कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सुनीलविरुद्ध नेपाली टिम

नेपालका प्रशिक्षक अब्दुल्लाह भन्छन्, ‘हामी गर्व गर्नलायक प्रदर्शन गर्नेछौं । साफ २०२१ को तयारीका रुपमा रहेकाले यी मैत्रीपूर्ण खेलमा नयाँ खेलाडीलाई अवसर दिनेछौं’
राजु घिसिङ

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीले चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई पराजित नगरेको झन्डै ८ वर्ष भयो । नेपालले पछिल्लो जित दशरथ रंगशालामै निकालेको थियो । साफ च्याम्पियनसिप २०१३ को समूह चरणमा अनिल गुरुङ र जुमनु राईको गोलमा नेपालले २–१ को सफलता पाएको थियो ।

सुनीलविरुद्ध नेपाली टिम

नेपालले २०७० भदौ २० मा हात पारेको जितलाई तीन महिना पनि टिकाउन सकेन । मैत्रीपूर्ण खेलमा सिलिगुडीमा बोलाएको भारतले २०७० मंसिर ४ मा २–० को जित निकाल्दै साफको बदला लियो । नेपालको पूर्वीसीमा नजिकको कञ्चनजंघा रंगशालामा गोलको खाता खोल्ने काम गरेका थिए कप्तान सुनील क्षत्रीले । त्यससँगै उनी पूर्वकप्तान भाइचुङ भुटियालाई उछिन्दै भारतको सर्वाधिक गोलकर्ता भएका थिए । त्यसैले सिलिगुढीको त्यो खेल सुनीलको कीर्तिमानका लागि सम्झिने गरिन्छ । त्यहाँ सुनीलले भारतको जर्सीमा ४३ औं गोल गरेका थिए ।

श्याम थापाको पुस्तापछि भारतीय टिमका दुवै कप्तान भाइचुङ भुटिया र सुनील नेपाली समुदायमा पनि लोकिप्रय छन् । भाइचुङ छिमेकी सिक्किमका हुन् । बुट थन्क्याएपछि उनले सीमावर्ती दार्जिलिङबाट चुनाव पनि लडे । सुनीलको पुर्ख्यौली घर अर्जुनधारा (झापा) हो । नजिकैको बाहुनडाागी उनको मावली हो । यहाँ उनले बाल्यकालका केही समय बिताएका थिए । व्यावसायिक फुटबल करिअर सुरु गर्नुअघि मावली आइरहन्थे । आमालाई पछ्याउँदै फुटबलर बनेका थिए, जसलाई उनले बुधबार आयोजित पत्रकार सम्मेलनमा पनि स्विकारे । ‘बुबाआमा फुटबल खेल्नुहुन्थ्यो, आमाबाट संस्कार र अनुशासन सिकें, त्यसैले यहाँसम्म आइपुगें,’ उनले सुनाए । उनकी आमा नेपालमै फुटबल खेल्थिन् । सुनीलले दिल्लीमा आमासँगै अभ्यास पनि गरेका थिए ।

३६ वर्षको उमेरमा आइपुग्दा पनि भारतले अग्रपंक्तिमा सुनीलको विकल्प पाएको छैन । उमेर एउटा नम्बरमात्रै हो भन्ने भनाइ उनले मैदानमा साबित गरिरहेका छन् । त्यसैले त अहिले खेलिरहेका खेलाडीमध्ये अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्नेमा सुनील अग्रपंक्तिमै छन् । सबैभन्दा अगाडि छन् पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो (१०९ गोल) । त्यसपछि अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी र यूएईका अली माबखोत (दुवै ७६ गोल) । र, आउँछ सुनील । उनले ७४ गोल गरेका छन् । यसका लागि १ सय १८ खेल खेलेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा स्कोरिङका लागि कहिलेकाहीं उनको तुलना मेसीसँगै हुने गर्छ । तर, उनी आफूलाई मेसीसँग दाँज्न नमिल्नै भन्दै बारम्बार प्रस्ट्याइरहेका हुन्छन् ।

भारतीय फुटबलका ठूला स्टार सुनीलले नेपालविरुद्ध ८ खेलमा ५ गोल गरेका छन् । योभन्दा बढी ६–६ गोल चाइनिज ताइपेई र माल्दिभ्सविरुद्ध गरेका छन् । त्यसैले उनले नेपालसँगको दुई मैत्रीपूर्ण खेलमा तथ्यांक सुधार्ने प्रयास गर्नेछन्, जुन पाहुना टिमका लागि राम्रो पनि हुनेछ । उनको पहिलो परीक्षा बिहीबार हुनेछ । त्यसपछि दोस्रो खेल आइतबार । उनले नेपालविरुद्ध विश्वकप सन् २०१८ छनोटको प्ले–अफमा ६ वर्षअघि भएको पहिलो लेग (गुवाहाटी) मा २–० को जितमा दुवै गोल गरेका थिए । त्यसको पाँच दिनपछि दशरथ रंगशालामा भएको दोस्रो लेग गोलरहित टुंगिएको थियो । उनले साफ २००८ (माले), साफ २०१५ (त्रिवेन्द्रम) र सिलिगुढीको मैत्रीपूर्ण खेलमा नेपालविरुद्ध एक–एक गोल गरेका थिए ।

तर, बेंग्लुरु एफसीका फरवार्ड सुनीलको पुर्खाको भूमिमा भने प्रदर्शन खासै राम्रो छैन । उनले नेपालमा स्कोरिङ क्षमता देखाउन सकेका छैनन् । भारतको राष्ट्रिय टिमबाट यहाँ खेलेका ९ खेलमा १ गोलमात्रै गरेका छन् । उनलाई दशरथ रंगशालामा ७ खेल (एएफसी च्यालेन्ज कप २०१२, साफ २०१३, विश्वकप २०१८ प्ले–अफ) मा अझै गोलविहीन नै छन् । हल्चोक मैदानको दुई खेलमा एक गोल गरेका छन् । त्यसैले उनी यसपालि दुई मैत्रीपूर्ण खेलमा दबाबमा हुनेछन् ।

‘नेपाली टिम घरेलु मैदान र बाहिर खेल्दा सधैं फरक हुन्छ । घरेलु मैदानमा नेपाली खेलाडीहरू फरक नै हुन्छन् । त्यसैले खेल सजिलो हुने छैन । कडा प्रतिस्पर्धा हुनेछ,’ १६ वर्षयता निरन्तर अन्तर्राष्ट्रिय फुटबलमा व्यस्त रहेका सुनीलले भने । कप्तान किरण चेम्जोङले पनि भारतविरुद्धका खेल कहिल्यै सजिलो नहुने बताए । टिमका सबैभन्दा अनुभवी उनले भारतविरुद्ध पछिल्ला जित–हारमा नेपालको गोलपोस्ट सम्हालेका थिए ।

‘जितकै लागि खेल्ने’

दशरथ रंगशालामामात्रै होइन, जहाँ खेले पनि गोल गर्न नसक्नु वा अत्यन्तै थोरै गोल गर्नु नेपालको परम्परागत समस्या हो । यो कमजोरी सच्याउने जिम्मेवारीमा छन्, कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी । उनले भारतविरुद्ध जित्नकै लागि खेल्ने बताएका छन् ।

तर, फिफा वरीयतामा ६३ स्थानमाथिको भारतीय टिमविरुद्ध जित हात पार्न सजिलो छैन । पछिल्ला ५ भेटमा भारतले नेपाललाई चारपल्ट हराएको छ । एक खेल गोलरहित भएको थियो । ती ५ खेलमा नेपालले एक गोलमात्रै गरेको छ । पछिल्लोपल्ट नेपाल र भारत मुम्बईमा भिडेका थिए । चार वर्षअघिको त्यो खेल भारतले २–० ले जितेको थियो । त्यसमा गोल गरेका सन्देश झिगन र जेजे यसपालिको टिममा छैनन् । क्रोएसियाली प्रशिक्षक इगोर स्टिमेकले २५ सदस्यीय टिममा दुई नयाँ खेलाडीलाई अवसर दिएका छन् । नेपाली टिममा पनि युवा खेलाडीकै वर्चस्व छ । ‘भारत बलियो टिम हो । वरीयतामा हामीभन्दा माथि छ । इतिहास उसैको राम्रो छ,’ प्रशिक्षक अब्दुल्लाहले भने, ‘तर, हामी जितकै लागि खेल्नेछौं । गर्व गर्नलायक प्रदर्शन गर्नेछौं । साफ २०२१ को तयारीका रूपमा रहेकाले यी मैत्रीपूर्ण खेलमा नयाँ खेलाडीलाई अवसर दिनेछौं ।’

उनले थपे, ‘हाम्रो लक्ष्य साफ २०२१ जित्नेमात्रै होइन, एसियन कप २०२३ मा छनोट हुने पनि हो ।’ पछिल्लोपल्ट टिमको प्रशिक्षणभन्दा पनि फेसबुक स्टाटसका कारण विवादित बनेका उनले त्यसबारे भने बोल्न चाहेनन् । साफ अक्टोबर १–१६ मा माल्दिभ्समा हुँदै छ । त्यसैको तयारीमा नेपाल र भारत दुई मैत्रीपूर्ण खेलको जुटेका हुन् । खेलमा एकतिहाइ (करिब ५ हजार १ सय) दर्शक प्रवेशका लागि सरकारले स्वीकृति दिएको एन्फाले जनाएको छ । घरेलु दर्शकको उपस्थितिले नेपाली टिमलाई उत्साहित पार्नेछ ।

नेपालले गत चैतमा थ्री नेसन्स कप पनि दर्शककै उपस्थितिमा फाइनल खेल्दा बंगलादेशलाई २–१ ले पन्छाउँदै जितेको थियो । नेपालविरुद्ध जित हासिल गर्दै वरीयतामा सुधार गरेर एसियन कप छनोटको ‘ड्र’ मा पहिलो समूहमा पुग्ने लक्ष्य लिएर भारतीय टिम काठमाडौं आएको हो ।

भारतीय टिमका प्रशिक्षक स्टिमेकले पनि नेपालविरुद्धका खेल सजिलो नहुने बताए । ‘हामी नेपालसँग सचेत हुनुपर्छ,’ विश्वकप १९९८ मा तेस्रो भएको क्रोएसियाली टिमका सदस्य रहेका उनले भने, ‘नयाँ प्रशिक्षकको नेतृत्वमा नेपालले विशेषगरी डिफेन्समा राम्रो गरेको छ । युवा खेलाडीलाई मौका दिएको छ ।’ उनले थपे, ‘हामी पनि युवालाई अवसर दिनेछौं । राम्रो तयारी गरेका छैनौं । साफको तयारीका लागि आएका हौं ।’

स्टिमेकको टिममा एएफसी कप २०२१ खेलेका एटिके मोहन बगान र बेंग्लुरु एफसीका खेलाडीको वर्चस्व छ । यी दुई क्लबका ९ खेलाडी छन् । इन्डियन सुपर लिग (आईएसएल) का खेलाडीले भरिएको टिममा क्रोएसियाको पहिलो श्रेणीको क्लबमा आबद्ध डिफेन्डर सन्देश झिगन र अनुभवी उदन्त सिंह भने छैनन् । भारतीय टिम कोलकातामा १० दिनको तयारीपछि मैत्रीपूर्ण खेलका लागि आएको हो । नेपाली टिमले पोखरा र राजधानीमा गरी दुई महिना तयारी गरेको छ ।

प्रकाशित : भाद्र १७, २०७८ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?