बार्सिलोना मेसीबिना तयार

एएफपी

बार्सिलोना — बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले विगत बिर्सिएर ला लिगाको नयाँ सिजन सुरु गर्न उत्साही रहेको बताएका छन् । नोउ क्याम्पमा लियोनल मेसीबिनाको बार्सिलोनाले आइतबार रियल सोसिडाडविरुद्धको खेलसँगै स्पेनिस शीर्ष डिभिजन फुटबलको नयाँ सिजन थाल्नेछ ।

बार्सिलोना मेसीबिना तयार

मेसीको बहिर्गमन सम्पूर्ण बार्सिलोना समर्थकका लाथि दर्दनाक रहयो । तर उनीजत्तिका खेलाडीले यो क्लबमा गर्नुपर्ने सम्पूर्ण योगदान गरेका छन्,’ पत्रकार सम्मेलनमा कोम्यानले भने, ‘हामीलाई उनको अभाव धेरै रहनेछ । उनी क्लब इतिहासकै सबभन्दा महत्त्वपूर्ण खेलाडी रहे । तर हामी विगतमा रहिरहन सक्दैनौं । धेरै कुरा परिवर्तन भएका छन् । म नयाँ सिजनप्रति धेरै नै उत्साही छु ।’

‘हाम्रा चोटग्रस्त खेलाडीहरू फर्किएपछि हामीसँग ठूलो सफलता हासिल गर्नसक्ने बलियो टिम हुनेछ । टिममा अनुभवी खेलाडीहरू छन् र हामी खेल्न तयार छौं । हामीसँग ला लिगाअघि पाँच साताको तयारी अनुभव छ । जहाँ मेसी थिएनन्,’ मेसीबिना टिमको सन्तुलन तयार भएको संकेत गर्दै कोम्यानले भने ।

बार्सिलोनाले मेसीलाई गुमाउनुको विकल्प नरहेको प्रस्ट पारिसकेको छ । किनभने क्लब १.२ विलियन युरो ऋणको पहाडले थिचिएको छ र त्यसलाई कम गर्न संघर्षरत छ । क्लबले मेसीको तलबमान ला लिगाको वित्तीय सुशासनको सीमाभन्दा धेरै १ सय १० प्रतिशत पुगेको जनाएको छ ।

बार्सिलोनाले शनिबार दिएको जानकारीअनुसार आफ्ना प्रमुख खेलाडीहरू जोर्डी अल्बा, सर्गी रोबर्टो, जेरार्ड पिके र सर्जियो बुस्क्वेटले आफ्नो तलव कटौतीका लागि सहमति जनाएका थिए । ‘हामीले क्लबको आर्थिक स्थिति राम्रोसँग बुझेका छौं । त्यसैले सबै तरिकाबाट सहयोग आवश्यक छ । खेलाडीहरूको यो सहमतिको प्रशंसा गर्नुपर्छ,’ कोम्यानले भने ।

उनले नयाँ खेलाडीको अनुबन्धबारे आशा गरेका छन् । ‘हामीसँग स्ट्राइकरको कमी छ । त्यसैले एक अलग प्रकृतिको स्ट्राइकर अनुबन्ध गर्ने सम्भावनाबारे कुराकानी भइरहेको छ,’ उनले थपे, ‘तर आर्थिक सुशासन उल्लंघन नहुने गरी अनुबन्धन हुनेछ ।’

प्रकाशित : श्रावण ३०, २०७८ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?