१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्टेयनको संन्यास

९३ टेस्टमा ४ सय ३९ विकेट लिएका उनले सन् २०१९ मै पाँचदिने क्रिकेट टुंग्याएका थिए 
एएफपी

जोहानेसबर्ग — दक्षिण अफ्रिकाबाट सर्वाधिक टेस्ट विकेट लिने डेल स्टेयनले मंगलबार संन्यास घोषणा गरेका छन् । ३८ वर्षे तीब्र बलर उनले सामाजिक सञ्जालमार्फत आफ्नो खेलाडी जीवन टुंग्याएको घोषणा गरेका हुन् । 

स्टेयनको संन्यास

‘२० वर्षदेखि मेरो जीवन एउटै रफ्तारमा चलिरहेको थियो । प्रशिक्षण, खेल, जित, हार, खुट्टा खुम्च्याउनु, जेटल्याग, खुसी र भाइचारामा दैनिकी चलिरहेको थियो,’ स्टेयनले सामाजिक सन्जालमा लेखेका छन्, ‘मेरो परिवारका सदस्यदेखि पत्रकार र प्रशंसक सबैलाई यो अविश्वसनीय यात्राका लागि धन्यवाद दिन चाहन्छु ।’

९३ टेस्टमा ४ सय ३९ विकेट लिएका उनले २०१९ मै पाँचदिने क्रिकेटबाट संन्यास लिएका थिए । उनले त्यो बेलामा आफू सेतो बलमा लगातार खेलिरहने जनाएका थिए र २०१९ मा क्रिकेट विश्वकप लागि इंग्ल्यान्ड जाने टोलीमा रहेका थिए । तर काँधमा लागेको चोटका कारण उनले कुनै खेल नखेली फर्किए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले १ सय ९६ विकेट लिएका छन् । उनले २०१९ को मार्चयता यो संरचनामा खेलेका छैनन् ।

उनले २०२० को फेब्रुअरीमा अस्ट्रेलियाविरुद्ध पछिल्लो पटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए । त्यही वर्ष अस्ट्रेलियामा हुने

ट्वान्टी–२० विश्वकपमा खेल्ने उनको अनुमान रहेको थियो । तर कोभिड–१९ का कारण विश्वकप नै स्थगित भएको थियो । उनले यो संरचनामा ६४ विकेट लिएका छन् । उनले पछिल्लोपल्ट खेलेको मार्चमा हो, जब उनले क्वेट ग्लाडियटर्सबाट कराँचीमा पाकिस्तान सुपर लिग खेलेका थिए ।

आफ्नो उत्कृष्ट समयमा उनी नयाँ बलमा लेट अवे स्विङका महारथी थिए । त्यस्तै पुरानो बलमा रिभर्स स्विङ र उच्च गतिमा बलिङ गर्नु उनको विशेषता थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वरीयतामा उनी ६ वर्ष टेस्ट क्रिकेटमा नम्बर एक बलरका रूपमा रहे ।

उनको विशेष प्रदर्शन २००८ मा अस्ट्रेलियाविरुद्ध मेलबर्न टेस्टमा भएको थियो । उनले त्यसमा ७६ रन बनाए, जुन उनको टेस्टमा उच्च स्कोर पनि हो । त्यसबाहेक उनले उक्त टेस्टमा १ सय ५४ रन खर्चेर १० विकेट लिँदै दक्षिण अफ्रिकालाई अस्ट्रेलियाली भूमिमा पहिलो टेस्ट शृंखला जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

दक्षिण अफ्रिकालाई ४२ मध्ये २८ एकदिवसीय अन्तर्राष्ट्रिय र २० मध्ये ७ ट्वान्टी–२० शृंखला जिताउन उनको भूमिका विशेष रह्यो । उनले २०११ र २०१५ को विश्वकप पनि खेले । दक्षिण अफ्रिका २०१५ को विश्वकप सेमिफाइनलको अन्तिम ओभरमा आयोजक न्युजिल्यान्डसँग पराजित हुँदा उनकै बलिङमा रन प्रहार गरिएको थियो । स्टेयनले सन् २००९ देखि २०१६ सम्म गरी पाँच ट्वान्टी–२० विश्वकप खेले । उनी एकदिवसीय अन्तर्राष्ट्रियको वरीयतामा दोस्रो र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पाँचौं स्थानभन्दा माथि उठ्न सकेनन् ।

दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डी भिलियर्स, इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसन, अस्ट्रेलियाका प्याट कमिन्सलगायतले उनलाई महान् खेलाडी भन्दै सामाजिक सन्जालमा स्टेयनको चर्चा गरेका छन् ।

प्रकाशित : भाद्र १६, २०७८ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?