१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जापानी प्रधानमन्त्री सुगाले भने– ‘धन्यवाद जनता’

एपी

टोकियो — जापानका प्रधानमन्त्री प्रधानमन्त्री योसिहिदे सुगाले कोरोना भाइरस महामारीको कठिनाइबीच देशमा सुरक्षित तबरबाट ओलम्पिक आयोजना गर्न सहयोग गर्ने आफ्ना नागरिकलाई धन्यवाद दिएका छन् ।

जापानी प्रधानमन्त्री सुगाले भने– ‘धन्यवाद जनता’

महामारीकै कारण खेलकुद महामेला आयोजना एक वर्ष सारिएको र केही प्रतिबन्धको व्यवस्था गरी प्रतियोगिता आयोजना गर्नुपरेको उनले बताए । ‘तर आयोजक राष्ट्रको हैसियतमा हामी हाम्रो जिम्मेबारी पूरा गर्न सक्षम रह्यौं,’ सुगाले भने ।

१७ दिन चलेको ३२ औं ग्रीष्मकालीन ओलम्पिक लगभग दर्शकरहित आयोजना भएको थियो । खेलाडीहरू ‘आइसोलेसन बबल’ मा रहन बाध्य थिए । उनीहरूले प्रतियोगितामा आफ्नो खेलका क्रममा मात्र मास्क खोल्न पाउँथे भने आफ्नो स्पर्धा सकिएपछि तुरुन्तै जापान छाड्नुपर्ने हुन्थ्यो ।

तर खेलहरू दृढतापूर्वक सम्पन्न भयो । महामारीबीच भएको प्रतियोगिताले खेलाडीमात्र होइन समग्र विश्व खेलजगत नै अनुग्रहित रह्यो । प्रधानमन्त्री सुगाले देशका खेलाडीले कीर्तिमानी ५८ पदक जितेकामा प्रशंसा गर्दै भने, ‘केहीले पदक जिते, केहीले सकेनन् । तर उनीहरू सबैले आफ्नो प्रदर्शनमा कुनै कमी राखेका थिएनन् ।’

जापानी सहर नागासाकीमा अमेरिकी परमाणु बमबारीको ७६ औं वर्षगाँठको कार्यक्रममा सोमबार पनि सुगाले ओलम्पिकबारे कुराकानी गरेका थिए । महामारीका क्रममा ओलम्पिक आयोजना गराएको भन्दै सुगाको आलोचना भएको थियो । जापानी जनता यो समयमा प्रतियोगिता आयोजना नहोस् भन्ने चाहन्थे ।

उता वासिङ्टनबाट अमेरिकी राष्ट्रपति जो बाइडेनले जापानको सफल आतिथ्यताका लागि सुगाको सराहना गरे । ह्वाइटहाउसका अनुसार बाइडेनले जापानी प्रधानमन्त्री सुगासँगको टेलिफोन संवादमा आसन्न पाराओलम्पिक आयोजनाका लागि शुभकामना व्यक्त गरेका छन् । ओलम्पिककै जस्तै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी पाराओलम्पिक खेलकुद अगस्ट २४ देखि टोकियोमा सुरु हुँदै छ ।

कोरोना संक्रमणबाट जापानमा अहिलेसम्म १० लाखभन्दा बढी संक्रमित भएका छन् भने १५ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ । अन्य देशको तुलनामा यो आँकडा कम भए पनि पछिल्लो संक्रामक डेल्टा भेरियन्टले संक्रमण तीव्र रूपमा फैलाइरहेको छ ।

ओलम्पिकको समयमा जापानमा कोरोना संक्रमणको संख्या अन्य समयभन्दा झन्डै दोब्बर बढिरहेको थियो । सोमबारमात्र २ हजार ८ सय ८४ नयाँ संक्रमित देखिएका थिए । टोकियोका अस्पतालमा गम्भीर बिरामीको संख्या बढ्न थालेको छ । १८ हजारभन्दा बढी जनता घरमै आइसोलेसनमा रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

प्रकाशित : श्रावण २७, २०७८ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?