जोसिला जोर्गिन्हो- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोसिला जोर्गिन्हो

ब्राजिलको बिचबाट उदाएका जोर्गिन्हो बालोन डी’अरको प्रत्याशीसम्म
बीबीसी

लन्डन — युरोको उपाधि दिलाएपछि जोर्गिन्हो प्रि सिजनमा चेल्सीको अभ्यास मैदान फर्केका थिए, कपाललाई सुनौलो रंगले रंगाएर । पछिल्लो सिजन उपाधि जित्ने बानी परेपछि यो ठीकै पनि हो । साथी हाकिम जिएचले उनको नयाँ रूप देखेर भनेका थिए, ‘कत्ति नराम्रो ।’ 

यसैले देखाउँछ, जोर्गिन्हो कति धेरै आत्मविश्वासी भएका छन् भनेर । आखिरमा उनी युरोपेली क्लब फुटबलका राजा भएका छन् । गत महिना उनी इटालीका त्यस्ता ११ औं खेलाडी भए, जसले एकै सिजन च्याम्पियन्स लिग जिते अनि युरोपेली च्याम्पियनसिप । बिहीबार रातिमात्र उनले त्यसमा यूईएफएको २०२०–२१ को वर्षको उत्कृष्ट खेलाडी पुरस्कार जितेका छन् । उनले उक्त पुरस्कारका लागि क्लबकै एन’गोलो कान्टे र म्यानचेस्टर सिटीका केभिन डी ब्रुयनेलाई पछाडि पारेका थिए ।

खासमा जोर्गिन्होको कथा हो, ब्राजिलको बिचबाट वेम्बलीको प्रसिद्ध जितसम्म । ७४ दिनको अन्तरमा उनले उपाधिको ह्याट्रिक गरे । तीन साता अघिमात्रै चेल्सीले भिल्लारियललाई हराएर सुपर कप जितेको थियो । यी २९ वर्षीय खेलाडीको उपाधि जित्ने भोक बढ्दो छ । उनले किशोर उमेरमै घर छाडे । इटालीमा बिताएका सुरुआती दिन साताको २० युरो कमाउँथे । अब यिनै जोर्गिन्होलाई नेपोली र चेल्सीका पूर्वप्रशिक्षक माउरिसियो सारीले बालोन डी’अरको प्रत्याशीसम्म भनेका छन् ।

उनका साथी काइ हाभर्टेजले पनि ठीकै भनेका छन्, ‘कसैले एकै सिजन च्याम्पियन्स लिग र युरो जित्छ भने उनी त्यसको (बालोन डी’अर) हकदार भएको नै हुन्छ । उनीसँग खेल्नुको मज्जा नै बेग्लै छ ।’ यूईएफए वर्ष खेलाडीले उनलाई बालोन डी’अरको बलियो दाबेदार बनाएको छ । तीन वर्षअगाडि जोर्गिन्हो र सारी दुवैले नेपोलीबाट चेल्सीको यात्रा तय गरेका थिए । यी मिडफिल्डरका लागि तिरिएको मूल्य थियो, ५ करोड ७० लाख पाउन्ड । लगत्तै उनी आफ्नी आमा मारिया जेरेजासँगै चेल्सी क्लबको पसल पुगे । त्यहाँ उनको नाम अंकित जर्सी देखेर आमाले आँसु नै रोक्न सकिनन् । सानो छँदा जोर्गिन्होका प्रशिक्षक अरू कोही नभएर तिनै आमा थिइन् । तर चेल्सीमा सुरुआती दिन खराब साबित भयो । सारीसँग जोडिएर आउने हुँदा उनलाई सारीको छोरा पनि भनियो । समर्थकले उनलाई उडाउन थालेका थिए । युरोपा लिग जिते पनि सारीले एक वर्षमै चेल्सी छाडे । उनी इटाली फर्के र युभेन्ट्समा आबद्ध भए । जोर्गिन्हो भने चेल्सीमै रहे । उनलाई आफ्ना नयाँ व्यवस्थापक फ्रान्क लाम्पार्डको मन जित्नु थियो । भलै, चेल्सीको कीर्तिमानी गोलकर्ताको मनमा उनीबारे सबै राम्रो सोच थिएन ।

सन् २०१९ मा डब्लिनमा भएको अभ्यास सत्रपछि त लाम्पार्डले दंग खाए, जोर्गिन्होको खेल हेरेर । खासमा जोर्गिन्हो मैदानमा मात्र होइनन्, बाहिर पनि आफ्ना सहकर्मीका लागि ज्यान फाल्ने खालका थिए । यस्तोमा लाम्पार्डले उनलाई नै केन्द्रमा राखेर टिम बनाउन सुरु गरेका थिए । पछि चेल्सीमा नयाँ व्यवस्थापक थोमस टचेल पनि आए । उनको रेखदेखमा जोर्गिन्हो अझै माझिएका खेलाडी बने । चेल्सीका समर्थकले उडाउँदा पनि उनमा आफूले एकदिन प्रमाणित गरेर देखाउन सक्ने विश्वास थियो ।

यस्तै विश्वास उनी ब्राजिलमा छँदा थियो । उनलाई आमाले दक्षिण ब्राजिली राज्य सान्टा क्याटरिनामा हुर्काइबढाइ गरेका थिए । भर्खर १३ वर्षको फुच्चे खेलाडी भए पनि फुटबल खेल्नकै लागि २०० किलोमिटर टाढाको विद्यालय जान्थे । पछि १५ वर्ष पुगेका थिएनन्, इटालीको भेरोना पुगे । सुरुआती दिन पक्कै गाह्रो थियो । आखिरमा प्रत्येक साता २० युरोले के नै गर्न पुग्थ्यो र ? उनी स्कुल जान्थे, नियमित अभ्यास गर्थे । उनी मिहिनेती थिए ।

जोर्गिन्होले तय गरेको यात्रा सायद फरक हुन सक्थ्यो । सन् २०१८ मा चेल्सी जानु अगाडि उनलाई म्यानचेस्टर सिटीले किन्न खोजेको थियो । उनलाई लिएर भनिएको थियो, जोर्गिन्हो युरोपमा उपलब्धि सबैभन्दा राम्रा मिडफिल्डर हुन् । हुन पनि उनकै खेलका कारण नेपोलीले झन्डै सिरी ‘ए’ को उपाधि जित्न लागेको थियो । पछि दोस्रो स्थानमै मात्र रह्यो । त्यतिबेला उनीसामु जीवनकै सबैभन्दा ठूलो प्रश्न तेर्सिएको थियो, ब्राजिलका लागि खेल्ने कि इटालीका लागि ?

नेपोलीमा छँदा ब्राजिलकै एलानसँग उनको खुबै दोस्ती जमेको थियो । मैदानमा पनि उनीहरूको साझेदारी गज्जब थियो । तर पछि फरक के भयो भने जोर्गिन्होले इटालीबाट खेल्ने निर्णय गरे । एलानले ब्राजिलकै लागि । सन् २०१६ मा इटालीले उनलाई पहिलोपल्ट राष्ट्रिय टिममा चयन गरेको थियो । जोर्जिन्हो के मान्छन् भने इटालीले यस्तो रूचि देखाएपछि मात्र ब्राजिलले उनमा नजर राख्न सुरु गरेको थियो । आफ्नी हजुरआमाका कारण उनले इटालीका लागि पनि खेल्थ पाउँथे ।

अन्त्यमा जोर्गिन्होले इटालीबाट नै खेल्ने निर्णय गरे । उनका ब्राजिली साथी एलान भन्छन्, ‘उनले ठीकै निर्णय गरे । पछिल्लो समय जोर्गिन्होले जे जति सफलता चुमे, त्यसका लागि पनि पूर्ण हकदार छन् । उनले आफ्नो अहिलेको खेलजीवनका लागि निकै कडा मिहिनेत गरेका छन् । अभ्यासमा पनि उनी शतप्रतिशत मिहिनेत गर्छन् । त्यसैले उनको अहिलेको सफलतामा कोही कसैले आश्चर्य नमाने हुन्छ ।’

प्रकाशित : भाद्र १२, २०७८ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्

रंगभेदी व्यवहारको सर्वत्र आलोचना

बीबीसी

लन्डन — इंग्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले युरो २०२० को फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि आफ्नो टिमका तीन खेलाडी मार्कस रसफोर्ड, जाडोन सान्चो र बुकायो साकामाथि लागेको रंगभेदी व्यवहारलाई अक्षम्य अपराधको रूपमा टिप्पणी गरेका छन् ।

इंग्ल्यान्डका मार्कस रसफोर्ड र जाडोन सान्चो । तस्बिर : एपी

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र इंग्लिस फुटबल एसोसिएसनले पनि यो घटनाको घोर निन्दा गरेका छन् । इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ ले पराजित हुँदा उनीहरू गोल गर्न चुकेका थिए । त्यसलगत्तै उनीहरू सामाजिक सञ्जालको निसानामा परेका हुन् । लन्डन प्रहरीले यो दुर्व्यवहारको अनुसन्धान गरिरहेको छ ।

‘जित–हारमात्र हाम्रा लागि सबैथोक होइन,’ प्रशिक्षक साउथगेटले भनेका छन्, ‘राष्ट्रिय टिमले देशलाई एकताको सूत्रमा बाँधेको हुन्छ । हामी सबैले एकअर्काको भावना बुझ्नुपर्छ र एकजुट हुनुपर्छ । हाम्रो देशमा एउटा यस्तो शक्ति छ, जो एकसाथ आएको खण्डमा सकारात्मक ऊर्जा प्रवाह हुनसक्छ भनेर हामीले प्रमाणित गरिसकेका छौं ।’

पेनाल्टीबारे प्रशिक्षक साउथगेटले थपे, ‘पेनाल्टी को खेलाडीले प्रहार गर्छ भन्ने नितान्त मेरो निर्णय थियो । यो खेलाडीको स्वेच्छाले भएको होइन र अधिक अनुभवी खेलाडीहरू पछि हटेका पनि होइनन् ।’ सन् १९६६ को विश्वकप जितेयता इंग्ल्यान्ड पहिलोपल्ट प्रमुख प्रतियोगिताको फाइनलमा पुगेको थियो । खेलको दोस्रो मिनेटमै अग्रता लिनुका बाबजुद अतिरिक्त समयसम्म १–१ को बराबरी खेलेपछि पेनाल्टीबाट नतिजा छिनोफानो गरिएको हो ।

इंग्ल्यान्डको यो टोलीका सदस्यहरू राष्ट्रिय नायकका रूपमा प्रशंसाका पात्र हुन्, रंगभेदी दुर्व्यवहारका लागि होइनन्,’ बेलायती प्रधानमन्त्री जोन्सनले भने, ‘जसले यस्तो निकृष्ट आरोप लगाइरहेका छन् उनीहरू घृणाका पात्र हुन् ।’

रंगभेदी व्यवहारविरुद्धमा ऐक्यवद्धता जनाउँदै इंग्ल्यान्ड टिमले युरोका हरेक खेलअघि घुँडा टेकेर सकारात्मक सन्देश दिँदै आएको छ । जुन ११ मा प्रतियोगिता सुरु हुनुअघिका दुई अभ्यास खेलमा इंग्लिस खेलाडीले घुँडा टेकेकामा समर्थकले मजाक उडाएकोप्रति भने प्रधानमन्त्री केही बोलेका थिएनन् । इंग्लिस एफएले वेम्बलीको हारपछि आफ्ना तीन खेलाडीमाथिको ‘अनलाइन रंगभेद’ बाट स्तब्ध भएको जनाएको छ । एफएले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘रंगभेदजस्तो घृणित व्यवहार कुनै पनि पक्षबाट हुनुहुँदैन भन्नेमा हामी स्पष्ट छौं । हामी पीडित खेलाडीको सुरक्षाका लागि हरसम्भव प्रयास गर्नेछौं र यस घटनाका जिम्मेवार जो कसैलाई पनि कानुनी दायरामा ल्याउन आग्रह गर्छौं ।’ एफएले अनलाइनबाट हुने रंगभेदी व्यवहारको नियन्त्रणका लागि आवश्यक कानुन तर्जुमा गर्न सरकारसँग माग गर्ने जनाएको छ । ‘खेलका क्रममा हुने भेदभाव नियन्त्रण गर्नका लागि हामीले सुरु गरेका सबै प्रयासलाई निरन्तरता दिइनेछ । तर हामी सरकारसँग उचित कानुन तर्जुमा गर्न अपिल पनि गर्नेछौं ।

यसको दुरुपयोगले वास्तविक जीवनमा ठूलो संकट नल्याओस्,’ वक्तव्यमा थप भनिएको छ, ‘सामाजिक सञ्जालले पनि आफ्नो माध्यममार्फत यस्तो दुर्व्यवहार गर्नेलाई प्रतिबन्ध लगाउने वा अन्य कारबाहीको दायरामा ल्याउने अभियानको नेतृत्व गर्नुपर्छ । यस प्रकारको घृणित कार्यलाई रोक्न सकियोस् ।’ मे महिनामा युरोपा लिगको फाइनलमा म्यानचेस्टर युनाइटेडले पराजय बेहोर्दा पनि रसफोर्डमाथि नस्लीय दुर्व्यवहार भएको थियो ।

प्रकाशित : असार २९, २०७८ ०८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×