प्रिमियर लिगको नयाँ सिजन : ठूला चार क्लबबीच होड

इंग्लिस फुटबलमा परम्परादेखि शीर्ष ६ टिमलाई ‘विग सिक्स’ भन्ने गरिन्छ । ती हुन् म्यानचेस्टर सिटी, युनाइटेड, चेल्सी, लिभरपुल, टोटेनहम र आर्सनल । 
एपी

लन्डन — म्यानचेस्टर सिटीले भर्खरै खेलाडी स्थानान्तरणमा कीर्तिमान बनाएको छ । सायद चेल्सीले पनि यस्तै काम गर्दै छ । म्यानचेस्टर युनाइटेडले आफ्नो कमजोरी रहेका दुई स्थानमा खेलाडी भर्न १५ करोड डलर खर्च गरिसकेको छ । अनि लिभरपुल ? यो क्लब सायद त्यस्ता पुराना खेलाडीलाई स्वागत गर्नमै खुसी देखिएको छ, जसले पछिल्लो सिजन चोट बोकेको थियो । धेरै कारण विश्लेषण गरेर भन्न सकिन्छ, यसपल्ट पनि त्यही चार टिमबीच उपाधिको होड हुनेछ । तिनैले पछिल्लो सिजन पनि शीर्ष चारको स्थान हात पारेका थिए । 

प्रिमियर लिगको नयाँ सिजन : ठूला चार क्लबबीच होड

१७ महिनापछि पहिलोपल्ट पूरा दर्शकसहित शुक्रबार नवप्रवेशी ब्रेनफोर्डले आर्सनलसँग खेलेर २०२१–२२ को सिजन सुरु गर्नेछ । इंग्लिस फुटबलमा परम्परादेखि शीर्ष ६ टिमलाई ‘विग सिक्स’ भन्ने गरिन्छ । ती हुन् सिटी, युनाइटेड, चेल्सी, लिभरपुल, टोटेनहम र आर्सनल । सन् २०१६ को अस्वाभाविक विजेता लेस्टर सिटीलाई पनि थप्नुपर्ने हुन्छ र भन्न सकिन्छ, ‘विग सेभेन’ । तर, तय के पनि छ भने अबको सिजन उपाधि अनि शीर्ष चारका लागि चारै टिमबीच मात्र प्रतिस्पर्धा चल्नेछ ।

म्यानचेस्टर सिटी

म्यानचेस्टर सिटीले ज्याक ग्रेलिसलाई किन्न १३ करोड ९० लाख डलर खर्च गरेको छ । यसक्रममा प्रतिद्वन्द्वी टिमलाई खुला चुनौती दिएको छ । उनको आमगनले सिटीको मध्यपंक्तिमात्र थप मबजुत भएको छ, जहाँ पेप ग्वार्डिओलाको टिम यसअघि नै बलियो छ । सर्जियो अगुइरोले १० वर्षपछि सिटी छाडेपछि खासमा टिमलाई फरवार्ड आवश्यक हो । यसका लागि सिटीले अझै पनि ह्यारी केनमाथि परेको नजर हटाएको छैन ।

केनको मूल्य ग्रेलिसभन्दा बढी हुने तय छ । सायद धेरै बढी । टोटेनहमले केनलाई बेच्न चाह्यो भने यो बेलायती फुटबलकै नयाँ इतिहास बन्ने छ । तर, ग्वार्डिओलाले केनलाई धेरै महत्त्व दिन नचाहे जस्तो देखिन्छ, यदि स्थानान्तरण आफैंमा जटिल भए । यस्तै भयो भने त्यो सिटीका लागि धक्का साबित हुनसक्ने छ । केन सिटीमा आए टिममा कमजोर स्थान भन्ने नै हुने छैन । सिटी वास्तवमै कति धेरै बलियो छ भने यसको दोस्रो रोजाइका खेलाडीले भरिएको टिमले पनि शीर्ष चार हात पार्नसक्छ ।

चेल्सी

सिटीका लागि पछिल्लो समय सबैभन्दा बलियो प्रतिद्वन्द्वी कुनै टिम साबित भएको छ भने त्यो चेल्सी हो । चेल्सीले सिटीविरुद्धका पछिल्ला तीन खेल जितेको छ, जसमध्ये चेल्सीले सिटीलाई हराएर नै मे महिनामा युरोपेली च्याम्पियन्स लिग जितेको थियो । चेल्सीको डिफेन्स सबैभन्दा बलियो देखिन्छ । यसमा सबैभन्दा ठूलो नाम रहेको छ जोर्गिन्हो । चेल्सीको पछाडि खेल्न ५ खेलाडीलाई सुरक्षित राख्न टिमसँग सदाबहार एनगोलो कान्टे पनि छन् ।

चेल्सी व्यवस्थापक थोमस टचेलले टिमको आक्रमण बलियो बनाउने प्रयास गरिरहेका छन् । यसका लागि क्लबले रोमेलु लुकाकुलाई भित्र्याउने योजना बनाइरहेको छ । केही औपचारिकता पूरा गरेपछि लुकाकु इन्टर मिलानबाट क्लब कीर्तिमानी मूल्य १३ करोड ५० लाख डलरमा चेल्सी आउनेछन् । लुकाकुले सन् २०११ देखि २०१४ सम्म यही लन्डन क्लबकै लागि खेलेका थिए । पछिल्लो सिजन पर्याप्त खर्च गरेपछि चेल्सी टिम त्यत्तिकै बलियो छ, जति सिटी छ ।

म्यानचेस्टर युनाइटेड

म्यानचेस्टर युनाइटेडले जाडोन सान्चोका लागि १० करोड डलर खर्च गरिसकेको छ । आफ्नो डिफेन्सलाई बलियो बनाउन राफेल भारानलाई पनि किनेको छ । भारानका लागि ५ करोड डलरमात्र लागे पनि उनी उत्तिकै महत्त्वका खेलाडी हुन सक्छन् । यसअघिका केही सिजन खेलाडी स्थानान्तरण बजारमा चुपचाप रहेको म्यानचेस्टर अब भने खुबै सक्रिय देखिएको छ । म्यानचेस्टर युनाइटेड व्यवस्थापकमा ओले गनर सोल्सायर आएयता पहिले जस्तै बलियो टिम बनाउन चाहन्छ ।

सन् २०१८ मा सोल्सायर म्यानचेस्टर आएका थिए । उनले अहिलेसम्म कुनै पनि उपाधि जित्न सकेका छैनन् । सायद टिममा अझै पनि डिफेन्सिभ मिडफिल्डर आवश्यक हुनसक्छ । यही स्थानमा बलियो खेलाडीको कमीले टोलीले पोहोर लिग जित्न सकेन । पूर्णतः फिट रहे एडिसन काभानी टिमका लागि निकै निर्णायक खेलाडी हुन सक्नेछन् । सायद पाउल पोग्बा पनि कम्तीमा यस सिजन म्यानचेस्टरमै रहनेछन् ।

लिभरपुल

सन् २०१९–२० को लिग विजेता लिभरपुलले त्यसको अर्को सिजन उपाधि रक्षाको काम ढंगले गर्न सकेन । लिग जित्दा १९ अंकले अगाडि रहेको लिभरपुलले त्यसलाई गुमाउँदा त्यही सिटीभन्दा १७ अंकले पछाडि रह्यो । तर यसका लागि ठोस कारण रहेको छ । त्यो हो, भर्जिल भान डाइकलाई लागेको चोट । सिजन सुरु भएको एक महिनामात्र भएको थिएन, घुँडाको चोटका कारण उनले सबै बाँकी समय गुमाएको थियो ।

त्यसपछि त व्यवस्थापक योर्गन क्लोपले एकपछि अर्को खेलाडी चोटका कारण गुमायो, त्यो पनि डिफेन्सकै खेलाडी बढी । सिजनको सुरुआत कमजोर गरेको लिभरपुलले अन्त्य भने राम्रो ढंगले गर्‍यो । यसका लागि च्याम्पियन्स लिग छनोट पनि ठूलै उपलब्धि थियो । भान डाइकको पुनरागमनले लिभरपुल डिफेन्समा बलियो हुने छ । त्यसमाथि क्लबले रक्षापंक्तिकै लागि भने इब्राहिम कोनाटेलाई पनि किनेको छ । सायद टिमको कमजोरी केही हदसम्म मिडफिल्डमै छ ।

अरू प्रत्याशी

पछिल्लो सिजन लेस्टर सिटीका लागि फेरि एकपल्ट राम्रो साबित भयो । पाटसन डाकालाई किनेपछि लेस्टरमा पनि आक्रमणका लागि धेरै विकल्प बनेको छ । सायद टिममा खाली आर्थिक शक्तिमात्र कमी देखिन्छ । त्यसैले यसले शीर्ष चारलाई पेस गर्ने चुनौती केही कमजोर हुन सक्नेछ । तर कप र युरोपमा भने टोलीले राम्रो गर्ने विश्वास गर्न सकिन्छ । यही तथ्य आर्सनलमा भने लागू हुन्न । आर्सनलले यो सिजन युरोपमा खेल्ने छैन ।

आर्सनल २५ वर्षयता पहिलोपल्ट युरोपेली फुटबलमा अनुपस्थित रहने छ । गत सिजन आठौं स्थानमा रहेको आर्सनलले यसपल्ट लिगमा सुधार गर्न सक्नेछ । व्यवस्थापक मिकेल आर्टेटाका लागि लक्ष्य यही रहनेछ । यसका लागि शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा फर्कनु निकै ठूलो माग साबित हुन सक्नेछ । टोटेनहममा यस सिजनका लागि नयाँ व्यवस्थापक आएका छन्, नुनो सान्टोका रूपमा । ह्यारी केन जाने वा बस्ने निर्णयले टोटेनहमको प्रदर्शनमा धेरै फरक पार्नेछ ।

प्रकाशित : श्रावण २९, २०७८ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?