२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

आर्सनलको कमजोरी

द गार्डियन

लन्डन — आर्सनल समर्थकलाई इमान्दारितापूर्वक भन्न गाह्रै छ, क्लबमा के भइरहेको छ । र, यो नै सत्य हो । आर्सनल इंग्लिस प्रिमियर लिगमा चेल्सीसँग सजिलै २–० ले पराजित भएको छ । रोमेलु लुकालु आफ्नो लन्डन प्रतिद्वन्द्वीमाथि साह्रै भारी परेको छ ।

आर्सनलको कमजोरी

समर्थकबाट यस्तै प्रतिक्रिया आउँदो हो । यही बेला आर्सनल जसरी पराजित रह्यो, त्यसको गम्भीर विश्लेषण गर्ने हो भने चारैतर्फ कमजोरी देखा पर्छ । स्तरीयताका आधारमा आर्सनल फितलो नै छ ।

खेलका क्रममा आर्सनलका ११ खेलाडीले एकपछि अर्को समान भुल गरिरहेका थिए । यिनै ११ खेलाडीमात्र यस्ता थिए, जसले आर्सनल कहाँनिर कमजोर छ, त्यो देखिरहेको थिएन । चेल्सीले आर्सनलमाथि आइतबारको खेलमा जे जस्तो गरेको छ, त्यस्तै पारा यो सिजन अन्य क्लबमाथि पनि दोहाोर्‍याउने छ । अहिलेसम्म लिग उपाधि होडमा चार टिम देखापरेका छन् । त्यसमध्ये चेल्सी नै त्यस्तो टिम छ, जसको अधिकांश क्षेत्र बलियो छ ।

चेल्सीको खेल निकै तीव्र छ । पखेटा फिँजाएर यो टिमले आक्रमण गर्ने गर्छ । मध्यपंक्तिले बल अगाडि बढाएर रोमेलु लुकाकुसम्म पुग्दा स्थिति विपक्षी टिमका लागि निकै घातक साबित भइसक्छ । आर्सनलविरुद्ध चेल्सीले दोस्रो हाफमा त्यस्तै गतिले खेल्न सकेन । अबका खेलमा पनि खेल्न सक्ने छैन । तर यसका लागि प्रशिक्षक थोमस टचेलसँग उपाय छ । मैदानमा एन’गोलो कान्टे र हाकिम जिएच उत्रनेछन् । खेललाई हल्का सुस्त नै सही तर चलायमान बनाउनेछन् ।

गम्भीर भएर भन्नैपर्छ, चेल्सी निकै बलियो देखिएको छ । तर यहाँनिर अर्को सत्य के छ भने यो सिजन चेल्सीलाई सधैं सजिलो हुने छैन । किनभने सबै प्रतिद्वन्द्वी आर्सनल पनि त हुँदैनन् । मिकेल आर्टेटाले तय गरेको ४–२–३–१ को रणनीतिले रिउस जेम्सजस्ता खेलाडीलाई मैदानको आधा भागबाट सजिलै अगाडि बढ्न रोक्नसमेत सकेन । पूर्णतः चार खेलाडीको डिफेन्सलाई मात्र दोष दिनुहुन्न । पूरा टिम दोषी देखिन्छ ।

आर्सनलका खेलाडीमा रणनीतिक शिक्षाको अभाव देखिन्छ । उनीहरू आफ्नो ‘पोसिजन’ को व्याकरण बुझ्न असमर्थ देखिएका छन् । सायद यत्तिको खराब टिम ब्रेन्टफोर्ड मात्र छ । खेलमा लुकाकुले गरेको पहिलो गोलकै चर्चा गरौं । त्यतिबेलासम्म आर्सनलले ठिकै खेलिरहेको थियो । तर जतिबेला चेल्सीले आक्रमण बढायो, आर्सनलका खेलाडीको प्रदर्शन अचम्मले कमजोर देखिन थाल्यो । जतिबेला जेम्सले लुकाकुलाई क्रस दिए, त्यतिबेला आर्सनलका कोही पनि खेलाडी ठिक पोसिजनमा थिएनन् ।

टिममा देखिने यस्तो रोगको उपचार हुन्न । बरू प्रश्नमाथि प्रश्न हुन्छ । जस्तो, किन निकोलस पेपेले ‘लेफ्ट विंग्स’ पछ्याइरहेको थियो ? बुकायो साकाको खास पोसिजन के हो त ? यस्ता प्रश्न वास्तवमै धेरै छन् । त्यसैले भन्न सुरु भएको छ, आर्सनल जत्तिको प्रिमियर लिगमा खराब टिम अरू कोही छैन । फेरि चेल्सीले ९ करोड ७५ लाख पाउन्ड तिरेर लुकाकु जत्तिको खेलाडी किन्न सक्छ । तर, यही बेला आर्सनलमा उनी जत्तिको अरू कोही खेलाडी आउन तयार हुने छैनन् ।

यदि टिममा स्तरीयता छैन भने स्तरीय खेलाडी आउने पनि छैन । त्यसका लागि आर्सनलले अहिले जे जति खेलाडी उपलब्ध छ, त्यसैबाट काम निकाल्नुपर्नेछ । यसका लागि चलाखीपूर्ण प्रशिक्षण चाहिन्छ । पहिलो हाफको तुलनामा दोस्रोमा आर्सनलको प्रदर्शन अपेक्षाकृत राम्रो रह्यो । यसक्रममा उसले चेल्सीमाथि धावा बोलेको थियो । पक्कै पनि आर्सनलको चारैतर्फ कमजोरी छ । यसलाई सच्याउन नसकिने होइन, तर कडा मिहिनेत आवश्यक छ ।

प्रकाशित : भाद्र ८, २०७८ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?