कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सकियो टोकियो ओलम्पिक, ३९ स्वर्ण पदकसहित अमेरिकाको वर्चस्व

महामारीबीच जापानले सफल आयोजना गरेको ३२ औं ग्रीष्मकालीन ओलम्पिकको अन्तिम दिन अमेरिकाले प्रतिस्पर्धी चीनलाई स्वर्णको होडमा उछिन्दै पहिलो स्थान हात पार्‍यो ।
राजु घिसिङ

टोकियो — टोकियो ओलम्पिक २०२० को पदक तालिकामा सुरुबाटै चीनले अग्रता लियो । उद्घाटन समारोहको भोलिपल्टदेखि गणना गरेर प्रतिस्पर्धाको १५ औं दिनसम्म उसलाई कसैले उछिन्न सकेको थिएन । चीनले ३८ स्वर्णसहित शीर्षस्थानमा रहेर ३२ औं ग्रीष्मकालीन ओलम्पिकको अन्तिम दिन आइतबारको प्रतिस्पर्धा थालेको थियो । चीन स्वर्णको दुई अवसरमा चुकेपछि अमेरिकाले शीर्षस्थान कब्जा गर्‍यो ।

सकियो टोकियो ओलम्पिक, ३९ स्वर्ण पदकसहित अमेरिकाको वर्चस्व

ग्रीक राजधानी एथेन्सबाट १२५ वर्षअघि सुरु भएको आधुनिक ओलम्पिकमा स्वर्णका आधारमा पदक तालिकामा वरीयता निर्धारण गरिन्छ । यसमा अघिल्लो दिनसम्म चीनले अमेरिकामाथि २ स्वर्णको अग्रता लिएको थियो । अन्तिम दिन तीन स्वर्ण जित्दै अमेरिकाले चीनलाई उछिन्दै शीर्षस्थानमा टोकियो ओलम्पिक टुंग्याएको हो ।

विश्व राजनीति र व्यापारमा चर्को प्रतिस्पर्धा गरिरहेका सुपरपावर अमेरिका र चीनबीच हरेक क्षेत्रको प्रतिस्पर्धाले ध्यान खिच्ने गरेको छ । यस ओलम्पिक पनि यी दुई शक्तिमा कसले सर्वाधिक स्वर्ण जित्ने भन्नेमा धेरै बहस र अनुमान भएको थियो । यस्तोमा अमेरिकाले फेरि एकपल्ट चीनको बेइजिङ ओलम्पिक २००८ यता सर्वाधिक स्वर्ण जित्ने योजनालाई असफल पारिदियो ।

यसपटक अमेरिका र चीनबीच शीर्षस्थानको होड निकै चर्को रह्यो । अन्तिम दिनभन्दा अगाडि रहेको चीनलाई अमेरिकाले पछ्याइरह्यो । रिदमिक जिम्न्यास्टिक अलराउन्ड (समूह) को फाइनलमा चौथो स्थानमा सीमित भएको चीन महिला बक्सिङको मिडलवेटमा पनि रजत पदकमै रोकियो । त्यसैले अमेरिकाले तीन स्वर्ण जित्दै अमेरिकाले शीर्षस्थानमा रहेर टोकियो ओलम्पिकको सुखद अन्त्य गर्‍यो । यसक्रममा अमेरिकालाई अन्तिम दिनको तीनै स्वर्ण महिला खेलाडीले दिलाए । चीनले पनि अधिकांश पदक महिला र मिक्स स्पर्धामै हात पार्‍यो ।

अमेरिकाले फाइनलमा ब्राजिललाई ३–० ले पराजित गर्दै आइतबार महिला भलिबलमा ओलम्पिक इतिहासकै पहिलो स्वर्ण जित्यो । महिला बास्केटबलको फाइनलमा जापानलाई ९०–७५ ले हराएर अमेरिकाले लगातार सातौंपल्ट स्वर्ण चुम्यो । यो स्पर्धामा अमेरिकी टिमले अपराजित यात्रालाई ५५ खेल पुर्‍यायो । जेनिफर भ्यालेन्तीले पनि साइक्लिङमा स्वर्ण कब्जा गरिन् । अमेरिकालाई अर्को एक स्वर्ण थप्ने अवसर पनि थियो । तर रिचार्ड तोरेफलाई सुपरहेभिवेट बक्सिङ उज्वेकिस्तानका बाखोदिर जालोलोभले ५–० ले पन्छाउादै स्वर्ण कब्जा गरे ।

३२ औं संस्करणको ३३ खेलमा ३ सय ३९ स्पर्धा समावेश थिए । शरणार्थीको एक टिम तथा २ सय ५ देशका ११ हजार बढी खेलाडीको प्रतिस्पर्धामा ३ सय ४० स्वर्ण, ३ सय ३८ रजत र ४ सय २ कांस्य वितरण गरियो । यसपालि ९३ देशले पदक जित्दा अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कांस्यसहित कुल १ सय १३ पदक जित्यो । पौडी, एथलेटिक्स, जिम्न्यास्टिकमा अपेक्षाकृत प्रदर्शन गर्न नसके पनि अमेरिकाले शीर्षस्थान गुमाउनुपरेन । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कांस्यसहित ८८ पदक हात पार्‍यो । उसले भारोत्तोलन, डाइभिङ, जिम्न्यास्टिक र टेबलटेनिसमा विगतजस्तै वर्चस्व राख्यो । क्यानोइङ, साइक्लिङ, रोइङ र एथलेटिक्समा पनि स्वर्ण जित्यो । पौडीमा पनि सुधार गर्‍यो । तर देशबाहिर भएको ओलम्पिकमा अमेरिकालाई उछिन्न सकेन । सन् १९८४ मा ओलम्पिकमा फर्केयता चीन अमेरिकालाई उछिनेर विश्व खेलकुदकै सुपरपावर हुने दाउमा रहेको छ ।

कोभिड–१९ को महामारीले एक वर्ष धकेलिएको ओलम्पिकमा आफ्नै जनता विपक्षमा हुँदाहुँदै पनि जापान सरकारले सफल आयोजना गर्‍यो । टोकियोमा कोभिड संक्रमितको संख्या बढिरहेकै बेला जापानले ओलम्पिक पदकमा पनि ऐतिहासिक फड्को मार्‍यो । उसले २७ स्वर्ण, १४ रजत र १७ कांस्यसहित ५८ पदक जित्दै पहिलोपल्ट तेस्रो स्थान हात पार्‍यो । पाँचवटा नयाा खेल बेसबल, कराते, स्केटबोर्डिङ, क्लाइम्बिङ र सर्फिङको आयोजक जापानले पूरा फाइदा लियो । बेलायतले २२ स्वर्ण र रुसले २० स्वर्ण जिते ।

नेपालका ५ खेलाडीले चार खेलमा प्रतिस्पर्धा गरेका थिए । विश्वव्यापी सहभागिता र आमन्त्रित कोटामा ओलम्पियन बन्ने मौका पाएका नेपाली खेलाडीको चुनौती प्रारम्भिक चरणमै समाप्त भयो, जुन अस्वाभाविक होइन । यसक्रममा पौडीका अलेक्जेन्डर गाडेगार्ड शाह, गौरिका सिंह र सुटिङकी कल्पना परियारले आफ्नै नामका राष्ट्रिय कीर्तिमान सुधार गरे ।

अमेरिका ओलम्पिक इतिहासमै सर्वाधिक पदक जित्ने देश हो । सोभियत युनियनले अफगानिस्तानमा हस्तक्षेप गरेको विरोधमा अमेरिकाले मस्को ओलम्पिक १९८० बहिष्कार गरेको थियो । त्यसबाहेक सोभियत संघ विघटन नभएसम्म अमेरिकालाई बारम्बार रुसले स्वर्णको होडमा उछिन्ने गरेको थियो । उसलाई बेलाबेला पूर्वी जर्मनीले पनि पछाडि पारेको थियो ।

बेइजिङमा १३ वर्षअघि आफैंले आयोजना गरेको ओलम्पिकमा चीनले अमेरिकालाई उछिन्दै शीर्षस्थान हात पारेको थियो । त्यसबाहेक अमेरिका एट्लान्टा ओलम्पिक १९९६ देखि दोस्रो हुनुपरेको छैन । बेइजिङको तुलनामा लन्डन २०१२ र रियो २०१६ मा कमजोर देखिएको चीनले यसपालि भने अमेरिकालाई स्वर्णको होडमा कडा टक्कर दियो ।

म्याराथनमा केन्याकै राज

टोकियोबाहिर साप्पोरो (होक्काइडो) मा भएको म्याराथनमा एल्युड किप्चोगेले २ घण्टा ८ मिनेट ३८ सेकेन्डमा ४२.१९५ किमि पूरा गर्दै केन्यालाई स्वर्ण दिलाए । उनले रियोमा ५ वर्षअघि जितेको म्याराथनको उपाधि साप्पोरोमा रक्षा गरेका हुन् । दुई घण्टा १ मिनेट ३९ सेकेन्ड (बर्लिन म्याराथन २०१८) को विश्व कीर्तिमान पनि किप्चोगेकै नाममा छ । विश्वमै चर्चित ५ म्याराथनका यी ३६ वर्षीय उपाधि विजेताले ओलम्पिकमा ५ हजार मिटरमा एथेन्स २००४ मा कांस्य र बेइजिङ २००८ मा रजत हात पारेका थिए । उनले यो ओलम्पिकमा अपेक्षाअनुसार नै स्वर्ण जिते र त्यसक्रममा गतिलो चुनौती बेहोर्नुपरेन । नेदरल्यान्ड्सका अब्दी नागेयी (२ घण्टा ९ मिनेट ५८ सेकेन्ड) ले रजत र बेल्जियमका बासिर अब्दी (२ घण्टा १० मिनेट) ले कांस्य पदक हात पारे ।

साप्पोरोमै अघिल्लो दिन भएको महिलातर्फको म्याराथन पनि केन्याकै पेरेस जेपचिरचिरले सिजनकै उत्कृष्ट २ घण्टा २७ मिनेट २० सेकेन्ड लगाएर स्वर्ण जितेकी थिइन् । केन्याकै ब्रिगिड कोसगेइले रजत र अमेरिकी मोली सेइडेलले कांस्य हात पारेका थिए । म्याराथनको पदक वितरण ओलम्पिक रंगशालामा आइतबार गरियो । त्यसैले समापन समारोहमा आयोजक जापानसँगै राष्ट्रिय धुन गुन्जिने मौका केन्याले मात्रै पायो । समापन समारोहमै आउने संस्करणको आयोजक पेरिस सहरका मेयरलाई ओलम्पिक झन्डा हस्तान्तरण गरियो ।

संयोग नै मान्नुपर्छ, शान्त उद्घाटनपछि १६ दिन चलेको प्रतिस्पर्धामा ओलम्पिकको जन्मदाता ग्रीसले ३२ औं संस्करणको अन्तिम स्पर्धाको फाइनल खेल्यो । तर उसलाई १३–१० ले हराएर सर्वियाले वाटरपोलोको स्वर्ण जित्यो । ग्रीक पुरुष टिमका लागि रजत पदक पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सबभन्दा राम्रो नतिजा हो ।

टोकियो ओलम्पिक पदक तालिका


प्रकाशित : श्रावण २५, २०७८ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?