाबी भइरहेको थियो । पहिलो मिनेटमै गोलको प्रयास गरेको भारतले बल नियन्त्रणमा राखे पनि नेपाली गोलपोस्टमा धावा बोल्न भने सकिरहेको थिएन । सुनील क्षेत्रीको कप्तानीमा रहेको पाहुना टिमलाई रोक्न नेपाली खेलाडीहरू पेनाल्टी क्षेत्रवरिपरि व्यस्त थिए ।

पाहुनाको गल्ती, अञ्जनको गोल

नेपाली टिम अगाडि बढ्नै नसकिरहेको अवस्थामा भारतीय डिफेन्डर सिङ्लेनसाना सिंहले गल्ती गरे । उनले गोलकिपर गुरप्रितसिंह सन्धुलाई दिएको ‘ब्याकपास’ फितलो रह्यो । त्यसलाई क्लियर गर्ने प्रयासमा गुरप्रितले पनि ढिलाइ गरे । ठीक त्यही अवसर सदुपयोग गर्दै अञ्जन विष्टले ३६ औं मिनेटमा घरेलु टिमलाई १–० को अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रमा नियन्त्रण गर्ने क्रममा गुरप्रितलाई उछिन्दै बललाई खाली पोस्टको दिशा दिएर खेलमा नेपालको पहिलो आक्रमणमै गोल गरेका थिए । २३ वर्षीय उनको राष्ट्रिय टोलीको जर्सीमा पाँचौं गोल हो ।

पहिलो हाफको इन्ज्युरी समयमा आयुश घलानको पासमा सुमन लामाले प्रहार गरेको बललाई भने गुरप्रितले नियन्त्रण गरे । दोस्रो हाफको अन्त्यतिर नेपालले अर्को आक्रमण गर्‍यो । सुमन अर्यालको क्रसमा मनीष डाँगीले हेडद्वारा प्रहार गरेको बल पोस्ट नजिकबाट बाहिरियो । भारतविरुद्ध स्वदेशी भूमिमा खेलेको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले गरेको यही तीन आक्रमण हो । बाँकी खेल अर्कोतिर रह्यो ।

सुरुमै आक्रामक देखिएको भारतले त्यो लय पाँच मिनेटपछि कायम राख्न सकेन । उसले दोस्रो हाफमा भने नेपालको गोलपोस्टलाई निक्कै व्यस्त राख्यो । भारतीय टिमका प्रशिक्षक इगोर स्टिमेकले मिडफिल्डमा अनिरुद्ध थापा र सहल अब्दुल सामद तथा डेब्यु गर्ने अवसर पाएका सेरिटन फर्नान्डेज र रहिम अलीलाई दोस्रो हाफको सुरुमै मैदान पठाएका थिए ।

गोल गरपछि प्रशिक्षक अब्दुल्लाहसँग खुसी साट्ने क्रममा नेपालका अञ्जन विष्ट (१४) सहित अन्य खेलाडी ।

त्यसपछि पाहुना टिमले लय समात्यो । कप्तान सुनीलले करिब २५ यार्डबाट सशक्त रूपमा प्रहार गरेको बलमा गोलकिपर किरण चेम्जोङले पञ्च गर्दै बचाउ गरे । अकासिएको बल पोस्टबाहिर गएन, गोललाइनमै खस्यो । त्यसमा अनिरुद्ध थापाको प्रतिक्रिया निकै राम्रो रह्यो । उनले डिफेन्डर दिनेश राजवंशीलाई उछिन्दै गोललाइनमा पुगेर बल जाली पठाउँदै भारतलाई १–१ को स्थितिमा पुर्‍याए ।

अनिरुद्धको फ्रि–किकमा ५० औं मिनेटमा सुनीलले नजिकबाट प्रहार गरेको ‘भली’ मा गोलकिपर किरणले राम्रो बचाउ गरे । त्यही ‘मुभ’मा बल पछ्याउँदै गएका उनले पेनाल्टी क्षेत्रबाहिर बल हातले रोकेपछि पहेँलो कार्ड पाएका थिए ।

खेलमा बल अगाडि बढाउँदै भारतीय कप्तान सुनील क्षेत्री ।

ममनवीर सिंहको क्रसमा सुनीलले ५३ औं मिनेटमा गरेको हेडर पोस्ट नजिकबाट बाहिरियो । भारतका लागि कीर्तिमान ७४ गोल गरेका सुनीलको दशरथ रंगशालामा भने संघर्ष जारी नै रह्यो । ७० औं मिनेटमा मैदान छाडेका उनले आठौं खेलसम्म पनि यहाँ गोल गर्न सकेनन् ।

‘सिल्ली गोल

‘पहिलो पाँच मिनेटमै गोल हुनुपर्ने थियो, भएन,’ प्रशिक्षक स्टिमेकले भने, ‘सिल्ली (मूर्खतापूर्ण) गोल भयो । त्यसैले चार खेलाडी परिवर्तन गरेपछि दोस्रो हाफ राम्रो भयो । स्तरीय खेल प्रदर्शन गर्‍यो र खुसी पनि छु ।’ उनी विश्वकप १९९८ मा तेस्रो भएको क्रोसियाली टिमका खेलाडीसमेत हुन् । फिफा वरीयतामा ६३ स्थानमाथिको टिम सम्हाल्दै काठमाडौं आइपुगेका उनले थपे, ‘हामी जितका लागि योग्य थियौं । स्पष्ट गोलका थुप्रै अवसर पनि सिर्जना गरेका थियौं । तर, मूर्खतापूर्ण गोल बेहोर्‍यौं ।’

तयारीले पनि फरक पारेको उल्लेख गर्दै उनले भने, ‘हामीले एकैसाथ दुई दिन अभ्यास गरेका थियौं भने नेपालले दुई महिना । यसले पनि फरक पार्छ ।’ उनले नेपाली टिमको पनि प्रशंसा गरे, ‘खेल आकर्षक रह्यो र राम्रो पनि । नेपालले रोक्दै (बल) काउन्टर अट्याक गर्‍यो । नयाँ प्रशिक्षकले राम्रो गरेका छन् । केही स्तरीय पास पनि खेल्यो ।’ उनले स्टेफेन कन्स्टेन्टाइनलाई विस्थापित गर्दै दुई वर्षअघि भारतीय टिम सम्हालेका थिए । उनको नेतृत्वमा भारतले गतिलो फड्को मार्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

‘सुधार गर्ने वाचा’

‘जर्सी नम्बर ७ (अनिरुद्ध थापा) का कारण दोस्रो हाफको सुरुआती १० मिनेटमात्रै हामीले खेल गुमायौं । हामीले उनलाई बुझन सकेनौं,’ नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने, ‘हामीले जुन नतिजा निकाल्यौं, त्यसका लागि समर्थकसँग माफी माग्न चाहन्छु । तर, प्रदर्शनप्रति म खुसी छु । अब कमजोरी सुधार गरेर राम्रो खेल्नेछौं ।’

६ महिनाअघि जिम्मेवारी पाएका कुवेती प्रशिक्षक अब्दुल्लाहको नेतृत्वमा नेपाली टिमले स्वदेशी भूमिमा पहिलोपल्ट खेलेको हो । यसअघि उनले सम्हालेको टिमले इराक र कुवेतमा ४ खेल खेलेको थियो । नेपालसँग उनको पाँचौं खेल हो यो (भारतविरुद्ध) । महामारीबीच पनि उनले करिब ५ हजार दर्शकसामु नेपाली टिम सम्हाल्ने अवसर पाए । अक्टोबर १–१६ मा माल्दिभ्समा हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्यमा रहेको छ नेपाल । त्यसको तयारीमा टिमका सबै खेलाडीलाई अवसर दिने पनि उनले बताए ।

नेपालले साफ च्याम्पियनसिप २०१३ को समूह चरणमा भारतलाई दशरथ रंगशालामा २–१ ले हराएको थियो । त्यसयता नेपालले दक्षिण एसियाली महारथीविरुद्ध जित हात पार्न सकेको छैन । यसक्रममा ७ खेल पुगेको छ । एक दशकयता भारतविरुद्धका ९ खेलमा नेपालले १ जित, ४ बराबर र ४ हारको नतिजा बेहोरेको छ ।

नितिनको डेब्यु, किरणको कीर्तिमान

मिडफिल्डर नितिन थापाले भारतविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन् । उनी ८६ औं मिनेटमा तेज तामाङको स्थान लिँदै मैदानमा प्रवेश गरेका थिए ।

यसै खेलमार्फत् कप्तान किरणले नेपालका निम्ति सर्वाधिक खेल खेलेका पूर्वकप्तान विराज महर्जनको कीर्तिमान बराबरी गरेका छन् । अब यी दुईको ‘क्याप’ समान ७३ भएको छ । भारतविरुद्ध आइतबार हुने दोस्रो मैत्रीपूर्ण खेलमा किरणले यो कीर्तिमान आफ्नो मात्रै बनाउन सक्छन् ।

एक दशकयता नेपाल र भारतको प्रतिस्पर्धा

गोल प्रतियोगिता वर्ष/स्थान

०–० नेहरू कप २०१२/नयाँ दिल्ली

२–१ साफ च्याम्पियनसिप २०१३/काठमाडौं

०–२ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण २०१३/सिलिगुढी

०–२ विश्वकप छनोट (प्लेअफ) २०१५/गुवाहाटी

०–० विश्वकप छनोट (प्लेअफ) २०१५/काठमाडौं

०–० अन्तर्राष्ट्रिय मैत्रीपूर्ण २०१५/पुना

१–४ साफ च्याम्पियनसिप २०१५/त्रिवेन्द्रम

०–२ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण २०१७/मुम्बई

१–१ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण २०२१/काठमाडौं

नेपाली टिम

किरण चेम्जोङ (कप्तान/गोलकिपर), सुमन अर्याल, दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, पुजन उपरकोटी (८६, कमल थापा), सुमन लामा (६५, विशाल राई), तेज तामाङ (८६, नितिन थापा), आयुश घलान (६५, सुनील बल), अञ्जन विष्ट (७२, सुरजज्यू ठकुरी), नवयुग श्रेष्ठ (६५, मनीष डाँगी) ।

तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

प्रकाशित : भाद्र १८, २०७८ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?