कीर्तिमानी ‘फ्लाइङ फिस’

१४ वर्षको उमेरसम्म सबै परिवर्तन भइसकेको थियो । ‘फ्लाइङ फिस’ उपनाम पाइसकेकी जियाङ युयानले विश्व कीर्तिमानहरु तोड्न थालिसकेकी थिइन् ।
एएफपी

टोकियो — तीन वर्षकै उमेरमा घरअगाडि गल्लीमा खेर्ल्दा जियाङ युयानलाई ट्रिपरले किचेपछि उनको जीवन लगभग समाप्त भइसकेको थियो । १३ वर्षपछि सोमबार पारा ओलम्पिक स्वर्ण जितेर पौडी खेलमा नयाँ कीर्तिमान बनाइन् । 

कीर्तिमानी ‘फ्लाइङ फिस’

हाँस्ने, खेल्ने उमेरकी छोरीको दाहिने हात र खुट्टामा चोट यति गम्भीर थियो, त्यसले उनकी आमा व्याकुल थिइन् । ‘मेरी राम्री छोरीलाई अनाहकमा अपाङ्ग बनाइदियो,’ वाङ झिफाङले स्थानीय सञ्चारमाध्यमसँग भनिन्, ‘मेरा लागि त्यो क्षण आकाश खसेजस्तै थियो । छोरीले यति लामो जीवन कसरी व्यतीत गर्लिन् भनेर सोच्थें ।’

तर, १४ वर्षको उमेरसम्म सबै कुरा परिवर्तन भइसकेको थियो । उनकी छोरीले ‘फ्लाइङ फिस’ उपनाम पाइसकेकी थिइन् । विश्व कीर्तिमानहरू तोड्न थालेकी थिइन् । अत्यधिक चर्चा बटुल्न पनि थालिन् । सोमबार टोकियो पारा ओलम्पिक २०२० मा चीनको २ सय ५६ सदस्यीय जम्बो टोलीकी सबैभन्दा कान्छी सदस्यले एस ६ विधाको ५० मिटर बटरफ्लाइतर्फ पहिलो स्वर्ण जितेर सपना पूरा गरिन् । उनी १६ वर्षको उमेरमा हिँडिरहेकी छन् ।

चिनियाँ सहर साओसिङकी यी सनसनी स्विमरले फाइनल स्पर्धाअगाडि नै टोकियो अक्वाटिक सेन्टरमा हिट चरणमा आफ्नै नाममा रहेको विश्व कीर्तिमान सुधार गरिसकेकी थिइन् । ‘यो मेरो पहिलो पारा ओलम्पिक अनुभव हो । व्यक्तिगत लक्ष्यको सवालमा यो सफलताले मेरो आत्मविश्वास बढाएको छ,’ सहज जितपछि युयानले एएफपीसँग भनिन्, ‘वास्तवमै रोमाञ्चक प्रतिस्पर्धा रह्यो । यसले मेरो जीवनको अर्को अध्याय सुरु भएको छ ।’

कोभिड–१९ महामारीका कारण दुई वर्षसम्म कुनै पनि प्रतियोगिता नखेलेकी युयानले स्वीकार गरिन्, ‘टोकियो आउनुअघि मैले केही कठिनाइको सामना गर्नुपरेको थियो । आजको दिन मैले आफ्नो लय महसुस गरेकी छु । मलाई सामान्य अवस्थामा फर्किन पाँच दिनको समय लाग्यो । यो समयमा मैले उचित प्रशिक्षण लिएँ अनि आराम लिएँ ।’

अघिल्लो साताको अन्त्यमा भएको एस६ अन्तर्गतकै ५० मिटर फ्रिस्टाइल र ४ गुणा १ सय मिटर फ्रिस्टाइलमा उनी पदक जित्न असफल थिइन् । तर उनी सोमबार अजेय देखिन्थिन् । उनले ३४.६९ सेकेन्डमा दूरी पूरा गरिन् । ५० मिटर बटरफ्लाइमा उनले इतिहासकै दोस्रो द्रुत टाइमिङ निकालेकी हुन् । उनले रजत विजेता आयरल्यान्डकी निकोली टर्नरलाई १.६१ सेकेन्डले पछि पारेकी थिइन् । हिट चरणमा उनले ३४.५६ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

स्मरणीय के छ भने युयानले पौडी खेल्न थालेको ८ वर्षमात्र भएको छ । तर उनले एक खेलाडीले जीवनभर हासिल गर्ने सफलताको अनुभव अहिले नै लिइसकेकी छन् । सायद त्योभन्दा पनि धेरै । ११ वर्षमै घरेलु राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेर उनले सबैलाई आश्चर्यचकित पारेकी थिइन् । सन् २०१८ मा जाकार्ता पारा एसियाली खेलकुदमा १३ वर्षको उमेरमै तीन स्वर्ण पदक जितेपछि चीनबाहिरका मानिसलाई पनि उनको विशेष क्षमताबारे जानकारी भएको थियो ।

त्यसको एक वर्षपछि विश्व पौडीजगतले उनलाई अझै धेरै चिन्ने अवसर पायो । १४ वर्षीया उनले लन्डन विश्व च्याम्पियनसिपमा आफ्नो दबदबा कायम राखिन् । युयानले विश्व च्याम्पियनसिपमा तीन स्वर्ण र दुई कांस्य जितिन् । एस ६ अन्तर्गत ५० मिटर बटरफ्लाइमा ३४.८६ सेकेन्डको विश्व कीर्तिमान कायम गरिन् । जुन टोकियोमा उनले सोमबार तोडेकी हुन् ।

लन्डनमा एस ६ विधामै उनले ४ सय मिटर फ्रिस्टाइलमा पनि विश्व कीर्तिमानसाथ स्वर्ण जितेकी थिइन् । १ सय मिटर फ्रिस्टाइलमा पनि जितेकी थिइन् । ५० मिटर फ्रिस्टाइल र १ सय मिटर ब्याकस्ट्रोकमा भने कांस्य जितेकी थिइन् । एउटा हात र एउटा खुट्टाको भरमा बटरफ्लाइतर्फ उनको दक्षता यतिसम्म छ कि ५० मिटरको दूरीमा उनको टाइमिङ सामान्य खेलाडीको विश्व कीर्तिमानभन्दा १० सेकेन्डमात्र कम छ ।

चीनको मुख्य व्यापारिक सहर सांघाईबाट १ सय ६० किलोमिटर दक्षिण–पश्चिममा अवस्थित साओसिङमा भएको भयानक दुर्घटनाको ५ वर्षपछि युयानलाई आमाले पौडी खेल्न प्रोत्साहित गरेकी थिइन् । छिट्टै थाहा भयो पौडी पोखरीले उनलाई अपांगताबाट मुक्त गरिदियो ।

‘तपाईंलाई पानीमा वैसाखी वा कृत्रिम अंगको आवश्यकता पर्दैन,’ उनले भनिन्, ‘तपाईंलाई कहाँसम्म पुग्नु छ, आफ्नो क्षमताका आधारमा त्यो आफैं निर्धारित गर्न सक्नुहुन्छ ।’ उनी आफ्नो सफलताको श्रेय परिवारका अलावा प्रशिक्षक फेङ जिइलाई दिन्छिन् । सानो उमेरमा अद्भूत साहस उनको सफलताको अर्को आधार हो । युयानकी प्राथमिक विद्यालयकी शिक्षिकाले स्थानीय सञ्चारमाध्यमसँग बताएअनुसार उनी गणित विषयको परीक्षामा हरेकपल्ट शतप्रतिशत नम्बर ल्याउँथिन् । त्यसैले उनलाई हरेक वर्ष ‘फाइभ स्टार छात्रा’ को उपाधि दिइन्थ्यो ।

पारा पौडी सुरु गरेको आठ वर्षमै यो विचित्रको सफलता हासिल गर्नु चानेचुने थिएन । तर, उनको मिहिनेतलाई पनि नजरअन्दाज गर्न मिल्दैन । उनी दैनिक ५ घण्टासम्म पोखरीभित्रै हुन्छिन् भने १० किलोमिटरसम्म पौडिरहेकी हुन्छिन् ।

प्रकाशित : भाद्र १५, २०७८ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?