कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

इंग्ल्यान्ड जितका तीन आयाम

एएफपी

लिड्स — इंग्ल्यान्डले तेस्रो टेस्टमा भारतलाई एक इनिङ्स र ७६ रनले पराजित गरेपछि ५ टेस्टको शृंखला १–१ को रोमाञ्चक बराबरीमा पुगेको छ ।

इंग्ल्यान्ड जितका तीन आयाम

इंग्ल्यान्डको यो जित एक दिनभन्दा बढीको खेल बाँकी छँदै सम्भव भएको थियो । अब बाँकी दुई टेस्ट ओभल र ओल्ड ट्राफोर्डमा हुनेछ । एएफपी स्पोर्ट्सले दोस्रो टेस्टका तीन आयाम खोज्ने प्रयास गरेको छ । ती हुन्–

रोबिन्सन ठूलो खोज

लर्ड्समा भएको दोस्रो टेस्ट १ सय ५१ रनले गुमाउँदा इंग्ल्यान्ड टोली चोटग्रस्त खेलाडीले भरिएको थियो । तेस्रो टेस्टअगाडि टोलीका केही प्रमुख बलर चोटग्रस्त थिए । जस्तै, मार्क उड, स्टुवार्ट ब्रोड, जोफ्रा आर्चर, क्रिस वोक्स, ओलि स्टोन र बेन स्टोक्स । यसबीच मौका पाएका ओलि रोबिन्सनले भारतको पहिलो इनिङ्समा दुई विकेट लिए । दोस्रो इनिङ्समा उनी अझ बढी सफल रहे । उनले ६५ रनमा ५ विकेट हात पारे । उनको सिकार भएका सबै भारतीय प्रमुख ब्याट्सम्यान थिए ।

जस्तो कि रोहित शर्मा, चेतेश्वर पुजारा, विराट कोहली र ऋषभ पन्त । जुनमा यी २६ वर्षीय बलर रोबिन्सनले डेब्यु गरेका थिए । अहिलेसम्म ४ टेस्टमात्र खेलेका छन् । यी चार टेस्टमा उनले लिएको विकेट संख्या प्रभावकारी रूपमा २३ पुगेको छ, त्यो पनि १८ को औसतले । त्यसैले त भारतीय कप्तान विराट कोहलीले पनि उनको खुलेर प्रशंसा गरेका छन् । उनलाई निकै राम्रो खोजसमेत मानेका छन् । उनका आफ्नै कप्तान जो रुट पनि टिमको प्रदर्शनमा बलिङ प्रभाव बढ्दै गएको मान्छन् ।

रुटविरुद्ध कोहली

यो शृंखलामा प्रतिस्पर्धा गरिरहेका दुवै टिमका कप्तान निर्विवाद रूपमा यो समयकै सबैभन्दा उत्कृष्ट ब्याट्सम्यान हुन् । उनीहरूले अहिले आत्मसात् गरेको लय भने फरक छ । रुटले आफ्नो योर्कसायर मैदानमा १ सय २१ रनको इनिङ्स खेले । तेस्रो टेस्टमा उनको यो लगातार तेस्रो शतक हो । उनले ट्रेन्ट ब्रिजमा १ सय ९ र लर्डसमा अविजित १ सय ८० रन बनाएका थिए । यस्तोमा उनले यो शृंखलामा १२६.७५ को औसतले ५ सय ७ रन बनाइसकेका छन् ।

इंग्ल्यान्डको अहिलेसम्मको प्रदर्शनमा कप्तान एक्लैको ठूलो प्रभाव छ । यसको ठीक विपरीत कोहलीले यो शृंखलामा १ सय २४ रनमात्र बनाएका छन् । उनको औसत छ, २४.८ मात्रै । हेडिङ्लेमा दोस्रो इनिङ्समा बनाएको ५५ रन नै शृंखलामा उनको उच्च स्कोर हो । पछिल्ला १९ इनिङ्समा उनले शतक बनाएका छैनन् । समयको आधारमा यो दुई वर्ष भइसकेको छ । यस्तोमा भारतको पछिल्ला खराब प्रदर्शनमा उनी बढी जिम्मेवार देखिएका छन् ।

लयबारे भ्रम

टेस्ट शृंखलामा यसअघि के हुने गर्थ्यो भने एउटा टिमले लय समात्यो भने त्यो पछिसम्म कायम हुन्थ्यो । अचेल, आधुनिक टेस्ट शृंखलामा यस्तो हुन छाडेको छ । ६ साताभित्र पाँच टेस्ट शृंखलामा अब जस्तो पनि सम्भव हुन्छ । एक टेस्ट जितेको टिम अर्को टेस्टमा राम्रै स्थितिमा रहन्छ भन्न गाह्रो छ । त्यसैले त लर्ड्समा विजेता रहेर हेडिङ्लेमा पराजित भारतले अबका बाँकी दुई टेस्टमा राम्रो गर्नेछ भनेर विश्वास गर्ने ठाउँ नभएको होइन । कोहली भन्छन्, ‘यस्तै उतारचढावपूर्ण स्थितिमा खेल्नुको मज्जा छ ।’

प्रकाशित : भाद्र १५, २०७८ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?